पेरिस आक्रमणको मुख्य योजनाकार मारिए !

134
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(एजेन्सी) : पेरिसमा १ सय ३२ जना निर्दोष मानिसको ज्यान जाने गरि भएको आतंकी हमलाका प्रमुख योजनाकार अब्देलहामिद अबाऔद प्रहरी कारबाहीमा मारिएका छन् ।

प्रहरीले गरेको कारबाहीका क्रममा करिब ८ घण्टा लामो फायरिङपछि अबाऔदले आफैलाई गोली हानेको सञ्चारमाध्मयले जनाएको छ । तर फ्रान्सले आधिकारिक रूपमा भने यसको पुष्टी हुन बाँकी रहेको जनाएको छ ।

आतंकी हमलापछि यो कारबाहीलाई अहिलेसम्मकै तिव्र कारबाही भएको बताइएको छ । हमलाकारीलाई पक्राउ गर्नका लागि प्रहरीले बुधबार पेरिस नजिकै रहेको सेन्ट डेनिसको एक अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीलाई उक्त अपार्टमेन्टमा अबाऔद लुकेर बसेको सूचना प्राप्त भएको थियो । करीब एक घण्टासम्म फायरिङ भएपछि एक महिलाले आफूलाई नै विस्फोट गराएकी थिइन् । तर, फायरिङ भने जारी रहेको थियो । उक्त फायरिङ करिब ८ घण्टासम्म चल्यो । यस क्रममा एक आतंककारीले आफैलाई गोली प्रहार गरेका थिए ।

आफूलाई विस्फोट गराउने ती महिला अबाऔदकी पत्नी भएको बताइएको छ भने आफैलाई गोली हान्ने अबाऔद भएको जनाइएको छ । तर, यसको आधिकारिक पुष्टी भने भइसकेको छैन् । प्रहरीका अनुसार उनीहरू पुन: हमलाको तयारीमा रहेका थिए । यस कारबाहीका क्रममा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आतंकी हमलापछि फ्रान्सका सबै सीमा बन्द गरिएको थियो । फ्रान्सले कोही पनि आतंककारी देश छाडेर भाग्न नपाउन भन्नका लागि सीमा बन्द गरेको थियो । फ्रान्सले आतंककारीहरूको खोजीका लागि १ सय ६८ वटा सुरक्षा कम्पनीहरूलाई छापामारका लागि लगाएको थियो ।

फ्रान्समा मात्र करिब ४१४ र यूरोपभर २ हजारभन्दा बढी स्थानमा छापा मारिएको थियो । फ्रान्समा ६० भन्दा बढी मानिस पक्राउ गरिएको छ भने १ सय १८ जनालाई नजरबन्द गरिएको छ र ७५ वटा हतियार जफत गरिएको छ । फ्रेन्च-बेल्जियम सीमाका सबै घरमा तलाशी लिइएको थियो ।


  •  
  •  
  •