जनताको जलविद्युत आयोजना कार्यक्रम आजदेखि कार्यान्वयनमा

प्रधानमन्त्रीले दिए पहिलो आवेदन
302
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना कार्यक्रम बिहीबारदेखि कार्यान्वयनमा आएको छ ।

प्रधानमन्त्री केपी ओलीले आज वालुवाटारमा त्रिशुली थ्रि बि आयोजनाका लागि एक हजार कित्ता शेयरका लागि पहिलो आवेदन दिँदै कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु गरेका हुन् ।

कार्यक्रम घोषणा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ३५ दिनभित्र आफैले आवेदन भर्ने बताएका थिए । कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले पनि एक हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम शुरु गरेको हो ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युतमा करिब सात खर्ब रुपैयाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।

त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४ सय ७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना छनौट गरेको छ ।

अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था छ ।


  •  
  •  
  •