एजेन्सी । इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तिमा ४० जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । इराकको दक्षिणी शहर नसरिया लगायतका स्थानमा भएका झडपमा १ सय भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन् ।
नासिरियामा मात्रै सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा २५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले केही दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रममा प्रहरीले गोली चलाएको हो । प्रदर्शनमा अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
नसरिया शहरस्थित सुरक्षा फौज इकाइको मुख्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । नाजाफ शहरमा भएको घटनामा अन्य १० जनाको मृत्यु भएको जनाइएको छ । राजधानी बग्दादमा पनि ४ जनाको मृत्यु भएको छ । आन्दोलनमा भएको दमनको विरोध भएपछि इराक सरकारले धिल कतार प्रान्तका आन्दोलनका एक कमाण्डरलाई हटाएको छ ।
इराकीहरूले रोजगारी, भ्रष्टाचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै केही समयदेखि प्रदर्शन गर्दै आएका छन् सरकार विरोधी आन्दोलन चर्किएपछि पछिल्लो एक महिनामा इराकमा ३ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर एक हजार भन्दा बढी घाइते भएका छन् ।