जाजरकोटमा निरन्तर हावाहुरी र पानीका कारण ७ जना बेपत्ता

585
  •  
  •  
  •  

जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएका सात जना बेपत्ता भएका छन् ।  मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए । सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।

घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ ।


  •  
  •  
  •