जाजरकोटको महामारी रोक्न युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

302
  •  
  •  
  •  

sushil_koirala20130701002काठमाडौ, ३ बैशाख(ओएनएस) :   प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रालयलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बाबुराम मरासिनी सहितको टोलीलाई प्रधानमन्त्री कार्यालय बालुवाटारमा बोलाएर सो निर्देशन दिएका हुन् ।

“महामारी रोक्न रोक्नका लागि राजधानीबाट पनि विशेषज्ञहरुको टीम पठाउनुहोस्” प्रधानमन्त्री कोइरालाले भने, “ थप क्षति हुन नपाओस” ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले स्वास्थ्यकर्मीहरु खटाइएको स्थानमा नजाने प्रबृत्तिले दुर्गम स्थानका नेपालीहरुले सामान्य उपचारयोग्य रोगबाटै असामयिक रुपमा जीवन गुमाउनु परेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री सहितको टोलीलाई स्वास्थ्य जनशक्तिलाई खटाएको स्थानमा कार्यरत राख्ने उपयुक्त प्रबन्ध गर्न पनि निर्देशन दिए ।

जाजरकोटको रोग फैलिएको क्षेत्रमा स्थलगत भ्रमण गरी विरामीहरुको परीक्षण र खकार, रगत, दिशा, पिशावको नमूना लिइ फर्केको टोलिको समेत नेतृत्व गर्नुभएका स्वाथ्यमन्त्री अधिकारीले सो क्षेत्रमा फैलिएको रोग र नियन्त्रणका प्रयासहरुको बारेमा जानकारी दिएका थिए ।

विभागका महानिर्देशक डा. उप्रेतीले सो क्षेत्रमा फैलिएको रोग स्वाइन फ्लू भएको प्रमाणित भएपछि सो क्षेत्रमा काठमाण्डौबाट विशेषज्ञको दुइ टोली पठाइसकिएको पनि बताए । उनका अनुसार अहिले क्षेत्रीय जनस्वास्थ्य निर्देशकको नेतृत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । नेपाली सेना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक/एक स्वास्थ्य टोली खटिइसकेको छ ।

जिल्ला अस्पतालको दरबन्दीमा रहेका ४ जना एमबीबीएस डाक्टरहरु पनि खटिएका छन् । बिहिबार नै चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक टोली पनि जाजरकोट पुगेको छ ।

स्वाइन फ्लूको रोकथामको लागि विश्व स्वास्थ्य संगठनको एक टोली पनि जाजरकोटमा खटिएको छ । सो अवसरमा स्वाइन फ्लूको रोकथाम र नियन्त्रणको लागि उपयोग हुने १ लाख ट्वाबलेट बिहिबार नै आइपुग्ने जानकारी पनि दिएका थिए । स्वास्थ्यमन्त्रीको टोलीले औषधी वितरण हुन थालेपछि मृत्युहुने क्रम रोकिएको र केही दिनमा रोग नियान्त्रणमा आउने बताएको छ ।


  •  
  •  
  •