मिलिसकेको वार्ता प्रचण्डलाई फोन आएपछि भाँडियो’

37
  •  
  •  
  •  

काठमाडौं ११ माघ । एमालेका महासचिव ईश्वर पोखरेलले संविधान निर्माणमा रहेका विवाद एमाओवादी अध्यक्ष प्रचण्डका कारण मिल्न नसकेको आरोप लगाएका छन् ।

युवा संघ नेपाल काभ्रे ४ नम्बर क्षेत्रीय कमिटिको दोस्रो क्षेत्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘सहमतिमा संविधान जारी गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता मिल्ने अवस्थामा पुगेपछि एउटा फोन आएको एक घण्टापछि वार्ता भाँडियो’, महासचिव पोखरेलले भने, ‘मिल्न लागेको वार्ता पनि प्रचण्डलाई फोन आएपछि सधैँ भाँडिन्छ । फोन आएपछि प्रचण्डले अर्को कुरा गर्दै वार्ता नमिल्ने बताउने गरेका छन् ।’

पोखरेलले एमाओवादी अध्यक्ष प्रचण्ड के कुरा र कहाँबाट निर्देशित छन् भन्ने बुझ्न नसकिएको बताए । उनले प्रक्रियामार्फत संविधान जारी गर्ने क्रममा एमाओवादी र मधेसवादी दलहरुले अवरोध गरेपनि आईतबार बस्ने संविधानसभाको बैठकले संविधान निर्माण प्रक्रिया अघि बढाउने दाबी गरे ।

उनले प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रियामा नआएसम्म एमाओवादीसँग वार्ता, संवाद नहुने बताएका छन् ।

सहमतिमा संविधान जारी गर्न एमाले लचिलो बनेको बताउँदै पोखरेलले अब भने प्रक्रियमा गएर जनताले चाहेको लोकतान्त्रिक संविधान जारी गरिने बताए । उनले एमाले तन्कन सक्ने अवस्थाको रबरजसरी लचकता अपनाउन तयार भएपनि चुँडिएर जाने अवस्थासम्म भने नजाने बताए ।

‘आइतबारबाट प्रक्रिया सुरु गरेर लोकतान्त्रिक संविधान जारी गरिनेछ’, उनले भने, ‘सहमतिमा संविधान जारी गर्न सभामुखले बाटो हेरे । आइतबारबाट सभामुखले संविधान निर्माणको प्रक्रिया सुरु गर्नेछन् ।’

सहमतिमा संविधान जारी गर्ने पक्षमा एमाले लचिलो भएपनि सहमतिको छाँट नभएको उनको भनाइ छ । उनले सहमति भएका कुरा टुङ्ग्याएर नमिलेका कुरा आयोग गठन गरी त्यसमार्फत समाधान गरौँ भन्दा एमाओवादी र मधेशवादी दलले नमानेको बताए ।

‘एमाओवादी वर्तमान संविधानसभा भङ्ग गराएर गोलमेच सम्मेलन गर्नुपर्छ भन्दै संविधानसभा बाहिरका दलहरुसँग मोर्चाबन्दी गरेर अघि बढेको छ’, पोखरेलले भने, ‘राष्ट्रिय अखण्डतामा खलल पार्ने एकल जातीय राज्य एमालेलाई मान्य हुँदैन ।’
अन्नपूर्णपोष्टाट


  •  
  •  
  •