जनतालाई आतंकित पार्ने ‘जंगली राज’ चल्दैन : मन्त्री बाँस्कोटा

242
  •  
  •  
  •  

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतंकित पार्ने ‘जंगली राज’ वर्तमान अवस्थामा नचल्ने बताएका छन् ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको ४० औँ साधारणसभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताए ।

कार्यक्रममा उनले भने, ‘यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।’
खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ छ ।

मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतंक मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतंक मच्चाउनेजस्ता गतिविधि गलत भएको बताए ।

उनले भने, ‘अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ ।’
कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने भन्दै उनले सरकार कुनै पनि हालतमा कमजोर नहुने बताए ।

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी गर्न लिइने समेत बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल र किशोर मानन्धर लगायतले मन्तव्य राखेका थिए ।


  •  
  •  
  •