आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

228
  •  
  •  
  •  

काठमाडौं । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ ।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् ।

ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊु भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
नेपाल पञ्चाङ्क निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको बताउँछन् ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

आज काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गंगासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, रामेछापको पाँचपोखरी, सिन्धुपाल्चोकको दुधपोखरी, लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।

यस्तै आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएको जनविश्वासअनुसार आज दिन भ्यागुताको पूजा गर्ने प्रचलन छ । आज केहि स्थानीय तहले भने सार्वजनिक विदा दिएका छन् ।


  •  
  •  
  •