नेतृत्व हस्तान्तरण र युवा नेतृत्व विकास

195
  •  
  •  
  •  

ईश्वर पोखरेल

नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेतृत्व हस्तान्तरण र युवा नेतृत्वको विकासको बिषय प्रमुखताका साथ उठिरहेको छ । यो प्रश्न हामी कम्युनिष्ट पार्टीमा कस्तो नेतृत्व विकास गर्न चाहन्छौं, कसरी आधुनिक ज्ञान, प्रविधि र व्यवस्थापनमा दक्ष र सक्षम युवाहरू नेतृत्वमा सहजै स्थापित हुने पद्धति निर्माण गर्छौैं र नयाँ र पुरानाकाबीच, अनुभव र उर्जाबीच तथा निरन्तरता र नवीनताबीच कसरी सन्तुलन कायम गर्न चाहन्छौं भन्ने नीतिगत प्रश्न हो । त्यसैले यस बिषयलाई पार्टीको मुख्य पदमा कसलाई स्थापित गर्ने भन्ने साँघुरो दायरामा राखेर नहेर्न सबैसँग आग्रह गर्न चाहन्छु ।

कम्युनिष्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणका क्षेत्रमा समय–समयमा समस्या पैदा भएका छन् । एक पटक क्रान्तिको सफल नेतृत्व गरेपछि त्यसैको वैधताको आडमा कम्युनिष्ट पार्टीले अनिर्वाचित सत्ता चलाइरहने, उसले जनताबाट बारम्बार अनुमोदित हुनु नपर्ने, अनि क्रान्तिकालीन नेता जीवित रहेसम्म उसकै नेतृत्व कायम रहनु पर्ने, उसले कार्यकर्ताबाट अनुमोदित हुनु नपर्ने र उसले नेतृत्व गरेको सरकार र पार्टीले गरेका कामको आवधिक मूल्याङ्न हुनु नपर्ने जस्ता अभ्यास रहँदै आए । युद्धकालीन अवस्थामा यसो हुनुका पछाडि वाध्यता थियो भन्न सकिएला, तर यस्तो अवस्था कम्युनिष्ट शासन व्यवस्था र पार्टी नेतृत्वको चारित्रिक विशेषताकै रूपमा देखा पर्नु उचित थिएन । कार्यशैलीमा नोकरशाहीपन र नेतृत्वमा सर्वसत्तावाद यसैका परिणाम थिए । धेरै पार्टीमा योजनावद्ध नेतृत्व विकास र हस्तान्तरणको पद्धति स्थापित हुनै सकेन । व्यक्ति पुजा र शक्तिको केन्द्रीकरण यसै क्रममा हुर्किएका ‘अप–संस्कृति’ थिए । आजीवन नेतृत्वको त्यस्तो अभ्यासले कतिपय पार्टीहरूलाई विभाजन, समूहगत विद्रोह वा नेतृत्व परिवर्तनका लागि षडयन्त्र र हिंसाको तहसम्म गिरायो । त्यसैले मानवीय र सामाजिक विकासका क्षेत्रमा राम्रा काम गर्दागर्दै पनि कतिपय कम्युनिष्ट सत्ताहरू अधिनायकवादमा रूपान्तरित भए र क्रान्तिकालीन कतिपय नायकहरू खलनायकमा स्खलित भए ।

. नेकपा (एमाले) अहिले इतिहासका यी सबै सकारात्मक÷नकारात्मक अनुभवको आधारमा पार्टीको आन्तरिक जीवनको लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणको निर्णायक मोडमा आइपुगेको छ । कम्युनिष्ट पार्टीले पनि बारम्बार जनताबाट अनुमोदित हुनु पर्ने जनताको बहुदलीय जनवाद (जबज) को राजनीतिक मान्यतासँग मेल खाने गरी हामीले पार्टीमा आन्तरिक लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणका मौलिक अवधारणाहरू विकास गरेका छौं । माथिबाट थोपरिदिएका नेता होइन, कार्यकर्ताको विश्वास जितेका व्यक्तिहरू नेता हुनु पर्ने, उनीहरू सर्वाधिकार होइन, सामूहिक नेतृत्वको एउटा अङ्गको रूपमा क्रियाशील हुनु पर्ने र मुख्य कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नरहने जस्ता मान्यताहरू यसै आधारमा विकास गरिएका हुन् । अहिले चलिरहेको उमेरको सीमा निर्धारणको बिषय पनि यसैसँग जोडिएको छ ।

भनिन्छ, आन्दोलनले आफैं नेता जन्माउँछ । नेता, त्यो आन्दोलनले लिएको कार्यदिशाको आधारमा विकसित हुन्छ । हाम्रो पार्टी नेकपा (एमाले) को आप्mनै अनुभव पनि यस सन्दर्भमा मननयोग्य छ । २०२७÷२८ सालको झापा विद्रोहदेखि २०३७ सालसम्म पार्टीले लिएको सशस्त्र आन्दोलनको कार्यदिशाको अवधिमा कमरेड सिपी मैनालीको नेतृत्व रह्यो । त्यो समयमा उहाँको नाम चामत्कारिक नेताको रुपमा समेत चर्चा हुन्थ्यो । २०३७ सालमा पार्टीले कार्यदिशा परिवर्तन गरेर (जुझारु जनसंघर्षको बाटो अवलम्बन गर्ने बित्तिकै कमरेड मैनालीको नेतृत्व क्षमतामा प्रश्न खडा भयो । २०३९ सालमा हाम्रो पार्टीमा भएको विवाद यसैसँग जोडिएको छ ।
२०३९ सालबाट कमरेड झलनाथ खनालले नयाँ नेताको रुपमा नेतृत्व सम्हाल्नु भयो । निरंकुश राज्यसत्ता, आन्तरिक विवाद र नयाँ कार्यदिशालाई स्थापित गर्ने गहन जिम्मेवारी रहेको त्यो सङ्कटपूर्ण अवस्थामा उहाँले कुशलतापूर्वक टीमको नेतृत्व गर्नु भयो । महासचिव भएको ७ वर्षपछि उहाँले वैचारिक नेताको रूपमा उदाउनु भएका कमरेड मदन भण्डारीलाई सहज ढङ्गले नेतृत्व हस्तान्तरण गर्नुभयो ।

२०४६ को परिवर्तनसंगै कमरेड मदन भण्डारी, हाम्रो पार्टीमा मात्र हैन, सिङ्गो नेपालमा अत्यन्त प्रभावशाली नेताको रुपमा स्थापित हुनुभयो । २०४९ को पाँचौ राष्ट्रिय महाधिवेशनमा उहाँले नेपाली क्रान्तिको मौलिक कार्यक्रम (जनताको बहुदलीय जनवाद–जबज) प्रस्तुत गर्नुभयो । त्यसपछिको अवधिमा कमरेड मदनको नेतृत्वसँग कसैको तुलना हुने कुरै रहेन । उहाँ पार्टीको नेता, सिद्धान्तकार, विचारक र जननेताको रुपमा स्थापित हुनुभयो ।
२०५० सालमा जननेता मदन भण्डारीको हत्यापछिको चुनौतिपूर्ण समयमा कमरेड माधवकुमार नेपाल हाम्रो पार्टीको मुख्य नेता बन्नु भयो । कमरेड मनमोहन अधिकारीको अभिभावकीय भूमिका र गतिशिल टीमका त्यस अवधिमा पार्टीले एकपटक एक्लै सरकारको नेतृत्व ग¥यो र पटक–पटक संयुक्त सरकारमा सामेल हुने मौका पायो ।

हाम्रो अनुभवले भन्छ– एमालेको गठनपछि २०३९ र २०४९ साल बाहेक पार्टीमा नेतृत्वसँग जोडिएका विवाद नीति–सिद्धान्तका कारणले भएनन् । वस्तुतः ती नेतृत्वको व्यवस्थापन गर्न नसक्दाका नकारात्मक परिणाम थिए । नेतृत्वको व्यवस्थापनका प्रश्नलाई सही ढङ्गले समाधान गर्न सकेको भए छैटौं राष्ट्रिय महाधिवेशनमा भएको कार्यनीतिमा रहेको ‘जोड र कोण’को भिन्नता र विवादलाई सहज ढङ्गले समाधान गर्न सकिन्थ्यो र पार्टीको विभाजनलाई रोक्न सकिन्थ्यो । चार बर्षपछि भएको एमाले–माले एकीकरण यस प्रसङ्गमा उल्लेखनीय छ ।

आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा पनि हामीबीच नीति–सिद्धान्त र कार्यक्रममा मूलतः सहमति छ । अहिले हामी बीचको बहस, फेरि पनि नेतृत्व व्यवस्थापनमै रहेको छ ।
नेतृत्व व्यवस्थापनलाई हामीले ‘नेतृत्व हस्तान्तरण र युवा नेतृत्व विकास’को रुपमा चर्चा गरिरहेका छौं । एउटा अवधि थियो– एमाले, युवाहरुको पार्टी मानिन्थ्यो । जननेता मदन भण्डारी जतिखेर चर्चाको शिखरमा हुनुहुन्थ्यो, उहाँको उमेर ४० वर्ष नै नाघेको थिएन । एमालेका अहिलेका अधिकांश नेताहरु ३० वर्षको हाराहारी मै केन्द्रीय कमिटीको नेता भइसक्नु भएको थियो ।

. नवौं राष्ट्रिय महाधिवेशनको सँघारमा आईपुग्दा अहिलेको एमालेमा आन्दोलनका तीन–पुस्ता क्रियाशिल छ । पहिलो पुस्ता झापा विद्रोह, को–अर्डिनेशन केन्द्र, मुक्तिमोर्चा हुँदै नेकपा (माले) को संस्थापक पुस्ता हो । दोस्रो पुस्ता ०३५÷३६ को आन्दोलनसँगै पार्टी नेतृत्वमा स्थापित पुस्ता हो । र तेस्रो पुस्ता, ०४७ साल पछिको बहुदलीय शासनकालबाट विकसित पुस्ता हो । नेतृत्वको व्यवस्थापन भनेको तिनै पुस्ताका नेता÷कार्यकर्ताको संयोजनको प्रश्न हो । उमेर समूहका हिसावले भन्ने हो भने चार उमेर समूहः १८–३५ वर्ष समूह, ३६–५० वर्ष समूह, ५१–६० वर्ष समूह र ६१ वर्ष माथिका नेता÷कार्यकर्ताको व्यवस्थापनको प्रश्न पनि हो । त्यसैले नेतृत्वको सहज हस्तान्तरण, यस अर्थमा नेतृत्वको व्यवस्थापन पनि हो ।

अहिले कतिपय मित्रहरुले प्रश्न गर्ने गर्नुभएको छ– किन पहिलो पुस्ताका नेता नहुने ? किन पहिलो पुस्ताका केही नेता रहने ? किन पहिलो पुस्ताका सबै नेताहरुलाई विदा नगर्ने ? र, युवाहरुलाई नयाँ नेपाल निर्माणको सम्पूर्ण नेतृत्व किन नसुम्पिने ?
नीतिगत रुपमा भन्नुपर्दा, यदि दोस्रो पङ्तिका नेताहरूमा पहिले नै संस्थागत ज्ञान (इन्स्टिच्युसनल मेमोरी) हस्तान्तरण हुँदा हो भने एउटा पुस्ताको सम्पूर्ण नेता परिवर्तन गर्न नसकिने हैन । तर हाम्रो सन्दर्भमा २०३२ देखि २०७१ सालको अवधिका ३९ वर्षसम्म केवल चार जना नेताहरुले प्रमुख नेताको जिम्मेवारी सम्हाल्नु भयो । त्यसमा पनि कमरेड सिपी मैनाली (सात वर्ष) र कमरेड मदन भण्डारीले नेतृत्व गर्नुभएको (साढे तीन वर्ष) समयलाई कटाउने हो भने २८ वर्षभन्दा बढी समय त दुई जना नेताहरूको नेतृत्वमै बित्यो । ६१ वर्ष माथिका हाम्रा दुई नेताहरु बाहेक उहाँहरुभन्दा कम उमेरका कमरेडहरुको त कुरै छोडौं, त्यही उमेर समूहका अन्य नेताहरुले समेत आपूmलाई परिक्षण गर्नै पाउनु भएन । त्यसैले मलाई लाग्छ, यो महाधिवेशन पहिलो पुस्ताका नेताहरु अभिभावकीय भूमिकामा जानेगरी नेतृत्व हस्तान्तरणको पानीढलो हुनुपर्छ ।

पहिलो पुस्ताको केही नेताको नेतृत्वमा अन्य पुस्ताका नेताहरु सम्मिलित नेतृत्व निर्माण गर्ने भनेको नेतृत्वको बलात् परिवर्तन नभएर क्रमशः हस्तान्तरणको प्रकृया आरम्भ गर्नु हो । झापा विद्रोहले आन्दोलनको अघिल्लो पुस्ता अब क्रान्तिको नेतृत्व गर्न सक्षम रहेन भन्ने निष्कर्षका साथ विद्रोहको बाटोबाट नेतृत्व परिवर्तनको बाटो अवलम्बन गरेको थियो । अहिले त्यो भन्दा फरक स्थिति हो । यो विधि भनेको अहिल्लो पुस्ताको निगरानीमा पार्टीको संस्थागत ज्ञान पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु हो । पहिलो पुस्ताको कुनै नेताको अगुवाइमा पछिल्लो पुस्ताका नेता कार्यकर्तालाई ‘मेण्टोरिङ्ग’ गर्दै ‘ग्रुमिङ्ग’ गर्नु हो । यो प्रकृया भनेको ‘नयाँ सुट÷टाई सहित पुरानो टोपी लगाए जस्तो’ नभई, लामो इतिहास भएका पहिलो पुस्ताले, आपूmभन्दा पछिल्लो पुस्तालाई अभिभावकीय भूमिकामा रहेर योजनावद्ध ढङ्गले नयाँ नेतृत्व विकास गर्ने विधि हो । आप्mनै निगरानीमा व्यवहार बुझेका पुस्तालाई नेतृत्वको कमान सुम्पने र युवा पुस्ताको उर्जालाई आन्दोलनको हितमा प्रयोग गर्न उत्साहित गर्ने विधि हो ।
मेरो बुझाइमा, ‘कमरेड माधव नेपाल कि कमरेड केपी ओली’ प्रमुख नेता भन्ने आम सञ्चारमा पोखिएको बहसको आधारमा समेत कुनै पनि पक्ष, नेतृत्वको बलात् परिवर्तनमा होइन, क्रमिक हस्तान्तरणको पक्षमा उभिएको स्पष्टै छ । यस अर्थमा नीति, सिद्धान्तमा मात्रै हैन, नेतृत्व हस्तान्तरणको बिषयमा समेत सिङ्गो एमाले पङ्तिm एउटै मान्यतामा उभिएको छ । रह्यो कमरेड माधव र कमरेड केपी मध्ये को भन्ने प्रश्न– हाम्रो विचारमा अव कमरेड माधव नेपाललाई थप नेतृत्वको झमेलामा अल्झाउनु हुँदैन । उहाँले विभिन्न कालखण्डमा जे जति योगदान पु¥याउनु भयो, पार्टी पङ्तिm अनुगृहित नै छ । उहाँले आप्mनो योग्यता र क्षमताको प्रयोग गर्ने यथेष्ट मौका पाइसक्नु भएको छ । अबको अवधि भनेको भावी पुस्तालाई अभिप्रेरित गर्न उहाँले आप्mनो विगतमा आपूmद्वारा सम्पादन गरिएका कामका अनुभव हस्तान्तरण गर्ने समय हो । त्यसैैले मैले ‘कमरेड माधव कार्यकारी पदमा नबसेको शक्तिशाली नेता हुनुपर्छ’ भन्ने गरेको हुँ । यसो हुँदा नै उहाँको समवयका साथीहरूका माध्यमबाट नेतृत्व हस्तान्तरणको प्रकृया सहज हुनसक्छ । त्यसैले, सञ्चारकर्मी मित्रहरुले पनि कमरेड माधव र कमरेड केपी दुई नेतामा ‘को तगडा’ वा ‘को कमजोर’ को नालिबेली केलाउनेभन्दा एमालेको यो स्पीरिटलाई ख्याल गरिदिनु हुँदा राष्ट्र, लोकतन्त्र र स्वयं कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणमा बल पुग्ने थियो भन्ने ठान्दछु ।
रह्यो किन सम्पूर्ण युवा नहुने भन्ने प्रश्न । नहुने भन्ने कुरै रहेन, हुनै पर्छ भन्ने हो । तर हामीले ट्रेडमार्कको रुपमा आमसञ्चार जगतमा चर्चा गर्ने गरेका युवाहरूमा बिना मेण्टोरिङ कमान सम्हाल्न योग्य छ त ? मेरो थोरै द्विविधा यसैमा छ । वास्तवमा, एमालेमा युवा र युवा वय पार गरेका योग्यतम कमरेडहरूको ठूलो पङ्क्ति छ ।

आन्दोलनमा खारिएको, समाजले पत्याएको र आधुनिक ज्ञानमा पोख्त बन्दै गएको यही पङ्क्तिमा नै पार्टीको भविष्य अन्तरनिहित छ । यदि नेताहरूले आफ्नो पदीय आकाङ्क्षा तृप्तिका लागि यो पङ्क्तिलाई विभाजित नगरिदिने हो र ‘मेरो पक्षमा को छ’ भनेर होइन ‘पार्टीको पक्षमा को छ’ भनेर सम्यक दृष्टि राखिदिने हो भने यो पङ्क्ति ‘जनक्रान्तिका उपलव्धि संस्थागत गर्दै समृद्ध नेपाल निर्माण गर्ने’ हाम्रो कार्यदिशा बहन गर्न सक्षम छ । तर आफूलाई काँधमा बोक्नेलाई भर्भराउँदो युवा देख्ने र अलिकति आलोचनात्मक चेत राख्ने बित्तिकै उनीहरूप्रति पूर्वाग्रह राख्ने कतिपय नेता कमरेडहरूका कारण युवा नेतृत्वको विकासमा चुनौती उत्पन्न भएको छ ।

समस्या ‘युवा’ हरूमा पनि छ । दुःखका साथ भन्नुपर्छ– ५० बाट उकालो लागि सक्नु भएका कतिपय मेरा युवा कमरेडहरू आफूलाई ‘पारसमणि’ ठान्नुहुन्छ । आफूले फलामलाई छोए पनि सुन हुन्छ र आफूले साथ छाड्नासाथ सुन पनि फलाम हुन्छ भन्ने भ्रम उहाँहरूमा छ । केही कमरेडहरुमा एउटा भ्रान्ति छ– ‘म जहाँ उभिन्छु, त्यहीबाट लाइन शुरु हुन्छ ।’ ‘जता भत्कियो, उतै दैलो’को शैलीमा उहाँहरु नीति–सिद्धान्त–कार्यक्रम र पार्टी जीवनलाई समेत अथ्र्याउन खोज्नु हुन्छ । साथीहरू सिङ्गो पार्टीको एकतामा होइन, नेताहरूको झगडामा आप्mनो भूमिका र भविष्य देख्नुहुन्छ । मिलाउने नाममा केहीलाई ‘बाइकट’ गर्ने र केहीको महिमागानमा समय बिताउनु हुन्छ । सिद्धान्तका नाममा गरिने कित्ताकाटमा होस् कि ‘बुढा’हरुले ‘ओगटे’ भनेर होस्, आप्mनो लाभका लागि पार्टीमा एउटा स्थायी प्रतिपक्षलाई निरन्तरता दिन रुचाउनु हुन्छ । रचनात्मक सुधारको प्रयाश गरेर होइन, पार्टीभित्रका कमीकमजोरीको अतिरञ्जना र आत्मभ्रत्र्सनामा आफ्नो पहिचान निर्माण गर्न खोज्नुहुन्छ । सार्वजनिक चर्चामा प्रकट हुने यस्तो ‘युवापन’ देख्दा यत्रो समयसम्म पार्टीमा कस्तो संस्कार हुर्काइएछ भन्ने खिन्नता महसुस हुन्छ ।

कसै कसैले त यस्तै अस्थिरपनलाई नै ‘युवापन’ भन्ने गरेको पनि मैले सुनेको छु । कहिले एमालेको ‘सुधारवादी धार’ पनि होइन माओवादीको ‘उग्र धार’ पनि होइन अब ‘तेस्रो धार’ चाहिन्छ भन्दै त्यसको धुमधाम खोजी भयो । एकसमय अर्को भ्रम थियो– माओवादीले ‘हल्ट’ भन्दा पृथ्वी घुम्न छोड्छ, सूर्य अस्ताउँछ । हाम्रा मित्रहरु, रुपान्तरण र अग्रगमन आदि÷इत्यादि भन्दै “सबभन्दा पहिले प्रचण्डलाई कसले भेट्यो” जस्ता बहसमा उत्रनु हुन्थ्यो । माओवादीको सूर्य ओझेलमा परेपछि, तिनै कमरेडहरु “कसले बढी माओवादीलाई दपेट्ने” जस्ता प्रतिष्पर्धामा देखिनु भयो । एमाले, माओवादी र अन्य पार्टीका ‘राम्रा–राम्रा’ युवा साथीहरू मिलाएर नयाँ पार्टी बनाउनु पर्छ भनेर विचार गोष्ठीहरू पनि आयोजना भए । फेरि ‘केजरीवाल’ आए, को र कसरी ‘केजरीवाल बन्ने’ बहसमा समेत पोखिनु भयो ।

म यसप्रकारको ‘युवापन’ प्रति सहमत हुन सक्दिनँ । यस्तो युवापनबाट समाज रूपान्तरणको डुङ्गा पार लाग्छ भन्ने ठान्दिनँ ।
. केही बर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अहिले ‘युवाहरूकै आग्रहमा नेतृत्व लिइदिन तयार हुनुभएका’ कमरेडमा मैले एउटा समस्या देख्छु । आफ्नै समवयी र आन्दोलनमा उत्तिकै योगदान भएका कमरेडहरूमा नेतृत्व हस्तान्तरण गर्न तयार नहुने कमरेडबाट पुस्तान्तरणको चर्चा गर्नु सङ्गतिपूर्ण देखिँदैन । त्यसबाहेक, पार्टीमा युवा पुस्ताको विकास गर्नु भनेको अहिले भइरहेका युवा या ५० कटेका साथीहरूमध्येबाट मन परेकालाई नेतृत्वमा स्थापित गर्ने प्रश्न मात्रै होइन, योजनावद्ध रूपमा हजारौं हजार युवाहरूलाई आकर्षित गर्ने, पार्टीमा भर्ती गर्ने र उनीहरूलाई प्रशिक्षित र रूपान्तरित गर्ने प्रश्न पनि हो । तर ‘डनवाद’ र ‘धनवाद’ ले आरोपित गर्दै नयाँ प्रवेशी युवाहरूलाई लाञ्छित गर्ने र निरुत्साहित गर्ने तरिकाले कसरी पार्टीमा नयाँ उर्जावान युवाहरू थपिएलान् ?

दक्षिण एसियामा नेतृत्व हस्तान्तरण र योजनावद्ध नेतृत्व विकासका सन्दर्भमा गम्भीर समस्या देखिएका छन् । पारिवारिक उत्तराधिकार, आजीवन नेतृत्व र पदभन्दा बाहिर बस्नै नचाहने संस्कार हावी रहेको परिप्रेक्ष्यमा हामीले विकास गर्न खोजेको नेतृत्व हस्तान्तरण र नयाँ नेतृत्वको विकास कम्युनिष्ट आन्दोलनका सन्दर्भमा मात्रै होइन, समग्र राजनीतिमै नयाँ अभ्यास हो । यसलाई यही रूपमा बुझिदिनु हुन अनुरोध छ ।

रह्यो कमरेड केपी ओलीलाई नेतृत्वमा प्रस्तावित गरिएको सन्दर्भ । यसका ठोस आधारहरू छन् । आजको एमालेको रूपमा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने र राजतन्त्र विरोधी क्रान्तिको नयाँ उद्घोष गर्ने मोडको रूपमा परिचित झापा आन्दोलनको नेताका रूपमा, त्यसभित्र प्रकट उग्रवामपन्थलाई सच्याउन प्रयत्न गर्ने वैचारिक व्यक्तित्वका रूपमा, जनमत सङ्ग्रहलाई उपयोग गर्नुपर्छ भन्ने सन्तुलित मान्यताका पक्षधरका रूपमा, जबजको प्रतिपादनमा जननेता मदन भण्डारीसँग ‘कोर टिम’ मा रहेर योगदान गर्ने व्यक्तिका रूपमा, २०५१ सालको एमाले सरकारको लोकप्रियता अभिवृद्धिमा महत्वपूर्ण देन दिने नेताका रूपमा, कम्युनिष्ट आन्दोलनमा उत्पन्न उग्रवामपन्थ र राजनीतिमा हावी भएको दक्षिणपन्थका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने अगुवाका रूपमा, राजनीतिमा प्रकट हुने जातीय÷क्षेत्रीय अतिवाद र सङ्कीर्णताका विरुद्ध राष्ट्रिय एकताका पक्षमा अनवरत आवाज उठाउने अग्रणी व्यक्तित्वका रूपमा र युवाहरूलाई पार्टीमा आकर्षण, प्रोत्साहन र नेतृत्व हस्तान्तरण सन्दर्भमा उहाँले खेल्नुभएको भूमिकालाई हामी सबैले देखेकै छौं, अनुभूत गरेकै छौं । इतिहास, त्याग, वैचारिक अडान र आम पार्टी पङ्क्तिको चाहना सबैले स्पष्ट अभिव्यक्त गरेको यो बिषयलाई अस्वीकार गर्ने र स्वास्थ्यको बिषयलाई समेत राजनीतिक मुद्दा बनाउने बिषय पूर्वाग्रही मात्रै होइन, अपसंस्कृतिको पनि बिषय हो भन्ने मलाई लाग्छ ।

जुलाई २, १९८१ मा आयोजित पार्टी कार्यक्रममा चिनिया नेता तङ् सियाओ पिङ्गले बरिष्ठ नेता÷कार्यकर्ताको प्राथमिक काम भनेको पदोन्नतिका लागि युवा र मध्यम उमेरका कार्यकर्ताको खोजी गर्नु हो भन्ने एउटा भनाईलाई म यतिखेर स्मरण गर्दैछु । उनी भन्छन्– “यदि हामीले अब ३–५ वर्षको वीचमा उत्तराधिकारीको समस्या राष्ट्रिय स्तरमा नै हल गर्न सकेनौं भने निःसन्देह भद्रगोल सुरु हुनेछ । केही बरिष्ठहरु हामी वीच नरहनु होला, केही जीवित रहे पनि काम गर्न नसक्ने हुनुहोला ।… अहिले ४० माथिकाहरु ४७÷४८ वर्षमा पुग्नेछौं । यो भनेको पनि तन्नेरी पुस्ता होइन । जो अहिले नै ५० नाघेका छौं, ६० तिर उक्लिने छौं । मलाई डर लागिरहेछ, आज यहाँ उपस्थित कमरेडहरुमा … अधिकांश हामी ६० कै हाराहारीमा छौं । आजबाट ७–८ वर्षपछि के होला ? हामीहरु सबै ७० को आसपास पुग्ने छौं । यो नै आज हामीले गंभीरतापूर्वक सोच्न पर्ने विषय हो …।”

केही साथीहरुले मलाई प्रश्न गर्नु भयो– तपाईकै अध्यक्षतामा नयाँ टीम निर्माण गर्न चाँहि किन नहुने? किन खुट्टा कमाउने? सबाल म के हुने भन्ने हैन, मेरो मुख्य चिन्ता भनेको असीको दशकमा चिनियाँ नेतामा जे रहेको थियो त्यस्तै त्यस्तै हो । म के हुने वा के नहुने भन्दा पनि हाम्रो गौरवशाली आन्दोलनलाई कसरी ‘भाइब्राण्ट’ र ‘डाइनामिक’ बनाइराख्ने भन्ने चाहिँ हाम्रो चिन्ताको विषय हो । हाम्रा सामु लेनिन, माओ, कास्ट्रो, मुगावे, मण्डेला, तेङ आदि नेताका थरिथरि अनुभवहरू छन् । हामी चाहन्छौं– राष्ट्रिय राजनीतिमा जबज जस्तो गतिशील, क्रान्तिकारी र लोकतान्त्रिक विचार अगाडि सार्ने एमालेले नेतृत्व हस्तान्तरण र युवा नेतृत्वको विकासमा पनि सम्यक, सन्तुलित र सही मान्यता विकास गर्नैपर्छ । नेताहरूले आत्मकेन्द्रित सोचबाट मुक्त हुनैपर्छ ।


  •  
  •  
  •