स्वदेश फर्कन खोज्दा जेलको बास

262
  •  
  •  
  •  

jailसाउदी अरब, ५ बैशाख : धन कमाउन साउदी अरब आएका दुई नेपाली सम्झौता अवधि सकिएपछि घर फर्कन खोज्दा जेल परेका छन् । मकवानपुर, गढी–८ का विष्णुलाल लामा र सुनसरी, इनरुवा–८ का सइम मन्सुरीलाई साउदी प्रहरीले गत चैत २२ गते गैरकानुनी बसोबास गरेको आरोपमा पक्राउ गरेर मदिनास्थित पुलिस हेडक्वार्टर चलान गरेको हो ।

लामा र मन्सुरीका अनुसार दुई वर्षअघि म्यानपावर कम्पनी आरपी इन्टरनेसनल र पर्फेक्ट कनेक्सन इम्प्लोइमेन्टमार्फत उनीहरू साउदी अरब आएका थिए । अल सबा एन कन्स्ट्रक्सन कम्पनीमा काम गर्न आएका उनीहरु कपिल फहदमातहत काम गर्दै आएका थिए। उनीहरूलाई कानुनअनुसार काम र आवासीय अनुमति उपलब्ध नगराई कपिलले काममा लगाएका थिए । यस सम्बन्धमा कपिल र सम्बन्धित म्यानपावर कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि उनीहरूले चासो दिएनन् ।

सम्झौता अवधि सकिएपछि लामा र मन्सुरी जेद्धास्थित नेपाली कन्सुलेटको कार्यालयमा शरण लिएका थिए। पीडितका आफन्तले उनीहरुको उद्धार गर्न माग गर्दै गत फागुन २९ गते श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।

त्यहाँबाट सुनुवाइ नभएपछि चैत ९ गते वैदेशिक रोजगार विभागमा उजुरी गरे । कार्यवाहक काउन्सुलर सुधीर भट्टराईले उनीहरुलाई नेपाल फर्काउने आश्वासन दिएकोमा कम्पनीले पासपोर्ट र एक्जिट भिसा दिनुको सट्टा उल्टै पुलिस बोलाएर पक्राएको थियो ।

प्रहरीले उनीहरुलाई जेद्धाबाट मदिनास्थित जेल चलान गरेको जनाइएको छ । पीडितका अनुसार जेलमा दिनको दुईपटक पाकिस्तानी रोटी, भात र एक बोतल पानी मात्रै दिइन्छ । घर फर्कन खोज्दा जेलको बास हुन पुगेको सम्बन्धमा उनीहरुले पटकपटक कपिल र कार्यवाहक काउन्सुलर भट्टराईसँग सम्पर्क गर्न खोजे पनि उनीहरू सम्पर्कमा नआएको गुनासो गर्दै आफूहरुको उद्धार गरिदिन अपिल गरेका छन् ।

यस सम्बन्धमा भट्टराईले उनीहरुलाई कम्पनीसँग कुरा गरेर पठाएको तर कसरी पक्राउ परे भन्ने जानकारी नपाएको बताए । ‘सबै कुरा बुझेर जानकारी दिन्छु,’ उनले भने ।

– नागरिक दैनिकबाट


  •  
  •  
  •