इराकको नेपाली कथा

486
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) :
रको सबभन्दा गहिरो पत्रमा सायद, प्रेम हुन्छ । यसैले होला, मानिस मृत्युको सबभन्दा नजिक पुग्दा वा अत्यासले च्यापेर निसास्सिँदा सबभन्दा प्रिय मानिस सम्झन्छ । रामेछाप सुकाजोर-३ का ३० वर्षे विष्णु बस्नेतलाई असार मध्यतिर यस्तै भो । इराकी सत्ताकब्जा गर्न लडिरहेका सुन्नी मुसलमानको एक समूहले बन्दी बनाएर राख्दा उनलाई आफ्नो त्यो छोराको सम्झना आयो, जो उनी कमाउन इराक उड्दा जन्मिएको थिएन ।

बुधबार बिहान ललितपुरको थसिखेल चोकमा विष्णुले करिब एक महिना पुरानो त्रासदी बताइरहँदा भर्खर चार वर्ष पुग्न लागेका उनका छोरा विवेक आफ्नो बाबुलाई एकटक हेरिरहेका थिए । आँखाभरि गाजल र निधारमा पनि गाजलकै टीका लगाएको छोरालाई बोकेर चोकमा आइपुग्दा विष्णुको खलखली पसिना बगिरहेथ्यो । विद्रोह गरेर बाहिर निस्कुँलाझैं गरी उनका हातका नसा फुलेका थिए ।

कुनै अखण्ड पुराणमा दियो बलेझैं निरन्तर धूलो उडिरहने चक्रपथमा छोरालाई डोर्‍याएर फोटो खिच्दा उनको मन शान्त थियो । तीन वर्ष दुबई र १४ महिना कतारमा काम गरेर फर्केपछि अलि बढी कमाउने ठाउँको खोजीमा ३ वर्ष १० महिनाअघि उनी इराक हिँडेका थिए । १० कक्षासम्म पढेर काठमाडौं झरेका उनी चापागाउँको कागज कारखानामा एक वर्ष काम गरेपछि वैदेशिक रोजगारीमा लागेका थिए ।

‘म अफगानिस्तान भनेर हिँडेको थिएँ,’ उनले सुनाए, ‘त्यहाँ युद्ध छ कमाइ हुन्छ भनेको थियो ।’ इराक र अफगानिस्तानमा अमेरिकी सैनिक बसेकाले तिनको क्याम्पमा काम गर्नेले डलरमा तलब पाउने आसमा थुप्रै नेपाली गएका छन्् । अमेरिकी सेनाको ‘बेस क्याम्प’ मा काम पाउन विष्णुले मेलम्चीतिरका एक एजेन्टलाई १ लाख ८५ हजार बुझाए । तर पछि अफगानिस्तान लान नसक्ने भनेपछि उनी इराक जान तयार भए ।

२०६१ भदौमा इराक गएका १२ नेपालीलाई एउटा आतंकवादी समूहले अपहरण गरी हत्या गरेको विरोधमा भदौ १६ गते काठमाडौंमा तोडफोड र आगजनी भएको थियो । त्यसपछि सरकारले इराकमा काम गर्न जान प्रतिबन्ध लगाएको छ । विष्णुलाई यो कुरा थाहा थियो । तर पनि परिवारमा प्रशस्त जग्गाजमिन नभएका, हातमा ठूलो डिग्रीको सर्टिफिकेट नभएका तर जिम्मेवारीको बोझ बोकेका उनी सन् २०१० को सेप्टेम्बरमा १० दिनको टुरिस्ट भिसामा इराक हिँडे । उनी हिँडेको डेढ महिनापछि छोरा जन्मिएका थिए ।

—————–

त्यसै वर्ष जुनमा इराक पुगेका झापा खजुरबारीका प्रेस गिरीसँग विष्णुको कुनै सम्बन्ध वा चिनजान थिएन । धनकुटाका इन्द्रकुमार लिम्बु, मोरङका मोहनकुमार बस्नेत र दाङका टोपबहादुर बस्नेतसँग पनि यिनको इराकले नै परिचय गराइदियो । डरलाग्दो परिचय । प्रेम गिरीको नाम नागरिकताको सिफारिस बनाउने बेला हिज्जे बिगि्रएर ‘प्रेस’ बन्यो । उनले यही नाममा सन्तोष माने ।

जिन्दगीमा यसरी धेरै चिजका हिज्जे बिगि्रए । अमेरिकी सेनाको क्याम्पमा महिनाको १५ सय डलर पाइन्छ भनिएको जागिर आखिरीमा पाउँदै पाइएन । ६ महिना काम गरेको होटलमा निस्किने बेला २ महिनाको मात्रै तलब पाइयो । गतिलै काम पाएका बेला युद्ध सुरु भयो । आईएसआईए नामक समूहको बग्दादी भन्ने नेताले सुरु गरेको युद्धले गर्दा लुक्दै, भाग्दै देश फिर्नुपर्‍यो । नेपाल सरकारले उद्धार गरेर अघिल्लो शुक्रबार साउन २ गते राति १०:३० मा काठमाडौं ल्याइपुर्‍याएका ११ नेपालीमध्ये धेरै इराकका विभिन्न सहरमा भवन बनाउने काम गर्थे ।

विष्णु, इन्द्रकुमार, अनिल चौधरी र सुवास मादी इराकको अरविल सहरमा काम गर्थे । प्रेस, मोहन र टोपबहादुर टिक्रिटमा । यिनको भेट भयो टर्कीको सीमा नजिकै किर्कुक सहरको एउटा होटलमा ।

—————–

सहरबाट विस्तारै मानिस बाहिर जान थालेका थिए । स्थानीय इराकी पनि अरू ठाँटितर जाँदै थिए । तर केही भइरहेछ भन्ने थाहा थिएन । अब नेपालै फर्किने भनेर विष्णुले जुलाई १ मा काम छोडिसकेका थिए । घरमा खबर भइसकेको थियो । आउने तयारी चलिरहेको थियो । विद्रोहीले सहरमा धावा बोले । भागाभाग भयो । सबभन्दा पहिले सहरबाट प्रहरी भागे । त्यसपछि अरू सरकारी कर्मचारी । विष्णुहरूले काम गरिरहेको कन्स्ट्रक्सन कम्पनी सरकारी थियो । यसैले बसिराख्नु खतरा हुन्थ्यो । किनभने हमलाकारीले सरकारी भवन र कार्यालय खोजीखोजी उडाइरहेका थिए । उता, टिक्रिटमा पनि यस्तै थियो । प्रेस गिरीको टोली यस्तै सरकारी कन्स्ट्रक्सनमा थियो । त्यहाँ पनि स्थानीयले सहर छोडिरहेका थिए । जुलाईको पहिलो साता एक बिहान काम सकेर खाना खान कोठामा आएका बेला काम गरिरहेको भवनलाई विद्रोहीले बमले उडाइदिए । सद्दाम हुसेन जन्मिएको र लुकेर बसेको अवस्थामा पक्राउ परेको टिक्रिट सहर यी नेपालीका लागि सुरक्षित रहेन ।

सरकारी भवनमा बस्न नहुने भएपछि अवरिल र टिक्रिट दुवै सहरका नेपाली कामदारले आफ्नो काम छोडे । र, स्थानीय इराकीको शरणमा गए । दुवै टोलीसँगै काम गर्ने इराकीको टोलीमा तीन-चार दिन बस्यो । जब त्यहाँबाट नयाँ सेल्टरको खोजीमा निस्कियो, अनि यिनको कथा फरक हुन पुग्यो । विष्णु, इन्द्रकुमार, अनिल र सुवासको टोली बसेको ठाउँमा चौथो दिन आकाशमा हेलिकप्टर आइपुग्यो । यो सरकारी हेलिकप्टर थियो । जमिनबाट विद्रोहीले ताकेर बन्दुक पड्काउन थाले । दोहोरो भिडन्त सुरु भो । अब यो ठाउँ पनि बस्न लायक रहेन । तर दस दिनको भिसा करिब चार वर्ष अगाडि सकिएको पासपोर्ट लिएर कहाँ जाने ? कसरी जाने ? सेल्टरमा सँगै काम गर्ने बंगलादेशी, पाकिस्तानी र टर्किस पनि थिए । सबैले सल्लाह गरे, विद्रोहीले पहिले नै कब्जा गरिसकेको सहर सुलेमानी जाने । ‘सरकारै नभएको ठाउँमा हामीलाई कुनै खतरा हुन्थेन, त्यो पूरै विद्रोहीको कब्जामा थियो, त्यहाँ कुनै भिडन्त हुन्थेन,’ विष्णुले त्यो ठाउँबारे भने । सबै व्यवस्था स्थानीयले मिलाए । भोलिपल्ट पहिलो लटमा १४ जनालाई बोकेर एउटा गाडी निस्कियो । बाटोभरि सरकारी प्रहरीका चेक पोस्टमा विद्रोही थिए । उनीहरूले सरकारी प्रहरीले जसरी नै जाँच गर्थे । यसैले गाडीमा लैजानेले सबैलाई मोबाइल स्विचअफ गर्न भनेका थिए । यसको परिणाम के भयो भने, दोस्रो लटको गाडी पनि वास्तविकता नबुझी निस्कियो, जसमा विष्णुसहित चार नेपाली थिए । १८ जना लिएर हिँडेको यो गाडी विद्रोहीको फेला पर्‍यो । अघिल्लो गाडीबारे यो टोलीलाई केही थाहा थिएन । गाडीका चालकलाई आँखामा पट्टी बाँधेर विद्रोहीले लगे । यात्री अपहरणमा परे । गाडी अपहरणकारीले चलायो । एउटा ठूलो क्याम्पभित्र गाडी छिराइयो । केहीबेरमा सबैलाई गाडीबाट ओरालियो र लाइनमा उभ्याइयो । यतिबेलै हो विष्णुले आफ्नो छोरा सम्झिएको । ‘लाइन लगाएपछि लाग्यो, अब हामीलाई गोली हान्दै छ,’ उनले त्यो क्षण सम्झिए र एक पटक अगाडि बसेका छोरालाई हेरे र भने, ‘छोरै नभेटी मर्ने भएँ भन्ने लाग्यो ।’ तर विद्रोहीले केही गरेन । बरु अगाडि नै गएको गाडीका मानिस पनि यही लाइनमा भेटिए । पहिलो गाडी अपहरणमा परिसकेको थियो भन्ने उनीहरूलाई बल्ल थाहा भयो ।

—————–

टिक्रिटको टोली अपहरणमा परेन । बरु ताप्केबाट निस्केर भुंग्रोमा परेजस्तो भयो । बसिरहेको ठाउँबाट अलि सुरक्षा खोज्दै यो टोली छेवैको एउटा सरकारी अस्पतालमा पुग्यो । पुगेको केही क्षणमा उनीहरूलाई थाहा भयो, यो त झन् विद्रोहीकै अखडा रहेछ ।

अस्पताल छेउमा नयाँ भवन बनिरहेको थियो । बंगलादेशी कामदार काम गरिररहेका थिए । अस्पतालमा भने भारतीय नर्सहरू थिए । पछि भारत सरकारले ४६ जना नर्सको एकैचोटि उद्धार गरेको थियो । अवरिलको भवनजस्तै यो अस्पताल क्षेत्र पनि केही दिनमै रणभूमिमा परिणत भयो । आकाशबाट सरकारी र जमिनबाट विद्रोहीले फायर गर्न थाले । ‘अस्पताल परिसरमा भएका रेलका डिब्बाजस्ता यांकमा बसेर नबाँचिने भइयो भन्ने लाग्यो,’ प्रेसले भने, ‘यसैबेला एउटा इराकी उद्धारक बनेर आइपुग्यो ।’ सेवानिवृत्त सैनिकले आफ्नै गाडीमा राखेर यो टोलीलाई टर्कीको सीमामा पुर्‍याउने भयो । सबैसँग सय-सय डलर लिने गरी हिँडेको यो गाडीवाला भोलिपल्ट बिहानै आइपुग्यो । डलरका साथै सबैको पासपोर्ट उसले माग्यो । अघिल्लै दिन उनीहरूले इराकी साथी लगाएर काम गर्ने ठाउँबाट पासपोर्ट ल्याइसकेका थिए । ‘उसले हामीलाई केही नबोल्न निर्देशन दियो,’ उनले सुनाए ।

गाडीवालाले अनेक चोर बाटो समाउँदै चेकपोस्ट छल्दै उनीहरूलाई कुदाइर्‍यो । विद्रोही भेटिएका ठाउँमा उसले आफ्ना यात्रीको परिचय कहिले पाकिस्तानी त कहिले बंगलादेशीका रूपमा दियो । नेपाली र अंग्रेजी लिपि नै नबुझ््ने भएर होला विद्रोही पासपोर्टमा खाली फोटो हेर्थे, बाँकी केही हेर्थेन । उसले उनीहरूलाई बाचा गरेअनुसारै टर्की सीमा नजिक पुर्‍याइदियो ।

‘विद्रोहीले हमला सुरु गरेदेखि नै हामी पाकिस्तानी दूतावासका नेपाली अधिकारीहरूको सम्पर्कमा थियौं,’ प्रेसले सुनाए, ‘उहाँहरूको सहयोगले उद्धार भएको हो ।’ किर्कुक पुगेपछि उनीहरू त्यही होटलमा पुगे, जहाँ पाकिस्तानी दूतावासका तीर्थराज अर्याल र राजदूत भरतराज पौडेलको सहयोगमा विष्णुको टोली पहिलेदेखि नै बसिरहेको थियो ।

यहाँसम्म आइपुग्न विष्णुको टोलीलाई झनै गाह्रो भएको थियो । अपहरण गरेर क्याम्पमा पुर्‍याएको दुई दिनसम्म उनीहरूलाई बोल्न दिइएन । मुखमा मास्क लगाएका र हातमा बन्दुक बोकेका मानिसले पहरा दिइरहन्थे । तेस्रो दिन उनीहरूको अन्तर्वार्ता भयो । कुन देशका हौ ? कुन धर्म मान्छौ ? यहाँ किन आएको ? के काम गर्छौ ? आदि । ‘धर्म सोधेपछि चाहिँ डर लाग्यो,’ धरान आइपुगेर एक वर्षअघि दिवंगत आमाको काम सकेर चोखिएका इन्द्रकुमार लिम्बुले फोनमा भने, ‘हामीले मुसलमान हौं भन्यौं ।’

यसो भन्न उनीहरूलाई सँगै भएका पाकिस्तानी र टर्किसले सिकाएका थिए । ‘हामीले इराक आएपछि यो धर्म लिएका हौं भन्यौं,’ उनले सुनाए, ‘त्यसपछि हामीलाई नमाज पढ्न भने ।’ पाकिस्तानी र टर्किसले पहिले नै नमाज पढ्ने तरिका हल्का सिकाइसकेका थिए । सायद, उनीहरूलाई यस्तो हुन्छ भन्ने थाहा थियो होला । उनीहरूले पढेर देखाए । ‘राम्ररी पढ्न नसकेपछि उनीहरूले हामीलाई सिक्ने समय दिए,’ विष्णुले भने । यसरी मुसलमान साथीको सहयोगले उनीहरूले आफ्नो परिचय लुकाउन सफल भए ।

कब्जामै रहेका बेला कसैले विष्णुलाई सुनायो, विद्रोहीले मार्ने भए भने पनि एक जनासँग कुरा गर्न दिन्छन् रे ! उनले तत्काल निर्णय गरे, यदि त्यस्तो भयो भने छोरासँग कुरा गर्छु । फोनमा उनले पहिले पनि छोरासँग कुरा गरेका थिए, फोटोहरू हेरेका

थिए । तर त्यस्तो दिन आएन । चार दिन राखेपछि उनीहरूलाई पासपोर्ट फिर्ता दिइयो र छाडियो । समूहका सुवासले नेपालीमै उनीहरूको भिडियो रेकर्डिङमा बोले, ‘उहाँहरूले हामीलाई राम्रो व्यवहार गर्नुभयो, पिटपाट गर्नु भएन, दुःख दिनु भएन..’

आदि । एउटा समूहले भिडियो खिचेर १२ जना नेपालीको हत्या गरेको १० वर्षपछि अर्को समूहले भने भिडियो खिचेर रिहा गर्‍यो । यो टोली पनि पाकिस्तानी राजदूतावाससँग पहिले नै सम्पर्कमा थियो । सीमाको सहर किर्कुकमा पुर्‍याएर विद्रोहीले छोडेपछि उनीहरू दूतावासको सहयोगमा एउटा होटलमा बसे । त्यहीं प्रेस गिरीहरू र अर्को समूह आइपुग्यो । २६ दिन यो होटलमा बसेपछि ११ जना नेपालीको टोली दुबई हुँदै काठमाडौं आइपुग्यो ।

—————–

मंगलबार बिहान भेट्दा प्रेससँग उनकी पत्नी चन्द्रकला पनि थिइन् । तीन छोरीलाई दमकमा छाडेर उनी शनिबार पति भेट्न आइपुगेकी थिइन् । ‘कान्छी छोरीलाई ल्याएको भए हुने,’ प्रेसले उनलाई भने । हँसिलो मुद्रामा देखिने यो दम्पती योजना बनाइरहेको थियो, भोलि भक्तपुर घुम्ने, पर्सि मनकामना जाने र झापा फर्किने । ‘हाम्रो भाकल छ, दुःख परेका बेला भगवान् सम्झिदोरहेछ,’ उनले भने ।

प्रेसलाई अब विदेश जानु छैन । इराक र अरू खाडी देशले अब उनलाई पुग्यो । ‘विदेश नगएर के गर्नु ? यहाँ गर्ने काम छैन, न गरिखान जग्गाजमिन छ,’ सँगै बसेकी चन्द्रकलाको दुखेसो थियो । विष्णुले चाहिँ निर्णय गरिसकेका छन्, अब विदेश जान्न । कतार र दुबई पछि इराक पुगेका उनलाई लागेको छ, दुःख जहाँ गए पनि उस्तै हो । ‘यतै कपडा र टेलरिङको पसल खोल्छु,’ उनले योजना सुनाए । उनकी बहिनीको पहिले नै काठमाडौंमा यस्तो पसल छ । यसैले पनि उनलाई यो काममा सजिलो होला भन्ने लाग्छ ।

कुराकानी सकेर फर्किने बेला विष्णुले छोरालाई बोकेर हिँडे । चक्रपथको गाडीको लस्कर कटेर थसिखेलतिर छिर्नुअघि उनले भने, ‘छोरालाई म काठमाडौंको बोर्डिङ स्कुलमा पढाउँछु…।’ बाँकी वाक्य उनले पूरा गरेनन् जसको अर्थ सायद, ‘विवेकले मैलेजस्तो दुःख पाउन नपरोस्’ भन्ने थियो होला ।
कान्तिपुरबाट


  •  
  •  
  •