जन्मिनुभन्दा १५ वर्षअघिको घटनामा जेल !

148
  •  
  •  
  •  

काठमाडौं १९ असार (ओएनएस) :
मटिहानी-१ का जुगल केवट २०१५ सालमा जन्मेका हुन् । तर, २००१ मै फैसला भएको डाँका मुद्दाका दोषी भन्दै उनी पक्राउ परे र कारागार चलान गरिए । जुगल केवट नाम गरेका व्यक्तिलाई २००१ मा अदालतले ६ वर्ष कैद तोकेको थियो । अदालतको लागतमा त्यो भेटिएपछि उनलाई पक्राउ गरी अदालतमा बुझाएको एसपी रामप्रसाद श्रेष्ठले बताए । पक्राउलगत्तै केवटले प्रहरी र अदालतसमक्ष आफू निर्दोष रहेको पटक-पटक बताएका थिए । उस्तै नाम भएको अर्को व्यक्ति हुन सक्छ भन्ने उनको जिकिरको सुनुवाइ नै भएन । असार ९ मा कारागारै चलान गरियो ।

केवट परिवारले नागरिकताको प्रमाणसहित निवेदन दियो । महोत्तरी प्रशासनबाट ०४१ कात्तिक ३० मा जारी भएको ६१५५७२१४ नम्बरको नागरिकतामा उनको जन्म २०१५ साल र बाबुको नाम सुखारी मल्लाह उल्लेख छ । जन्म र फैसला मिति फरक परेपछि उनलाई असार १५ मा जेलमुक्त गरिएको छ । ‘म संसारमा आउनु भन्दा १५ वर्षअघिको घटनामा एक साता जेल काट्नु परेको अन्यायको क्षतिपूर्ति कसले दिने ?’ कारागारबाट बाहिर आएपछि उनले प्रश्न गरे ।

तीन छोरा र चार छोरीका बाबु उनले बनिबुतो गरेर परिवार पाल्दै आएका छन् । दुई कट्ठा जमिनबाहेक उनको केही सम्पत्ति छैन । जेलमुक्त भएलगत्तै उनी बनिबुतो गर्न अर्काको खेतमा पुगिसकेका थिए । जेलबाट बाहिर आउने क्रममा भएको ७ हजार २ सय रुपैयाँ ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

नाम र ठेगाना मिलेकाले केवट पक्राउ परेको प्रहरीले प्रतिक्रिया दिएको छ । अदालतको लगतमा बाबुको नाम उल्लेख नभएकाले पनि अलमल भएको उसको दाबी छ । प्रहरी र अदालतले २००१ सालमा अपराध गर्ने र ०१५ सालमा जन्मेको व्यक्तिको उमेर हेरेर पनि लगतमा उल्लेख भएको अपराधी खुट्याउने प्रयास नगरेकामा स्थानीय बासिन्दाले अनौठो मानेका छन् ।

यस्तै अर्को घटनामा नैनही-३ का मोती साह फकिर सजाय काटे पनि पुन. पक्राउ परे । तिनलाई अदालतले ०५३ सालमा ४ वर्ष ९ महिना कैदको फैसला गरेको थियो । पक्राउपछि अदालतसमक्ष उनका आफन्तले पेस गरेको कागजातअनुसार फैसलालगत्तै उनले सजाय काटिसकेका छन् । तर, सजाय भुक्तान गरेको १८ वर्षपछि पक्राउ पर्दा परिवार चकित भयो । कागजात हेरेपछि अदालत परिसरबाट उनलाई छाडियो ।

स्रेस्तेदार लेखनाथ भट्टराईले यसरी निर्दोष व्यक्ति फस्नु जानी-जानी नभई ‘मकैसँगै घुन पिसिएको’ जस्तो भएको बताए । जानकारीलगत्तै त्रुटि सच्याइएको उनले जनाए ।
कातिन्पुरबाट


  •  
  •  
  •