काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको हो ।

आईपीओमा १० लाख ४९ हजार ४७ जना योग्य आवेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । कुल १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आवेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आवेदन रद्द भएको छ ।
माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता शेयर पाएका छन् ।
बाँकी रहेका ५ लाख ९ हजार ४७ जना अर्थात कुल आवेदक मध्ये ४८.६२ प्रतिशतको खाली भएको छ । कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।