विश्वकप छनोट : आयरल्याण्डमाथी विजयको झण्डा फहराउन सम्भव छ ?

219
  •  
  •  
  •  

काठमाडौ, २८ असार(ओएनएस) : टि-२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ । आज साँझ ७ बजे हुने खेलमा नेपालले सह-आयोजकका साथै समूहमा बलियो तथा उपाधीको दावेदारको रूपमा रहेको आयरल्याण्डको सामना गर्दैछ ।

आयरल्याण्डलाई पराजित गर्नु अवस्य पनि नेपालका लागि फलामको चिउरा चपाएजत्तिकै छ । आयरल्याण्डलाई पराजित गर्नका लागि आयरल्याण्डका आक्रामक ब्याट्स्म्यानहरू नील ओब्राइन, पाउल स्टिरलिङ, विलियम पोटरफिल्ड, केभिन ओब्राइन र एण्डी बालब्रिनसँग छुटकारा पाउनुपर्ने हुन्छ भने स्पिन बलर जर्ज डकरेलबाट पार पाउनु पनि सहज छैन् । आफ्नै खेल मैदानमा प्रतियोगिताको सबैभन्दा बलियो टोलीलाई पराजित गर्नु चानचुने काम भने होइन ।

नेपालले आयरल्याण्डसँग एक मात्र टि-२० खेल खेलेको छ जसमा आयरल्याण्डले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । एकातिर नेपाल यूरोपको हावापानीसँग जुध्दै छ भने अर्कोतिर आयरल्याण्ड जस्तो बलियो टोलीमाथि विजयको झण्डा फहराउनका निकै राम्रो प्रदर्शन गर्नुपर्ने दवावमा छ ।

नेपाली ब्याटस्म्यानले राम्रो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा नेपालले आयरल्याण्डसँगको खेलमा असाधारण खेल पस्किनुपर्ने हुन्छ । यसका लागि नेपाली ब्याटस्म्यानहरू उत्कृष्ट लयमा आउनु अत्यन्त आवश्यक छ । नेपालको ब्याटिङ अहिले उपकप्तान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र शरद भेष्वाकरसँग मात्र निर्भर रहेको छ । तर, यी तीनबाहेक अन्य ब्याटस्म्यानले नेपाललाई जित दिलाउनका लागि निकै ठूलो फड्को मार्नुपर्ने देखिन्छ । विषेशगरी प्रारम्भिक ब्याटस्म्यानले खेललाई कम्तिमा पनि ६ ओभरसम्म डोर्याउनुपर्ने बाध्यता छ तर, सागर पुन पहिलो ओभरमा नै आउट हुने क्रम अझै रोकिएको छैन् भने अनिल मण्डलले आफ्नो खेलमा गति बढाउनु आवश्यक छ ।

यस्तै, नेपाली बलरहरूले पनि राम्रो प्रदर्शन गर्न सकिरहेको देखिदैन । अमेरिकासँगको खेलमा खराब सुरूवात गरेपनि खेललाई आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । तर, नामिबियासँग खेलिएको करिब ८ ओभरको खेलमा नेपाली बलरले लय समात्न सकेनन् । बलिङमा पहिलो समस्या भनेकै सोमपालसँगै नयाँ बल कसलाई दिने भन्नेमा छ । विकेट लिने बलरका रूपमा देखिएपनि करण केसीले अमेरिकासँगको खेलमा मात्र २ ओभरमा २७ रन दिए । यस्तै, नामिबियाविरूद्धको खेलमा उनको स्थानमा आएका जीतेन्द्र मुखियाँले १ ओभरमात्र बलिङ गर्न पाएका थिए । यसले के देखाउँछ भने नेपालको प्रमुख हतियारको रूपमा रहेको बलिङ अझै लयमा फर्किन नसकेको देखिएको छ । स्पिनतर्फ भने शक्ति गौचन र बसन्त रेग्मीले नै सम्हाल्ने छन् तर, उनीहरूले पनि आफ्नो बलिङमा निकै ध्यान दिनु पर्नेछ ।

यस्तै, आजको खेल वर्षाले प्रभावित गर्ने अनुमान मौसम विद्हरूले गरेका छन् । यदी पानी नपरेर खेल हुन सके नेपाल र आयरल्याण्डबीचको खेलले निकै रोमाञ्चकता ल्याउने नै छ । यूरोपको मौसममा भिज्न गाह्रो भईरहेपनि नेपालसँग अन्य विकल्प छैन् । मौसम अनुसार आफूलाई ढालेर आयरल्याण्डसँग मैदानमा उत्रिनु नै छ ।

आयरल्याण्डलाई पराजित गर्नका लागि नेपालले आफ्नो ब्याटिङ सुधार्नै पर्छ । प्रारम्भिक ब्याटिङको समस्यालाई समाधान गर्दै एसोसियट राष्ट्रबीच आफ्नो आधिपत्य जमाउने प्रयासमा रहेको आयरल्याण्डमाथि नेपालले पनि एसोसियट स्तरमा आफू कम नभएको देखाउनुपर्ने दवाव छ ।


  •  
  •  
  •