जलेश्वरमा १५ दिनपछि घाम लाग्यो

198
  •  
  •  
  •  

महोत्तरी, १६ पुस (ओएनएस)  : महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाको दक्षिणी भागमा आज १५ दिनपछि घाम लागेको छ ।

बाक्लो हुस्सु, शीतलहर र निरन्तर बहने हावाले जनजीवन निक्कै कष्टकर बनेको यस क्षेत्रमा आज एकाबिहानैदेखि घाम लागेको हो । दुई सातापछि लागेको न्यानो घाममा बिहानैदेखि घरघरबाट निस्केर वृद्धवृद्धा, बालबालिका तथा वयस्कले आ–आफ्नो जीउ न्यानो पार्न थालेका छन् ।

त्यस्तै गृहिणी लामो समयपछिको घाममा बिहानैदेखि फोहर र मैलो भएका लुगाफाटा धोएर सुकाउने जोरजाम गरिरहेका देखिन्छन् ।

त्यस्तै लगातारको जाडोबाट ग्रसित भएका गाई, भैँसी, बाख्राबाख्रीलगायतका वस्तुभाउलाई पनि घाममा राखेर न्यानो बनाउनमा स्थानीयवासी व्यस्त देखिन्छन् ।

त्यसैगरी जाडोकै कारण १५ दिनदेखि कामकाज छोडी घरभित्रै सीमित भएका किसान पनि आज बिहानैदेखि खेतखेतमा पुगेका छन् । घाम लागेपछि महोत्तरीको दक्षिणी भेगका जनजीवन न्यानो हुँदैछन् भने मानिस, पशु र जीवजन्तु सबैलाई लामो समयपछिको घामले राहत पु¥याएको छ ।


  •  
  •  
  •