पैसा ठिक्क पारेर राख्नुस्, यी कम्पनीको आउँदैछ आइपीओ

60
  •  
  •  
  •  

काठमाडौं । दुई वटा कम्पनीको आइपीओ छिट्टै आउने भएको छ । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। यस आईपीओको निष्कासन बन्द छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।
आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको आइपीओको रिजल्ट निकालेर दशैं अघि नै बहुचर्चित मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार दसैँअगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन हुने प्रबल सम्भावना छ। मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले पनि दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने बताए।
नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ। शिवाकोटीका अनुसार पहिलो चरणको आईपीओको बाँडफाँड आगामी सातासम्म बाँडफाँड गरिसक्ने लक्ष्य राखिएको छ।


  •  
  •  
  •