‘सरकारको विकल्प नखोजौँ’

245
  •  
  •  
  •  

दैलेख, १३ माघ(ओएनएस) : एमाओवादीका नेता जनार्दन शर्माले वर्तमान सरकारको विकल्प खोज्नुभन्दा कांग्रेसलाई सरकारमा ल्याएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

दैलेखमा बुधबार क्रान्तिकारी पत्रकार संघद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि ओली सरकारको विकल्प नखोजी कांग्रेसलाई सरकारमा सहभागी गराएर यही सरकारलाई पूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले कांग्रेसलाई सरकारमा ल्याउनका लागि आफ्नो पार्टी आफूले लिएका प्रभावशाली मन्त्रालय समेत दिन तयार रहेको बताएका छन् । उनले राष्ट्रिय सरकारको नाममा ओली सरकारको विकल्प खोज्नु उपयुक्त नहुने बताएका छन् ।

उनले सीमांकनको समस्या राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तासँग जोडिएको बताउँदै मधेसी मोर्चाको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरिएको उल्लेख गरेका छन् । उनले भने, ‘मधेसी मोर्चा हुन लागेको सहमतिबाट बिच्किएर गयो । तरपनि सरकारले बाँकी असहमतिलाई वार्ता र संवादबाटै समाधान गर्दै जानुपर्छ ।’ उनले सरकार यस जिम्मेबारीबाट पछि हट्न नहुने बताएका छन् ।

उनले मधेसी जनता राष्ट्रवादी भएपनि केही नेताहरू भने विदेशी इशारामा चलेका कारण तराईका जनता उत्पीडनमा परेको बताए । उनले मधेसका केही नेताले निहुँ खोजेर देश टुक्र्याउने खेलमा लागेको आरोप लगाए ।

उनले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले सरकारले नियन्त्रण गर्न नसक्दा कालोबजारी बढिरहेको बताएका छन् ।


  •  
  •  
  •