के थियो जाजरकोटको महामारी ?

68
  •  
  •  
  •  

काठमाडौं १५ साउन ।
सरकारले चार महिनाअघि जाजरकोटमा फैलिएको महामारीमा इन्फ्लुएन्जा ए एच१एन१ को अंश २० प्रतिशत मात्रै रहेको दाबी गरेको छ । उसले ८० प्रतिशत मृत्युको कारण अन्य रोग भएको जनाएको छ । जिल्लाका पैक, साक्ला, नायकबाडा, टालेगाउँ, रामीडाँडा, रोकायागाउँ, लाह, कोरटाङ र माजकोट गाविसमा गत १२ चैतदेखि १२ वैशाखसम्म सयौँ बिरामी भएका थिए भने ३५ जनाको ज्यान गएको थियो ।

1मृतक तथा कतिपय बिरामीमा इन्फ्लुएन्जा ए एच१एन१को लक्षण देखिएपछि सबैको मृत्यु स्वाइनफ्लुबाट भएको भनिएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन–प्रतिवेदनले जाजरकोटमा स्वाइनफ्लु मुख्य समस्या नभएको देखाएको छ ।

परिषद्ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा मृतक ३५ जनामध्ये स्वाइनफ्लु भनिने इन्फ्लुएन्जा ए एच१ एन१ बाट एकजनाको मात्र मृत्यु भएको उल्लेख छ । मृत्यु भएका ६ जना दम र खोकीका बिरामी भए पनि पछि इन्फ्लुएन्जा थपिएको प्रतिवेदनमा जनाइएको छ । इन्फ्लुएन्जाका १६ जना बिरामी भने उपचारपछि पूर्ण रूपमा स्वस्थ भएका थिए । परिषद्को अध्ययन–प्रतिवेदनले सबैभन्दा बढी १० जनाको दमखोकीबाटै मृत्यु भएको ठहर गरेको छ ।

स्वाइनफ्लुबाटै मृत्यु भएको भनिएकाको सूचीमा टिबीको औषधि खान छाडेका, रेबिज रोगले पुसमै ज्यान गुमाएका, खोलामा डुबेर मृत्यु भएकाको नाम उल्लेख गरेको पाइएको परिषद्ले दाबी गरेको छ । परिषद्को टोलीले भर्बल अटप्सी विधिबाट मृतकको रोग पत्ता लगाइएको जनाएको छ । ‘सञ्चारमाध्यममा स्वाइनफ्लुको महामारी भनेर समाचार आए पनि जाजरकोटमा त्यस्तो अवस्था थिएन,’ परिषद्का सदस्यसचिव डा. खेम कार्कीले भने, ‘स्वाइनफ्लुभन्दा कुपोषण, सरसफाइमा लापरबाही र आर्थिक कमजोरीजस्ता कारण बढी समस्या उब्जिएको थियो ।’ १२ चैतमा टालेगाउँमा पहिलोपटक रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि बिस्तारै छिमेकी गाविसमा समेत देखिएको थियो ।

गाउँमा स्वास्थ्यकर्मी नभएको र समयमै उपचार तथा परामर्श नहुँदा साधारण समस्याले विकराल रूप लिएको परिषद्को निष्कर्ष छ । मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले भने, ‘त्यतिवेला जिल्ला अस्पतालमा २७ मध्ये १२ जना स्वास्थ्यकर्मी थिएनन् । त्यस्तै स्वास्थ्य चौकीमा हुनुपर्ने दुई सय आठमध्ये ४८ जना गयल थिए । यसकारण पनि सामान्य रुघाखोकी र ज्वरो फैलियो र गलत सन्देश प्रवाह भयो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •