जाली नोटका नाइके दुई देशका सुराकी

322
  •  
  •  
  •  

काठमाडौं ६ असार ।
भारतीय नक्कली रुपैयाँ कारोबारमा जेलसजाय सुनाइएका एक व्यक्तिले नेपाल र भारत दुवैतिरका सुरक्षा अधिकारीलाई गुमराहमा पारेर लामो समयदेखि उनीहरुकै ‘सुराकी सहयोगी’ का रुपमा काम गरिरहेको खुलेको छ।

नक्कली नोटका फरार अभियुक्त बारा, प्रस्टोकाका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले जेठ ३० गते ललितपुर, सातदोबाटोबाट पक्राउ गरेको थियो।

ब्युरो स्रोतका अनुसार प्रहरी अनुसन्धान क्रममा अन्सारीले दुवै देशका सुरक्षा अधिकारीका लागि सुराकीको काम गरिरहेको रहस्य फेला परेको हो। अन्सारीलाई ललितपुर जिल्ला अदालतले २०६७ मा नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न ठहर गर्दै ३ वर्ष कैद र २ करोड ६१ लाख जरिवाना असुल्ने फैसला सुनाएको थियो। अन्सारी पक्राउ नपर्दा अदालतको फैसला अलपत्र थियो।

फैसला कार्यान्वयनमा सघाउन ब्युरोले गठन गरेको प्रहरी टोलीको फन्दामा परेपछि मात्र अन्सारी नक्कली भारुको कारोबारकै बेला नेपाल र भारतका सुरक्षा अधिकारीका लागि सूचना दिने ‘डबल एजेन्ट’ का रुपमा सक्रिय रहेको भेटिएको प्रहरी दाबी छ।
फैसलापछि फरार सूचीमा रहेका अन्सारी नेपाली र भारतीय दुवै सुरक्षा अधिकारीको निरन्तर सम्पर्कमा रहेर काम गरेको प्रहरीले ‘केरकार’ क्रममा खुलाएको हो।

अनुसन्धान अगाडि बढ्दै जाँदा नेपालका सुरक्षा अधिकारीसँगै सीमावर्ती क्षेत्रमा भारतीय प्रहरी अधिकारीसँग यिनको बाक्लै सम्बन्ध रहेको मात्र खुलेन, काठमाडौंस्थित भारतीय दूतावासका अधिकारी र नेपालको गृह मन्त्रालयका अधिकारीसम्म उनको सहज पहुँच रहेको तथ्य फेला पर्योर।
उच्च स्रोतका अनुसार अन्सारीको साथबाट भारतीय दूतावासका अधिकारीले सूचना संकलन गर्न टिपाएका केही नेपाली नागरिकका नामसमेत फेला पर्योू भने फरार रहेकै अवधिमा उनले गृहमन्त्रीका निजी सहयोगीमार्फत सिंहदरबारभित्रै पुगेर दुईपटक गृहमन्त्री वामदेव गौतमसँग भेटेको समेत फेला परेको छ।

‘सुरुमा कैद–सजाय र जरिवाना असुल्ने सूचीअनुसार खोजी गरी पक्राउ गरेका हौं,’ ब्युरोका एसपी श्यामलाल ज्ञवालीले नागरिकसँग भने, ‘पक्राउपछि कैदसजाय भुक्तानका लागि अदालतमा बुझाएका थियौं, अहिले नक्खुमा छन्।’
अन्सारीको जालो
अन्सारीको देखिने पेसा पेटोलपम्प सञ्चालक एवं जग्गा प्लटिङ कारोबार भए पनि उनी नक्कली भारु कारोबारमा पटक–पटक तानिँदै आएका थिए। प्रहरीले अनुसन्धान सिलसिलामा तयार पारेको अन्सारीको पृष्ठभूमिमा उनी वीरगन्ज बसेर पाकिस्तानबाट हवाई मार्ग हुँदै नेपालसम्म जाली भारु भिœयाएर वीरगन्ज हुँदै स्थलमार्गबाट भारत पुर्यााउँथे।
कक्षा ७ सम्म पढेर फ्याक्ट्रीमा काम सुरु गरेका उनी पछि ट्रक ड्राइभर बने। यससँगै सीमा क्षेत्रमा पोके तस्करी थालेका यही क्रममा नेपाल–भारत दुवैतिरका प्रहरी अधिकारीसँग सम्बन्ध बढाएका थिए।

त्यसलगत्तै अन्सारीलाई दुवैतिरका प्रहरीले सुराकीको काम दिएका थिए।
सीमा क्षेत्रमा हुने अपराधमा संलग्न नेपाली तथा भारतीय आपराधिक समूह र व्यक्तिविरुद्ध सुराकी गर्ने क्रममा उनी आफैं जाली भारुको कारोबारमा संलग्न भए। नक्कली भारु कारोबारसम्बन्धी जानकार प्रहरी अधिकारीका अनुसार उनी बारा, प्रस्टोकाकै युनुस अन्सारीसँगको हिमचिमबाट नक्कली भारु कारोबारमा होमिएका थिए।

पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस यही अभियोगमा एक वर्षदेखि नक्खु कारागारमा छन्। दोस्रोपटक पक्राउ पर्नु चार महिनाअघि मात्र उनी उही मुद्दामा ५ वर्ष सजाय काटेर निस्किएका थिए।

२०६४ बाट नक्कली भारु कारोबारमा जोडिएका अन्सारी यो सञ्जालका सदस्य पक्राउ र मारिने क्रम बढेपछि थप सक्रिय भएका हुन्। विश्वस्त स्रोतका अनुसार कामको सिलसिलामा युनुससँग मनमुटाव भएपछि आफ्नै समूह बनाउन सक्रिय भए।
नक्कली भारुसहित युनुस पक्राउ परी जेल पुगेपछि उनले उपेन्द्र चौधरी र साजिद अन्सारीसँग मिलेर वीरगन्जलाई ‘हब’ बनाउँदै पाकिस्तानबाट हवाई रुटको प्रयोग गर्दै जाली भारु भिœयाउन सक्रिय भए।

फैजान अहमद, महमुद आलमलगायतकाको हत्या एवं युनुस पक्राउपछि अन्सारी कारोबारमा सक्रिय भएका थिए। युनुस कारागार पुगेपछि काठमाडौंमा पक्राउ परेका नक्कली भारुका कारोबारीबाट अन्सारीको नाम खुले पनि उनी पक्राउ भने परेनन्।
‘ऊ नक्कली भारु कारोबारमा संलग्न छ भन्ने जानकारी थियो तर फेला परेको थिएन,’ अनुसन्धानमा संलग्न उच्च स्रोतले भन्यो, ‘दुवैतिरका प्रहरीको सुराकी बनेर सबैको आँखा छलिरहेको अहिले पो खुल्यो।’
स्रोतका अनुसार दुवैतिरका सुरक्षा अधिकारी र भारतीय दूतावास अधिकारीसँग रहेको सम्पर्कसूत्र उपयोग गर्दै उनले जाली भारु कारोबारमा संलग्न प्रतिस्पर्धीलाई पक्राउँदै आफ्नो समूह बलियो बनाउँदै लगे।
दूतावासका तत्कालीन काउन्सिलर विवेक बोहरासँग समेत उनले भेटघाट गरेको तथ्य फेला परेको छ। स्रोतका अनुसार वीरगन्जका एक पत्रकारले उनलाई बोहोरासँग भेटघाट गराइदिएका थिए।

‘बारा र पर्सालाई आधार बनाएर नक्कली भारु कारोबारमा इल्ताफ निकै सक्रिय थिए,’ संगठित अपराध अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दुवैतिरको सुरक्षा अधिकारीसँगको सम्पर्कलाई उपयोग गर्दै उनले आफ्नो जालो फैलाए।’
कारोबारीमा संलग्नलाई पक्राउ र हत्यासम्म गराउन भूमिका खेले पनि उनले आफैं यो कारोबार भने कहिल्यै छाडेनन्।
मुन्ना भन्ने मोन्टु शर्मा, सेख जावेद इकवाल, साविद अन्सारी अनि दिलसाद अन्सारी नक्कली भारु कारोबारमा पक्राउ परे। आफ्नै समूह बनाएर नक्कली भारु कारोबार सुरु गरेका बाराका बलराम पतुवार २०६४ असार २० मा काठमाडौंको धोबीखोलामा मारिए। उनको हत्या आरोपमा लाल अहमद पक्राउ परे। पतुवारको हत्या मुद्दामा इल्ताफसमेत प्रतिवादी रहे पनि पछि सफाइ पाए।
उनीविरुद्ध २०६३ मा काठमाडौंमा सरकारी छाप किर्ते, २०६६ मा काठमाडौंमै बलराम पतुवारको हत्या, २०६६ मा ललितपुर र २०६७ मा काठमाडौंमा नक्कली भारु कारोबार मुद्दा भए पनि पक्राउ परेका थिएनन्। आफूलाई जोगाउन कहिले भवानीपुर, पर्साको तेजारत टोल त कहिले उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका थिए।

यी मुद्दामध्ये ललितपुरको मुद्दामा मात्रै उनी अदालतको सूचीमा पक्राउ गरी कैद सजाय र जरिवाना असुल्न बाँकी सूचीमा थिए। २०६६ कात्तिक २० गते ललितपुरको कुपन्डोलमा सेख सफी अहमदको कोठामा प्रहरीले ५४ लाख नक्कली भारु फेला पारेको थियो। त्यो मुद्दामा अहमदले अन्सारीले नै उक्त पैसा काठमाडौंबाट भारतसम्म पुर्यााउन दिएको खुलाएका थिए।
आफूले तीन वर्षदेखि अन्सारीका लागि काम गरेको र पक्राउ पर्नुअघिसम्म १ करोड नक्कली भारु भारतसम्म पुर्यारएको बयान अहमदले दिएपछि अन्सारीको खोजी थालिएको थियो।

ललितपुर जिल्ला अदालतले अहमदलाई तीन वर्ष कैद सजाय सुनाउँदै कारागार पठायो भने पक्राउ नपरेका अन्सारीलाई समेत दोषी ठहर्याएउँदै तीन वर्ष कैद र २ करोड ६१ लाख जरिवाना सुनाएको थियो।
दुवैतिरका सुरक्षा संगठनका अधिकारीसँग सम्पर्क गर्न र पक्राउ पर्नबाट जोगिन उनले फरक–फरक नाममा परिचय दिन्थे। उनले आफूलाई इल्ताफसँगै मुन्ना खान, इल्ताफ अन्सारी र सदरुल अन्सारीको रुपमा समेत चिनाउँथे। उनले सदरुल अन्सारीका नाममा सवारीचालक अनुमतिपत्रसमेत निकालेको अनुसन्धानमा खुलेको छ।

करोडौंको सम्पत्ति
इल्ताफले करोडौं मूल्यको सम्पत्ति जोडेको फेला परेको छ। अनुसन्धान स्रोतअनुसार प्रारम्भिक अनुसन्धानमा उनको नाममा बा६च ५५१९ नम्बरको स्कारपियो, बारा, प्रस्टोकामा घरसहितको ४ धुर जग्गा, जितपुरमा घरसहित २ कट्ठा जग्गा, जितपुरमा प्लटिङ गरेको ५ कट्ठा जग्गा, बाराको रामपुर टोकनीमा २ करोडमा खरिद गरेको मुक्ति आयल स्टोर र वीरगन्जको तेजारत टोलमा एउटा घर फेला परेको छ।
अन्सारीले दाइ, भिनाजु र दिदीका नाममा समेत आफ्नो सम्पत्ति राखेको देखिएपछि प्रहरीले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति खोजीलाई समेत प्राथमिकतामा राखेको छ।
‘वीरगन्ज क्षेत्रमा काम गरेका प्राय सबै प्रहरी अधिकारीसँग अन्सारीको सम्बन्ध देखिन्छ,’ अनुसन्धान स्रोतले भन्यो, ‘उनको सम्पर्क जालोबारे गहिरो अनुसन्धान गरिरहेका छौं।’
नागरिकबाट


  •  
  •  
  •