बग्दाद, ४ असार (एजेन्सी) । इराकको राजधानी बग्दादबाट ६० किलोमिटर क्षेत्रभित्रै लडाकूहरूले एक साता लामो आक्रमणमा आफ्नो नियन्त्रण विस्तार गरेका छन् भने संयुक्त राष्ट्र सङ्घले यस मुलुकको अस्तित्वनै चुनौतीमा परेको चेतावनी दिएको छ ।
यसबीच वासिङटनले बग्दादमा आफ्नो दूतावासको सुरक्षाका लागि २७५ सैनिक तैनाथ गरेको छ । सन् २०११ मा अमेरिकी सेना फिर्ता गएपछि उनीहरू इराक फर्केको यो पहिलो पटक हो । त्यसअघि सन् २००३ मा अमेरिकाले इराकमा महङ्गो तथा रक्तपातपूर्ण हस्तक्षेप गरेको थियो ।
अमेरिकाले इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट (आईएसआईएल) को नेतृत्वमा रहेका लडाकूहरूमाथि हवाई आक्रमण गर्ने बिचार गरिरहेको छ । विद्रोहीहरूले जुन ९ मा आक्रमण गरी करिब २० लाख जनता बसोबास गर्ने मोसुल नगरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले बग्दादको उत्तरी भागमा रहेको ठूलो भूभागमा पनि नियन्त्रण कायम गरेका छन् ।
यो सङ्कटले लाखौँ व्यक्तिलाई प्रतिस्थापन गरेको छ र यस हिंसाले मुलुकको व्यापक तेल उत्पादन क्षमतामा प्रभाव पार्ने आशङ्का गरिएको छ । यसै गरी इराकको सुरक्षा सेना विद्रोहीलाई राजधानीमा प्रवेश गर्न रोक्नसक्ने छैन भन्ने चिन्ता बढाएको छ ।
अधिकारीहरूले मंगलबार लडाकूहरूले बाकुबाको क्षेत्र केही समयका लागि नियन्त्रणमा लिएको बताएका छन् । यहाँबाट गाडीमा केही समयको यात्रापछि बग्दाद पुग्न सकिन्छ । साथै उनीहरूले इराकको उत्तरी भागमा रहेको सिया बहुसङ्ख्यक क्षेत्र तल अफारका प्रायः भाग आफ्नो नियन्त्रणमा लिएका छन् । यो सिरियातर्फको रणनीतिक मार्गनजिकै रहेको छ ।
बकुबामा राती आक्रमण भएको थियो भने लडाकूहरूलाई सुरक्षा सेनाले पछाडि हट्न बाध्य बनाएका थिए । यस आक्रमणमा एक प्रहरी केन्द्रमा ४४ बन्दीको मृत्यु भएको छ । यसबाट युद्ध राजधानी नजिकै पुगेको देखिएको छ । जिहादीहरूले बग्दाद तथा दक्षिण सिया धार्मिक नगर कारबालालाई पनि आफ्नो नियन्त्रणमा लिने योजना बनाएको बताएका छन् ।
बन्दीलाई कसले मारे भन्ने विषयमा भनाइहरू फरक/फरक छन् । प्रधानमन्त्री नुरी अल–मलिकीका सुरक्षा प्रवक्ताले बन्दीलाई विद्रोहीले मारेको आरोप लगाएका छन् । अर्कोतिर अधिकारीहरूले यी बन्दी भाग्न प्रयास गरेकाले सुरक्षा सेनाले उनीहरूलाई मारेको बताएका छन् ।
लडाकूको विजय अभियानप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ । बग्दादमा संयुक्त राष्ट्र सङ्घका दूत निकोलाइ म्लादेनोभले इराकको सार्वभौमसत्ता सङ्कटमा परेको चेतावनी दिएका छन् । उनले हाल यसले इराकको अस्तित्व चुनौतीमा परेको र यसले पछि यस क्षेत्रमा गम्भीर खतरा निम्त्याउने बताए ।
इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रका प्रधानमन्त्रीले बीबीसीलाई यो मुलुक आक्रमणअगाडिको अवस्थामा फर्कन असम्भव हुने जस्तो देखिएको बताए । नेचिरभान बारजानीले इराकी प्रधानमन्त्री मलिकीसँग समास्या समाधान गर्न निकै कठिन भएको बताए । वरोधीहरूले प्रधानमन्त्री मलिकी आफैँले जातीयवादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
इराकमा लडाकूहरू विजयी र सेना कमजोर देखिएपछि विदेशी सरकारहरूले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई त्यहाँबाट हटाएका छन् ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले बग्दादमा आफ्नो दूताबास तथा अमेरिकी नागरिकको सुरक्षाका लागि २७५ सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । यी सैनिकलाई युद्धका सामग्री उपलब्ध गराइएको बताइएको छ ।
वासिङ्टनले खाडीमा आफ्नो विमानवाहक जहाज तैनाथ गरेको छ । अमेरिकी राष्ट्रपति ओबामाले भने अमेरिकी सेना इराकमा नफर्कने बताउनुभएको छ ।अर्को पाइलाको विषयमा अमेरिकाले विचार गरिरहेको छ र अमेरिकी विदेशमन्त्री जोन केरीले सोमबार चालकविहीन विमान प्रयोग गर्ने सम्भावना भएको बताउनुभएको छ । वासिङ्टनले यस विषयमा तेहरानसँग सैनिक सहयोग नलिने बताएको छ । तीस वर्षसम्म प्रतिद्वन्द्वी बनेका यी दुई मुलुकबीच यस विषयमा भियनामा छोटो छलफल भएको थियो ।
अमेरिकाले यमन, अफगानिस्तान तथा पाकिस्तानमा चालकविहीन विमान प्रयोग गरेको छ । यसको व्यापक प्रभाव देखिएको छ भने नागरिकको मृत्युका कारण यसप्रति आलोचना पनि व्यापक छ । इराकमा विद्रोहीमाथि यस्तो विमान प्रयोग भएको छैन ।