जाजरकोटमा फैलिएको महामारी नियन्त्रण निकटः स्वास्थ्य सचिव

258
  •  
  •  
  •  

shanta bahadur shresthaकाठमाडौ, ५ बैशाख(ओएनएस) : स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले जाजरकोटबाट आएको रिपोर्टमा जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट रहेको जानकारी आएको भन्दै जाजरकोटसँग जोडिएका अन्य जिल्लामा फैलन नदिनसमेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर ६ वटा विशेष टोली छ जिल्लामा समेत परिचालन गरिसकेको बताए । उनले भने, ‘छिमेकी जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पनि उच्चसर्तकतामा राखेका छौ ।’

साक्षात्कारमा सचिव श्रेष्ठले जाजरकोटमा ३ हजारको स्वास्थ्य परिक्षण गरिएकोमा ७५ प्रतिशत बिरामीमा अरू नै रोग पाईएको, फ्लु देखिएका २५ प्रतिशतमध्ये करिब ७ प्रतिशतमा स्वाईन फ्लुको जिवाणु भेटिएको जानकारी दिदै जाजरकोटमा स्वाईन फ्लु पुष्टि भईसकेको बताए । उनले सरकारसँग रोगको उपचारको लागि प्रयाप्त औषधी मौज्दात रहेको भन्दै आफूहरू पूर्ण तयारी अवस्थामा रहेको दावी गरे ।

मुख्यसचिवको नेतृत्वको समितिले तत्कालिन उपचार र दिर्घकालमा समस्या आउन नदिने उपायको खोजी गरिरहेको जानकारी दिँदै जाजरकोटको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई अपग्रेड गर्ने तयारीमा रहेको बताए ।

जाजरकोटमा ९० प्रतिसत दरबन्दीमा स्वास्थ्यकर्मीहरू रहेको र काजमा सुगम पठाउने ब्यवस्थाको अन्त्य भईसकेको जानकारी दिदै स्वास्थ्य सेवालाई जनशक्ति यूक्त बनाउन आगामी ६ महिना भित्र ७ हजार दरबन्दी थप्ने गरी काम भईरहेको बताए । सचिव श्रेष्ठले जाजरकोटसहित दुर्गम जिल्लामा यस्ता महामारी फैलन नदिन स्वास्थ्य, खानेपानी सडक लगायतका विकासको लागि एकीकृत योजना ल्याउनु पर्ने आवश्यकता समेत औल्याए ।

ईपीडीमीयोलोजी महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जाजरकोटमा फैलिएको महामारी रोक्न छ वाट विशेषज्ञहरुसहितको टोली सक्रिय रहेको जानकारी दिदै नयाँ नयाँ टोलीसमेत जाने तयारीमा रहेको बताए । शनिबार साँझसम्मा नेपाली सेनाको १२ जनाको विशेषज्ञसहितको टोली पनि जाजरकोट जाने जानकारी दिदै उनले निजी क्षेत्रका मेडिकल कलेजहरुले समेत चासो देखाएको बताए ।

उनले जाजरकोटमा सुरुमै ७१ सय किलो, मन्त्रीसँग २ सय किलो र आज पुग्ने गरी २५ सय टक्की औषधी पठाईसकिएको उल्लेख गर्दै महामारी नियन्त्रणको लागि सरकारले उच्चस्तरीय संयन्त्र नै बनाए काम गरिरहेको दावी गरे । मरासिनीले सूरू सुरूमा एउटा क्याम्पबाट एक दिनमा २ सयसम्म बिरामीको परिक्षण गरिएकोमा अहिले ६ वटा क्याम्पमा एक दिनमा १ सय ८५ मात्रै बिरामी परिक्षणको रिपोर्ट आएकोले महामारी नियन्त्रणमा आउन थालेको पाईएको दावी गरे ।

उनले चिसो मौसमको कारण भाइरललाई नै साथ दिएको, जाजरकोटको जटिल भुबनौट, गरिबी, अत्याधिक धुम्रपान र दाउराको आगोमा खाना पकाउने जस्ता कारणले रोग विकराल रुपमा देखिएको उल्लेख गर्दै भने, ‘गाँउमा युवा छैनन । बुढा बुढी छन । बिरामी भए अस्पताल आउन सक्दैन । त्यसैले पनि भयावह देखिन्छ । पुराना दमखोकीको बिरामी पनि अधिक देखिएका छन् ।’

एमाओवादीका तर्फबाट विजयी जाजरकोटका सभासद शक्तिबहादुर बस्नेतले उपचार केन्द्र राखेको स्थानमा मात्र रोगको प्रकोप घट्न थालेको भन्दै जिल्ला भरी फैलने सम्भावना बढेकोले राज्यले थप सक्रियता देखाउन आवश्यक रहेको बताए ।

जिल्लाको दैलेखदेखि डोल्पासम्मको क्षेत्रमा रोग फैलिने क्रममा रहेकोले जिल्लाका १३ वटा नाकामा उपचार केन्द्रको आवश्यकतामा जोड दिदै समस्या देखिएपछि समाधान खोज्ने राज्यको प्रवृत्तिको कारण महामारी फैलिएको दावी गरे ।

बस्नेतले जाजरकोटमा कसरी रोगको महामारी फैलियो भनेर विष्लेसण गर्नु भन्दै अहिले उपचारमा प्राथमिकता दिनु पर्ने सुझाव दिदै सरकारले आवश्यक थप तयारी नगरे स्थिति अझै भयावह हुन सक्ने चेतावनी दिए ।

उनले भने, ‘जाजरकोटमा सरकारको उपस्थिति त छ तर प्रयाप्त हुन सकेको छैन । यज्ञको उद्घाटन गर्न राज्य पुरै जान्छ तर जाजरकोट पुग्न सकेन । अब जाजरकोटसहितको बिकट जिल्लामा एकीकृत स्वास्थ्य कार्यक्रम चलाउन आवश्यक छ ।’

नेपाली काग्रेसका तर्फबाट जाजरकोटका सभासद राजिव विक्रम शाहले सरकारलाई जाजरकोटको विकट भुगोलको विषयमा आवश्यक जानकारी नभएकोले तत्काल उपचार पुर्याउन ढिलाई भएको बताउँदै दुर्गम क्षेत्र भएकोले रोग नियन्त्रणका लागि चिकित्सक र हेलिकप्टर हरहमेशा तयारी अवस्थामा राख्नु पर्ने आवश्यकता औल्याए । उनले भने, ‘काठमाडौबाट थाकेर गएका चिकित्सकले के उपचार गर्छन । हेलिकप्टरमा राखेर ठाँउमा पुर्याउने ब्यवस्था मिलाउनु पर्छ ।’

उनले मुख्य सचिवको नेतृत्वमा बनेको उच्चस्तरीय समितिमा जाजरकोट बुझेका जनप्रतिनिधिलाई नराखी सचिवहरुलाई राख्दा तत्काल रेस्पोन्स हुन नसकेको भन्दै समितिका संयोजक नै जाजरकोटमा महामारी फैलिदा पाकिस्तान भ्रमणमा रहेकोमा राज्य गैरजिम्मेवार देखिएको आरोप लगाए ।

शाहले त्यहाँका अधिकांश मानिस भारतमा रोजगार गर्ने भएकोले भारतबाट रोग सरेर आएको हुन सक्ने अनुमान गर्दै १० दिनसम्म हेलिकप्टर स्टेनबाई राखेर काम गरे नियन्त्रणमा आउन सक्ने बताए । उनले अब्यवहारिक स्थानमा स्वास्थ्यकर्मीको टोली राखिएकोमा त्यसलाई १३ वटा नाकामा राखेर काम गरे छिटो समाधान हुने विश्वास समेत ब्यक्त गरे ।

२ लाख जनसंख्या रहेको जाजरकोटमा १५ बेडको मात्रै अस्पताल रहेकोले पनि उपचार कठिन बनेको भन्दै जिल्लामा ५० र दुई निर्वाचन क्षेत्रमा १५–१५ बेडको अस्पताल निर्माणको आवश्यकता औल्याए ।

डा. सुन्दरमणी दिक्षितले रोग फैलनुमा कसैको दोष नभएपनि रोग फैलिएको सूचनापछि सरकारले कति समयमा रेस्पोन्स गर्यो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै स्वास्थ्य मन्त्रालयमा तुरुन्तै रेस्पोन्स गर्ने टिम हुनु पर्ने बताए ।

उनले प्रभावित क्षेत्रमा रोग लागेका वा नलागेका सबैलाई ट्यामी फ्लु औषधी दिनको दुई चक्किको दरले अनिवार्य खुवाउनु पर्ने आवश्यकता औल्याउँदै औषधी पठाएर खुवाउनुको विकल्प नभएको बताए ।

दिक्षितले १९१८ मा पत्ता लागेदेखिनै ईन्फ्लुएन्जा भाईरस सधै फैलिने गरेको र यो नयाँ कुरा नभएकोले रोग लागिसकेपछि अब उपचारमा ध्यान दिनुको विकल्पन भएको बताए ।


  •  
  •  
  •