संक्रमित क्षेत्रमा चिकित्सक पुर्‍याउन कठिन

131
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख । दुर्गम र पटकपटक मौसममा भइरने फेरबदलले जाजरकोटका संक्रमण प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्न कठिनाइ भएको छ।

एउटा गाविसबाट अर्को गाविसमा पुग्न पैदल कम्तीमा दुई दिन लाग्ने भएपछि सरकारले हेलिकोप्टरबाट चिकित्सक पुर्‍याउन थालेको थियो।

तर बुधबार प्रभावित क्षेत्र जुँगाथापाचौर, गर्खाकोट र थालारैकरमा चिकित्सक र स्वास्थ्यकर्मी लिएर गएको नेपाली सेनाको हेलिकोप्टर अत्यधिक हावाहुरी चलेपछि अवतरण गर्न नसकी फर्किएको छ। हेलिकोप्टर पटकपटक फिर्ता भएपछि सदरमुकाम खलगंगामा दिनभर चिकित्सक त्यतिकै बस्न बाध्य भए।

अर्छानी जान तयार भएको नेपाली सेनाका डा. सुरेश कायस्थको टोली हेलिकोप्टर उड्न नसकेपछि खलंगामै बस्यो। प्रभावित क्षेत्रमा बिरामीको उपचारका लागि छिटो चिकित्सक पठाउन स्थानीय स्वास्थ्यकर्मीले टेलिफोनबाट अनुरोध गरिरहेका थिए।

डा. सुवास शर्मा नेतृत्वको टोलीलाई सदरमुकामबाट सक्ला पुर्‍याउन भने हेलिकोप्टर सफल भएको थियो।

त्यसपछि उक्त हेलिकोप्टरले साँझ नेपाल क्यान्सर केयर फाउन्डेसन काठमाडौंबाट आएकी स्त्रीरोग विशेषज्ञ डा. सरिता घिमिरे नेतृत्वको टोलीलाई लम्साको प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल मेडिकल कलेज कोहलपुरबाट आएका डा. सुवास योगीको टोलीलाई जुँगाथापाचौर पुर्‍याएको थियो।

अर्छानी गाविस वडा नम्बर ४ र ६, नायकवाडाको वडा नं ६, सकलाका वडा नं ८ र ९, पैंकका वडा नम्बर २, ३, ४, ५ र ६, पजारुको वडा न ९, ८, ७ र १, टालेगाउँको वडा नम्बर १ मा संक्रमण फैलिएको त्यहाँ खटिएका स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्। अन्य गाविसमा भने संक्रमण नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मेडिकल अधिकृत डा. दीपक पुनले बताए।

स्वास्थ्य संस्थामा परीक्षण गर्न आउने बिरामीमा रुघाखोकी, ज्वरो, निमोनिया, लुतो र केही बिरामीमा स्वाइन फ्लुका लक्षण देखिएका छन्। रामीडाँडा- ७ का ६१ वर्षीय लालवीर नेपाली र ढिमेमा बालिका यशोधा चन्दको मंगलबार मृत्यु भएको छ।

योसँगै जाजरकोटमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। यी दुईजनाको मृत्युको कारण पत्ता लाग्न नसकेको विश्व स्वास्थ्य संगठनबाट अनुगमनका लागि खटिएका डा. केशवकुमार योगीले बताए।

उनका अनुसार अर्छानीमा पाँचमहिने एक शिशु निमोनियाबाट सिकिस्त भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ।

उनलाई थप उपचारका लागि सदरमुकाम ल्याउन बुधबार सेनाले हेलिकोप्टर पठाउने तयारी गरेको छ।

उनलाई मंगलबार नै जिल्ला अस्पताल ल्याउने तयारी भए पनि मौसम खराब भएपछि हेलिकोप्टर जान सकेन।

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कृष्ण शर्माका अनुसार अहिलेसम्म रोग प्रभावित क्षेत्रमा तीन हजार सात सय १३ जना बिरामीको जाँच गरिएको छ।

चिकित्सकको टोली गाउँमा पुगेपछि स्वाइन फ्लुको शंका गर्दै उपचार गराउन आउने स्थानीय बासिन्दाको संख्या वृद्धि भएको छ। जाजरकोटमा गत चैत १८ गतेदेखि रुघाखोकी र ज्वरो प्रकोपका रूपमा फैलिएको थियो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •