काठमाडौ, ७ मंसिर(एजेन्सी) : ताजमहल हे्र्नका लागि आएका इरानी महिलाहरूले बिहिबार ताजमहल नजिकै रहेको हनुमान मन्दिर परिसरमा नमाज पढेकी छिन् । ती महिलाहरूले नमाज पढ्न लाग्दा त्यहाँ फूल बेच्ने मानिसले महिलाहरूलाई बस्नका लागि पत्रिका दिएका थिए भने मन्दिरका पुजारीले पनि ती महिलालाई सहयोग गरेका थिए ।
महिलाहरूले यसरी हनुमान मन्दिरमा नमाज पढेपछि निकै बहस सिर्जना भएको छ । हिन्दू-मुस्लिमहरुले यसलाई आ-आफ्नो तर्क दिएका छन् । इस्लामी विद्धान मौलाना नदीमूल वाजदीले कुनै पनि स्थानमा नमाज पढ्न सकिने बताएका छन् । यस्तै देवबन्दी उलेमाओले पनि यसलाई जायज भएको बताएका छन् ।
इरानी महिलाहरू ताजमहल हेर्न आग्रा पुगेका थिए । ताजमहल हेर्दै गर्दा साँझ परेको र उनीहूरूको नमाज पढ्ने बेला भएपछि ती महिलाहरूले नजिकै कतै मस्जिद छ या छैन् भन्दै फारसी भाषामा सोधेको तर कसैले पनि उनीहरूको कुरा नबुझेको समाचारहरुमा जनाइएको छ । केहीबेर यता र उता गरेपछि उनीहरूले हनुमान मन्दिर देखे । यता फुल बेच्न बसेका श्रवणले पनि ती महिलाहरूले नमाज पढ्न चाहेको इशाराले नै बुझे र त्यहीँ नमाज पढ्न आग्रह गरे ।
श्रवणका अनुसार ती महिलाहरूलाई मन्दिरमा नमाज पढ्न मिल्छ भन्ने कत्ति पनि लागेको थिएन । तर, जब श्रवणले मन्दिर परिसरमा नै नमाज पढ्नका लागि इशारा गरे तब उनीहरू निकै खुसी भए । उनीहरुले त्यसपछि बस्नका लागि पत्रिका मागे र श्रवणले पनि पत्रिका दिए । उनीहरुले उक्त पत्रिका ओछ्याएर नमाज पढे ।
मन्दिरका पुजारी रामब्रज शास्त्रीका अनुसार भगवानलाई मान्ने तरिका फरक-फरक हुन सक्छ तर भगवान् र अल्लाह एउटै हुन् । उनी इरानी पर्यटकहरूको नाम पनि जान्दैनन् । मन्दिर सबैका लागि हो । धर्मको नाममा यहाँ कसैलाई आउन जान रोक्न नहुने उनको भनाई थियो । महिलाहरूले नमाज जता फर्केर पढिरहेका थिए, त्यसतर्फको ढोका बन्द रहेको समेत बताइएको छ ।