घनश्याम भूषाल
यो धर्तीबाट कम्युनिष्टहरुलाई लखेट्ने काम भइरहदा पनि नेपालमा कम्युनिष्ट पार्टीहरु लोकप्रिय रहिरहनु कम्युनिष्टका लागि यो गौरवको कुरा हो ।
मलाई मेरो पार्टी भनेर होइन तर विश्वमा कम्युनिष्टहरु ढलिरहँदा नेपालमा त्यसलाई काँध हाल्ने काम नेकपा एमालेले गरेको थियो भन्ने कुरा लुकाइरहन पर्दैन । किनभने नेकपा एमाले राष्ट्रिय राजनीतिमा प्रमुख र एक निर्णायक शक्ति बन्यो । त्यो कतिबेला भयो भने जतिबेला संसारभर कम्युनिष्टहरु जीउ जोगाएर भाग्दै थिए ।
तर हाम्रा लागि यो सुविधा अब साह्रै धेरै छैन है भन्ने तर्फ हामीले सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ । २०४६ अघि सामन्तवादबाट मुक्त हुँदै गर्दा श्रमिक शक्ति उछलकुद गर्दै थियो । त्यसको एउटा अभिव्यक्तिको रुपमा ०४६ सालको आन्दोलन भयो । एमालेले त्यो शक्तिलाई आकर्षण गर्यो । जसका कारण संसारभर कम्युनिष्ट बद्नाम हुँदा पनि नेपालमा जनताका घर–घरमा जरा गाँड्यो ।
श्रमशक्तिलाई आश्रय र निकास दिन्छु भन्ने एमालेको नाराले त्यो शक्तिलाई तान्यो । गाउँबाट निक्लदै गरेको, शिक्षा–रोजगारी खोज्दै गरेको, व्यापार तिर जान खोजेको त्यो जनसंख्यालाई एमालेको नाराले तान्यो ।
त्यतिबेला संसारभर कम्युनिष्ट लखट्ने काम भइरहदा मजदुर वर्गलाई समेट्ने काम कांग्रेसबाट सम्भव थिएन । ठिक त्यहैबेला नेकपा एमालेका नाराहरु जिन्दगीमा कसरी अनुवाद हुन्छ भन्ने कुरा व्याख्या हुनु अगावै नेकपा माओवादी जन्मियो ।
उसले झन चर्को नारा लगायो । त्यसपछि एमाले तिर आउँदै गरेको त्यो शक्तिलाई आकर्षित गर्यो । त्यसपछि के गर्यो दुनियाँलाई थाहा छँदै छ । उसले यहि कारणले समाजको जग हल्लायो, ठिक त्यही बेला गणतन्त्र पनि आयो अब यो सारा कुराको प्रतिनिधि अब माओवादी भएर गयो । त्यसपछि त्यो जमात त्यहाँबाट पनि विच्कियो थोरै मात्र दोस्रो संविधानसभामा एमालेको पक्षमा आयो ।
यो शक्तिले निकास पाएन भने हाम्रा लागि कम्युनिष्ट पार्टी सँधै भरी लोकप्रिय रहने सुविधा हुने छैन । त्यसले खोजेको निकास दिन सकिएन भने हामीलाई पनि बाँकी राख्दैन है मैले भन्न खोजेको कुरा यो हो ।
दोस्रो कुरा के छ भने हाम्रो उत्तर र दक्षिण छिमेकमा पूँजीको बेलगाम विकास भएको छ । यदि हाम्रो पर्खाल आफैमा सुदृढ हुन सकेन भने आफ्नै उत्पादन शक्ति विकास भएर राष्ट्रिय एकताका साथ अघि जान सकिएन भने हामीलाई त्यो उम्लिएको विकासले बगाउँछ ।
आफूलाई विचार, सिद्धान्त, संगठन, कार्यशैली, आन्दोलन र गतिविधिका हिसाबले संगठित वा पूर्नगठित गर्न सकेनौ भने म त्यति राम्रो दिन देख्दिनँ । अहिले हाम्रो महाधिवेशन आएको छ । अरु बेला गम्भिर भएर केही हुँदैन । बेला यही हो । भौतिक शक्तिलाई विचारमा परिणत गर्न सकेनौँ भने यो दुई दिनको कुरा हो, हामीलाई कसैले बचाउन सक्दैन ।
हामी खालि चुनाव देखि चुनावसम्म दौडिदै छौ । कम्युनिष्ट पार्टीको उम्मेदवारको सरदर चुनाव खर्च ७५ लाख पुगिसक्यो । हामी कहाँ जाँदैछौ । हामीले तोकेको अझ नामै भन्ने हो भने कमरेड झलनाथ खनाल र माधव नेपालले तोकेको मान्छ लगातार उपकुलपति हुँदा त्रिभुवन विश्वविद्यालयको यो हालत हुन्छ भने यसको जिम्मेवार खोज्न कहाँ जाने ?
हामी मन्त्री हुँदा, हाम्रो पार्टीको प्रभाव भएको ठाउँमा हेर्दा हाम्रा सचेत प्रयासले केही बद्लिएको छ÷छैन भनेर हेर्दा कहीँ छैन । जे जे भएको छ जनताको बहुदलिय जनवादले भएको छ भनेको छ । तर भएको केही छैन । जबज भन्ने र सुन्ने कुरा मात्र बनाएर भएन देखिने बनाउनु पर्यो । जनताको वास्तविक जिन्दगीमा देखिनुपर्यो ।
हामीले माधव नेपालको योग्यता भयो या भएन, झलनाथको भयो या भएन भनेर प्रायः यसरी छलफल गर्छौ । तर व्यक्तिको योग्यता जाँचेर धरातललाई विर्सिएर हामी कहिँ पनि पुग्ने छैनौ । मान्छेका योग्यता अयोग्यता हामीले धरातल खोज्न थाल्यौ भने हामी खुट्टा तानातान गरेर सकिने छौ ।
हामीले भन्दै आएको अर्धसामन्तवाद यो देशमा छैन । त्यो ३० को दशकमै सकिएको हो । कार्यकर्तालाई अर्धसामन्ती र अर्धऔपनिवेशिक विरुद्धमा लड्छु भनेर बनाएको छ । त्यो चिज नै छैन भने कसरी लड्छ अनि त्यो कार्यकर्ता ? त्यसपछि गति आउँदैन विकृति आउँछ ।
अनि प्रतिक्रियावादीले, तस्करले, माफियाले, खुफियाले हामीमा अण्डा पार्छन, चल्ला काट्छन् नेता बन्छन अनि हाम्रो आन्दोलन सकिन्छ ।
आठौ महाधिवेशनमा हामीले के लेख्यौ भने हाम्रो आधारभूत अन्तरविरोध को सँग छ भन्दा सामाजिक यथास्थितिवादी, पूर्नउत्थानवादी शक्तिसँग छ । वर्गिय अन्तरविरोध को सँग छ, त्यसैसँग छ । राजनीतिक अन्तरविरोध त्यसैसँग छ भनेर भनियो । तर यो पाँच वर्षको अवधिमा त्यो मुख्य शत्रुका विरुद्धमा एउटा पर्चा समेत निकालिएन ।
थियो भने किन त्यसका विरुद्ध काम नगरेको ? थिएन भने किन लेखेको ? यस्तो गोलमोटल गरेर हुँदैन है । हामीले वर्ग चिन्न सकेनौ यहिकारणले अन्र्तविरोध चिन्न सकेनौ । अनि कार्यभार राम्रेरी ठम्याउन सकेनौ ।
अब हामी प्रष्ट हुनुपर्छ । नेपाली समाज पूँजीवादी भएको छ । तर त्यो दलाल पूँजीवाद हो । माओसेत्तुङले भनेको जस्तो दलाल होइन कि अनुउत्पादक पूँजीवाद । जस्तो आजको बैंक ऋणको ९५ प्रतिशत हिस्सा ८÷१० जनाले व्यापारमा लगाएका छन् । त्यो उत्पादन क्षेत्रमा लगाउन सकिएको छैन । हामी सामन्तवादबाट निस्किसकेकोले हाम्रो आन्दोलनको मुख्य शत्रु सामन्तवाद रहेन ।
कतिपय साथीहरु पूँजीवाद आयो भन्दा जनताको बहुदलिय जनवाद सकिने कुराले काप्नु भएको छ । यो घनश्याम भूषाल पाँचौ महाधिवेशनमा मदन भण्डारीका विरुद्ध भोट हाल्ने मान्छे भनेर शंका गरेर केही हुँदैन । तर यो त ठोस कुरा हो । समाजलाई हामीले चिन्न सकेनौ भने हामी गोलचक्करमा फस्छौ ।
अब पार्टी नयाँ तरिकाले संगठित हुनुपर्छ, उत्पादन सँग जोडिनुपर्छ । त्यसको नेतृत्व पनि त्यसैमा लाग्नुपर्छ । हाम्रो पार्टीको अध्यक्ष को बन्ने भन्ने कुरा षड्यन्त्र गरेर होइन । म यो मुलुकलाई पाँच वर्ष भित्र यहाँ पुर्याउँछु भन्ने प्रष्ट भिजनका साथ आउने छन् ।
सबै तहमा आफ्ना योजना ल्याएर मात्र नेतृत्व दिनुपर्छ । फुलटाइमर्स बाहेक सबैलाई उत्पादनसँग जोडिने छन् । अब सपथको भाषा ‘म काम गरेर खानेछु’ भन्ने बनाउनुपर्छ ।
यो विषयमा आउँदो महाधिवेशनमा छलफल गर्नै पर्छ । हामीले आठौ महाधिवेशनमै यो कुरा गर्नुपर्ने थियो गरेनौ । अब नवौ महाधिवेशन पनि गुमायौ भने मलाई लाग्छ हामीले गुमाउन पर्ने कुरा अरु बाँकी रहदैन ।
(नेपाल अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको ‘आजको नेपाली समाज : अबको कम्युनिष्ट आन्दोलन’ विषयक कार्यक्रममा भूषालले राखेको विचारको सम्पादित अंश)