इराकमा आममाफीको घोषणा

104
  •  
  •  
  •  

काठमाडौं, २० असार (एजेन्सी) । इराकी प्रधानमन्त्री नुरी अल–मलिकीले इराकलाई विभाजन गराउनसक्ने गरी व्यापक भू–भागलाई नियन्त्रणमा लिने लडाकूलाई समर्थन कम गर्न मेलमिलापको प्रयासका लागि आममाफीको घोषणा गरेका छन् ।

इराकको नयाँ संसद्को बैठक नाटकीय रूपमा स्थगन भएपछि प्रधानमन्त्री मलिकीको यो घोषणा आएको हो । अन्तर्राष्ट्रिय नेताहरूले इराकी राजनीतिज्ञहरूलाई विद्रोहीसँग संघर्ष गर्न एक हुन आग्रह गरेका छन् । उनीहरूले इराकी राजनीतिज्ञहरूलाई समय खेर नफाल्न पनि आग्रह गरेका छन् । अर्कोतिर शक्तिशाली जिहादी समूहले सीप भएका पेसागत व्यक्तिहरूलाई हालै घोषणा गरिएको इस्लामी मुलुकलाई सहयोग गर्न आग्रह गरेको छ ।

जिहादी, पूर्व शासक तानासाह सद्दाम हुसेन तथा सरकारविरोधी आदिवासी समुदायले पाँच प्रान्तका ठूलो भू–भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् भने लाखौं व्यक्ति विस्थापित भएका छन् । उनले हत्यामा संलग्न व्यक्तिबाहेक राज्यविरुद्ध क्रियाकलापमा संलग्न सबै आदिवासी तथा सबै जनतालाई आफूले आममाफीको घोषणा गरेको बताए । उनले यी व्यक्तिलाई विवेक प्रयोग गर्न आग्रह गरे ।

सेना संघर्षरत
इराकी सेनाले राजधानी सहर बग्दादलाई आफ्नो नियन्त्रणमा राख्नका लागि संघर्ष गरिरहेको छ । इराकी सेनाले इराकी राजधानी सहर बग्दादमा केही दिनयता निकै ठूलो संख्यामा सैन्य परिचालन गरी सहरलाई घेरा हालेको र सम्भावित आक्रमणका विरुद्ध सशक्त र रक्षात्मक उपाय अवलम्बन गर्ने गरेको छ । हालैका दिनमा इराकका सुन्नी मुस्लिमहरूले शहरमा धावा बोलेपछि राजधानीको संरक्षणका लागि सेनाले संघर्ष गरेका हुन् । इराकी सुन्नी मुस्लिमहरूले गत महिनादेखि इराकका कम्तीमा पनि पाँचवटा ठूला र रणनीतिक हिसाबले महŒवपूर्ण मानिने सहर कब्जामा लिएका थिए ।

त्यसपछि उनीहरूले राजधानी बग्दादमै हमला गर्ने धम्की दिँदै आएका छन् । उनीहरूले यसअघि अल क्वामी सीमा सहर नियन्त्रणमा लिएर सिरियासँगको सम्बन्धलाई पनि नयाँ हिसाबले प्रभावित पार्न खोजेका थिए । साथै उनीहरूले टिक्रिट सहर पनि कब्जा गरेका थिए । तर, तीमध्ये पनि अधिकांश सहर सेनाले पुनः नियन्त्रणमा लिइसकेको छ । साथै उनीहरूलाई राजधानी बग्दादमा पनि छिर्न नदिने रणनीति सेनाले अपनाएको छ । उता हिंसाका कारण इराकबाट विभिन्न पश्चिमा मुलुकहरूले आफ्ना मिसन पनि खाली गर्न थालेका छन् ।

राजधानी बग्दादमा रहेका पश्चिमा देशका राजदूतावासहरूले इराकी राजधानी छोड्न थालेका हुन् । इराकका विभिन्न सहर उनीहरूले कब्जा गरिरहँदा यसको असर अन्यत्र पनि पर्नसक्ने र अरू सहरमा मात्र नभएर क्षेत्रीय रूपमै यसले असर पार्नसक्ने भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी सेना पठाएका छन् ।

सुन्नीहरूको यस हिंसाले अन्य राष्ट्रहरूका साथै क्षेत्रीय रूपमा पनि अस्थिरता छाउनसक्ने ओबामाको चिन्ता थियो । हाल इराकमा दुई सय सैन्य सल्लाहकार र अरू तीन सय अमेरिकी सैनिक रहेका छन् ।


  •  
  •  
  •