काठमाडौं ५ असार (ओएनएस) :
खाडी मुलुक इराकमा हिंसात्मक गतिविधि बढिरहेका बेला बुधबार त्यहाँको विद्रोही समूह इस्लामिक स्टेट इन इराक एन्ड सिरियाले नेपालसहित विभिन्न मुलुकका कामदारलाई कब्जामा लिएको छ। नेपालसहित पाकिस्तान, बंगलादेश र तुर्किमिनिस्तानका ६० भन्दा बढी कामदारलाई सो विद्रोही समूहले अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। किर्कुक शहर नजिकैको निर्माणाधीन अस्पतालमा कार्यरत ती कामदारलाई विद्रोही समूहले अपहरण गरी कब्जामा लिएको इराकी समाचार संस्था डोगानलाई उद्धृत गर्दै अमेरिकी अखबार फक्स न्युजले जनाएको छ।
यस विषयमा इराकी विदेश मन्त्रालयले अपहरणको घटनाको पुष्टि नभए पनि अनुसन्धान जारी रहेको फक्स न्युजले उल्लेख गरेको छ। इराकमा रहेका नेपाली कामदार असुरक्षित रहेकोप्रति आफूहरूको ध्यानाकर्षण भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताउनुभयो। यद्यपि नेपालीहरूलाई विद्रोहीले आफ्नो नियन्त्रणमा लिएकोबारे आफूलाई बुधबार साँझसम्म खबर प्राप्त नभएको उहाँले बताउनुभयो। ‘सरकार त्यहाँको अवस्था बुझ्न प्रयत्नशील छ’, उहाँले भन्नुभयो– ‘नेपालीहरू अपहरणमा परेको भन्ने खबर अहिलेसम्म आएको छैन।’ वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीबहादुर कार्कीले समेत यस्तो खबर प्राप्त नभएको जानकारी दिनुभयो।
वैदेशिक रोजगारका लागि सरकारले इराक जान प्रतिबन्ध लगाए पनि भारतसहित दोस्रो मुलुक भएर त्यहाँ पुग्ने नेपालीको संख्या रोकिएको छैन। २०६१ भदौ १६ गते रोजगारका सिलसिलामा इराक पुगेका १२ जना नेपालीको अपहरण गरी हत्या गरेपछि इराकमा रोजगारीका लागि नेपालीलाई प्रतिबन्ध गरिएको थियो। त्यसयता इराक पुग्ने नेपाली कामदारको संख्या र अवस्था पत्ता लगाउने क्रम जारी रहेको राज्यमन्त्री गुरुङले जानकारी दिनुभयो।
इराकमा रहेका नेपाली कामदारको संख्या पत्ता लगाउने काम भइरहेको छ, उहाँले भन्नुभयो– ‘अहिलेसम्म करिब १५ हजार नेपाली त्यहाँ रहेको अनुमान गरेका छौं।’ सन् २०११ पछि इराकको शान्ति सुरक्षामा खटिएका विदेशी सैनिक स्वदेश फर्किएपछि त्यहाँका मुस्लिम समुदायबीच द्वन्द्व चर्किंदै आएको छ। पछिल्लो समयमा सुन्नी इस्लामिक लडाकूले आदिवासी समुदाय बसोबास गर्ने तल–अफर शहर नियन्त्रणमा लिएपछि शान्ति सुरक्षाको अवस्था बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि विद्रोही लडाकूले मोसुल र टिक्रिस शहर नियन्त्रणमा लिएका थिए। त्यहाँको बिगँ्रदो सुरक्षा अवस्थाको अन्त्य नभएसम्म इराकको भ्रमण नगर्न नेपाली नागरिकलाई सरकारले आग्रह गरेको छ।
नेपालसमाचरपत्रबाट