आईपीएलः पञ्जावको जितमा गेल बने नायक, हैदरावाद स्तब्ध

326
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गत बिहीबार रातिको खेलमा किंग्स् एलेभेन पञ्जावले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।

पञ्जावको घरेलुु मैदान चण्डिगढमा भएको खेलमा हैदरावाद १५ रनले पाखा लागेको हो। पञ्जावका लागि वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिस गेलले शतकीय रनको विस्फोटक पारी खेलेका थिए। ६३ बलको सामना गरेका उनले अविजित १ सय ४ रन बनाए। गेलले ११ छक्का प्रहार गरेका थिए।

पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे ।

त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे।

यस्तै, करुण नैरले पनि ३१ रनको योगदान दिए भने केएल राहुल र मायांक अग्रवालले १८–१८ रन जोडे ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनमा समेटिएको थियो। हैदराबादका केन विल्ह्यामसन (५४) र मनिष पाण्डे (५७) ले अर्धशतक पार गरेका थिए भने शकिव अल हसनले २४ रन बनाए।

हैदराबादलाई हराउनका लागि बलिङ तर्फ मोहित शर्मा र एन्ड्रु टाईले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो।

तेस्रो जित हात पार्दै पञ्वावको लिग तालिकामा ६ अंकसहित तेस्रो स्थानमा छ। हैदराबाद पनि समान अंकसहित दोस्रो स्थानमा छ । पञ्जाव, हैदारावाद र कोलकाता नाइट राइडर्सको समान ६ अंक छ।

आजको खेलमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स भिड्नेछन्।


  •  
  •  
  •