आइपीएलमा दिल्लीसँग राजस्थान पराजित

368
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख (ओएनएस) : इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत बुधबारको खेलमा दिल्ली डियरडेभिल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

वर्षाले प्रभावित भएको खेलमा दिल्लीले डकवर्थ लुइस नियमका आधारमा राजस्थानलाई चार रनले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा दिल्लीले १७ ओभर १ बलमा ६ विकेटको क्षतिमा १ सय ९६ रन बनायो।

खेल वर्षाले प्रभावित भएपछि राजस्थानले १२ ओभरमा १ सय ५१ रन बनाउनु पर्ने लक्ष्य पायो । तर उसले पाँच विकेटको क्षतिमा १ सय ४६ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका जोस बट्लरले विस्फोटक ६७ तथा जोन म्याथ्यु शर्टले ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दिल्लीका ट्रेण्ट बोल्टले दुई विकेट लिए। बटलरले मात्र २६ बलमा ७ छक्का र ४ चौका सहित ६७ रन बनाए भने शर्टले २५ बलमा ४ छक्का र २ चौका सहित ४४ रन बनाएका थिए।

फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले १७ ओभरमा एक बलमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो।

उसका लागि ऋषभ पन्तले ६९, कप्तान श्रेयस ऐयरले ५० र पृथ्वी शाले ४७ रन बनाएका थिए। आक्रामक ब्याटिङ गरेका ऋषभले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए।
यस्तै, ऐयरले ३५ बलमा अर्धशतक पूरा गरे भने पृथ्वीले २५ बलमा चार चार छक्का र चौका प्रहार गरेका थिए।

९ खेलमा तेस्रो जित दर्ता गरेको दिल्ली ६ अंकसहित छैटौँ स्थानमा छ। ८ खेलमा तीन खेल जितेको राजस्थान ६ अंकसहित सातौँ स्थानमा रहेको छ।


  •  
  •  
  •