महामारीबाट जोगिन जाजरकोटका स्थानीय धामीको शरणमा

141
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख । जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्। महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ।
तीन सातासम्म पनि महामारी नियन्त्रणमा नआएपछि त्रसित स्थानीय बासिन्दाले त्यसबाट बच्न र अब कसैको पनि ज्यान नजाओस् भनेर कुलदेउतालाई बोका भाकल गर्न थालेका हुन्। संक्रमण नफैलिएका गाविसका बासिन्दाले पनि त्यसबाट बच्न भाकल गरेका छन्।
अन्धविश्वासका कारण धामीको भर परेर बिरामी उपचारका लागि स्वास्थ्यकर्मीसँग नआउँदा रोग नियन्त्रणमा थप समस्या भइरहेको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्।
खगेनकोटका बासिन्दाले गाउँमा महामारी नफैलियोस् भन्दै देउता भाकेका छन्। उनीहरूले स्थानीय हलचौरमा भेला भएर आइतबार सामूहिक रूपमा देउतालाई भाकल गरे।
महामारीले छिमेकी गाविसहरू प्रभावित भएपछि त्यसको संक्रमण गाउँमा नफैलियोस् भनेर उनीहरूले मष्टा देउतालाई भाकल गरेका हुन्। स्थानीय बासिन्दा नारायण खत्रीका अनुसार गाउँमा महामारी नफैलियोस् भनेर देउतालाई बोका भाकल गरिएको छ।
शिक्षक, सामाजिक कार्यकर्ता र राजनीतिक दलका स्थानीय कार्यकर्तासमेत महामारी गाउँमा नआओस् भन्दै देउता भाकल गर्न पुगेका थिए। धामी हर्कबहादुर खत्रीले गाउँमा महामारी नफैलियोस् भनेर देउतालाई बोका भाकल गरेको बताए।
अन्धविश्वासका कारण बिरामी धामीको भर परेर स्वास्थ्य संस्थामा उपचार गराउन नजाँदा जाजरकोटमा सामान्य रोगले पनि महामारीको रूप लिने गरेको छ।
अहिले फैलिएको संक्रमण सुरुमा सक्लामा मात्र देखापरेको थियो। तर स्थानीय धामीझाँक्रीको भर पर्दा र स्वास्थ्यकर्मी पनि पहुँचमा नहुँदा बिरामीको मृत्युसँगै संक्रमण फैलियो।
बिरामी धामीको भर पर्दा महामारी नियन्त्रणमा समस्या भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ। कार्यालयका अनुसार उपचारका लागि आएका र औषधि सेवन गरेका कुनै बिरामीको पनि मृत्यु भएको छैन।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले भने, ‘डाक्टर र स्वास्थ्यसंस्थाको सम्पर्कमा आएका कसैको पनि मृत्यु भएको छैन, जो धामीको भर परेर उपचारका लागि आएनन् उनीहरूको मृत्यु भयो।’
जनचेतना अभावमा प्रभावित क्षेत्रमा खडा गरिएका स्वास्थ्य शिविरमा पनि कमैमात्र बिरामी आउने गरेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए।
बल्ल ब्युँझियो सरकार
महामारी फैलिएको तीन सातापछि सोमबार प्रभावित क्षेत्रमा औषधि र डाक्टर पुगेका छन्। दिनभर जाजरकोटमा हेलिकोप्टर ओहोरदोहोर गरे। सेनाको हेलिकोप्टरले प्रभावित क्षेत्रमा सदरमुकाम खलंगाबाट औषधि र स्वास्थ्यकर्मी ओसार्‍यो।
प्रजिअ जगतबहादुर बस्नेतका अनुसार महामारी फैलिएका टालेगाउँ, कोर्ताङ, अर्छानी, पैंक, गर्खाकोटलगायत गाविसमा हेलिकोप्टरबाट औषधिसहित डाक्टर पुर्‍याइएको छ।
बस्नेतका अनुसार प्रभावित क्षेत्रमा सेना, नेपाल प्रहरी, रेडक्रस र अन्य गैरसरकारी संस्थाले पनि स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको उपचार सुरु गरेका छन्।
जनचेतना जगाउन र बिरामीलाई स्वास्थ्य संस्था तथा शिविरमा ल्याउन जिल्लाका सबै गाविस सचिव, राजनीतिक दल र निजी क्षेत्रका प्रनिनिधिहरूलाई पनि प्रभावित क्षेत्रमा खटाइएको छ।
बस्नेतले भने, ‘अब हामी आत्तिनुपर्ने अवस्था छैन। राजधानीबाट पनि औषधिसहित डाक्टर आएका छन्।’ अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •