वेष्ट इण्डिजलाई सुरूवाती झड्का, आयरल्याण्डसँग पराजित

122
  •  
  •  
  •  

West Indies v Ireland - 2015 ICC Cricket World Cupकाठमाडौ, ४ फागुन(ओएनएस) : विश्वकप क्रिकेट अन्तरगतको पाँचौ खेलमा आयरल्याण्डले वेष्ट इण्डिजलाई पराजित गरेको छ । नेल्सनको सेक्टन ओभलमा भएको खेलमा आयरल्याण्डले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको हो । यो प्रतियोगितामा आयरल्याण्ड पहिलो टोली हो जसले लक्ष्य पछ्याउने क्रममा जित हासिल गरेको छ । आजसम्म भएका अन्य सबै खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले जोत हासिल गरेका थिए ।

३ सय ५ रनको विजय लक्ष्य पछ्याएको आयरल्याण्डले २५ बल बाँकी रहँदा आफ्ना ६ विकेट गुमाएर ३ सय ७ रन जोड्दै वेष्ट इण्डिजमाथी विजयी सुरूवात गरेको हो । आयरल्याण्डका लागि प्रारम्भिक ब्याटस्म्यान पाउल स्टिर्लिङले सर्वाधिक ९२ रनको योगफल जोडेका थिए भने एड जोयसले ८३ रन, नियल ओब्रायनले अविजित ७९ रनको योगदान गरेका थिए । यस्तै, कप्तान विलियम पोर्टरफिल्डले २३ रन जोडेका थिए । यता वेष्ट इण्डिजका लागि जेरोम टेलरले ३ विकेट लिए भने क्रिस गेल र मार्लोन स्यामुअल्सले समान १-१ विकेट हात पारेका थिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै ३ सय ४ रनको योगफल तयार पारेको थियो । वेष्ट इण्डिजका लागि लेण्डिल सिम्मोन्सले शतकीय पारी खेल्ने क्रममा १ सय २ रन जोडेका थिए । यस्तै, दारेन सामीले ८९ रन, क्रिस गेलले ३६ रन, आन्द्रे रसेलले २७ रन जोडेका थिए । वेष्ट इण्डिजलाई उक्त स्कोरमा समेट्नका लागि जर्ज डकरेलले ३ विकेट हात पारे भने जोन मोनी, केभिन ओब्रियन र म्याक्स सोरेन्सेनले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच पाउल स्टिर्लिङ घोषित भए ।


  •  
  •  
  •