जाजरकोटको महामारीमा जालझेल, रगत नमुना नै नलगी ढाँटेको खुलासा

221
  •  
  •  
  •  

सुर्खेत, ४ बैशाख : जाजरकोटमा फैलिएको महामारी पहिचान गर्न भन्दै हेलिकप्टरमा गाउँ पुगेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको टोलीले बिरामीको रगतको नमुना नै नलिई राजधानी फर्केको खुलासा भएको छ । टोलीले ‘हतार भएको’ भन्दै ‘थ्रट स्वाब’ (घाँटीको खकारको नमुना) मात्र लिएर गएको स्रोतले बतायो।

स्वास्थ्यमन्त्री अधिकारीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा आइतबार जाजरकोटको महामारी प्रभावित क्षेत्र पुगेको थियो । टोलीको प्रमुख उद्देश्य नै रोग पहिचान गर्न बिरामीको रगत, खकार, थुकलगायत नमुना संकलन गरी काठमाडौं पुर्याउनु थियो । तर, हेलिकप्टरमा आएका स्वास्थ्यकर्मीले ‘हतार भएको’ बहानामा घाँटीको खकारको नमुना मात्र लिएर गएको टोलीमा संलग्न एक स्वास्थ्यकर्मीले बताए। ‘रगतको नमुना त आज (बिहीबार) मात्र काठमाडौं पठाइएको छ,’ ती स्वास्थ्यकर्मीले भने ।

[box type=”shadow” ]२६ दिने शिशुको मृत्यु

महामारीबाट बिहीबार पजारु–८ मा २६ दिने शिशुको मृत्यु भएको छ। चैत ७ गते जन्मिएका ऋतु टमटाको महामारीकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका डा. दीपक पुनले रुघाखोकी लागेको शिशुलाई नुहाइदिएपछि मृत्यु भएको खबर आएको जानकारी दिए। ‘के कारणले मृत्यु भएको हो भन्नेबारे भोलि त्यहाँ स्वास्थ्यकर्मीको टोली पुगेपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘जन्मेको चार हप्तामै मरेकाले यसबारे विस्तृत रूपमा बुझ्नुपर्छ।’ यससँगै जाजरकोटमा महामारीबाट मर्नेको संख्या १८ पुगेको छ।[/box]

सरकारी अधिकारीले मन्त्रीसहितको टोलीले नै रगतको नमुना ल्याएको र हेलिकप्टरमा नमुना ल्याएको भोलिपल्टै रिपोर्ट आउने बताएका थिए । ती स्वास्थ्यकर्मीका अनुसार उतिबेला टोलीले १२ जना बिरामीको थ्रट स्वाब राजधानी लगेको थियो। तीमध्ये तीन जनामा ‘एच१एन१’ भनिने मौसमी रुघाखोकी (स्वाइनफ्लु) भेटिएको थियो । अन्य बिरामीमा कुन रोग छ भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन। उतिबेलै रगत, खकार, दिसालगायत नमुना लगेको भए यस्तो अन्योल नलम्बिने उनको भनाइ छ ।

स्वास्थ्यमन्त्रीको टोलीसँगै प्रभावित क्षेत्रमा झरेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब टेक्निसियन डबलबहादुर बिसीले मंगलबार मात्र आठ जना बिरामीको रगत निकालेका थिए। उनी जाजरकोटबाट स्थलमार्ग हुँदै तेस्रो दिन (बिहीबार) नेपालगन्ज पुगेर जहाजमा काठमाडौं गएका छन्।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्तले बिहीबार रगतको नमुना काठमाडौं पुर्‍याएको जानकारी दिए । ‘यसको परीक्षण त नेपालगन्जमै पनि गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर हामीले आज जहाजबाट काठमाडौं पठाएका छौं।’

स्वास्थ्यकर्मीहरूका अनुसार थ्रट स्वाबबाट विशेषगरी भाइरल रोगको पहिचान हुन्छ। ब्याक्टेरियाबाट फैलिने संक्रमणका लागि भने रगत र दिसा परीक्षण गर्नुपर्छ। रगतको ‘कल्चर’ गरेर ल्याब परीक्षण गरेपछि बल्ल विभिन्न रोग पहिचान हुन्छ। ‘उतिबेलै रगत काठमाडौं लगेको भए कुन रोगको महामारीको हो भन्ने पहिचान भइसक्थ्यो,’ ती स्वास्थ्यकर्मीले भने, ‘त्यत्रो खर्च गरेर आइसकेपछि पनि हतार गर्दा समस्याको जड पत्ता लाग्न सकेन।’


  •  
  •  
  •