रक्षा रेग्मी
काठमाडौं ,२८ (ओएनएस) । नेपालमा उत्पादन हुने इण्ट्राओकुलर लेन्स (आइओएल) विभिन्न ७० मूलुकमा निर्यात हुदै आएको छ । चीन, बङगलादेश, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, मलेसीया, इजीप्टलगायत १३ मूलुकमा यस्ता लेन्सको प्रत्यक्ष वितरण गरिँदै आएको छ ।
त्यस्तै थाइल्याण्ड, इथोपिया, भियतनाम, कम्वोडियालगायत ७० मूलुकमा अप्रत्यक्ष रुपमा आइओएल निर्यात हुँदै आएको तिलगङ्गा आँखा अस्पतालका बजार तथा विक्री व्यवस्थापक सन्तोष शर्माले बताए । आइओएल लेन्स मोतिविन्दु भएका मानिसहरुका लागि उपयोगी प्राकृतिक लेन्स हो ।
नेपालबाट बार्षिक २ लाख २० हजार पीस आइओएल लेन्स निर्यात हुने द फ्रेड हलोज आइओएल ल्याव,तिलगङ्गा आँखा अस्पतालले जानकारी दिएको छ । यसको निर्यात वार्षिक १५ प्रतिशतका दरले बढ्दै गएको उनले जानकारी दिए । नेपालमा उत्पादन हुने यस्ता लेन्स तुलनात्मक रुपमा गुणस्तरीय तथा सस्तो भएकोले निर्यात बढेको हो । नेपालमा तिलगङ्गा आँखा अस्पतालले मात्र यस्तो लेन्सको उत्पादन तथा निर्यात गर्छ ।
अस्पतालले २०५३ सालदेखि आइओएल लेन्स उप्तादन तथा निर्यात गर्दै आएको छ । हालसम्म ३९ लाख २० हजार २ सय लेन्स उत्पादन गरेको अस्पतालले जानकारी दिएको छ । त्यसमध्ये ३८ लाख ३१ हजार २ सय ३१ विक्री भइसकेको शर्माले बताए ।
नेपालमा वार्षिक ४ लाख पीस आइओएल लेन्स उत्पादन हुन्छ । उत्पादित लेन्सको ४० प्रतिशत प्रतिशत विदेश निर्यात हुन्छ भने वाँकी स्वदेशमै खपत हुन्छ । अहिले आइओएल लेन्सको बजार मूल्य २ सय ४० देखि २ सय ६० रूपैयाँसम्म पर्न आउछ ।
पछिल्लो समय नेपालमा मोति विन्दुको रोगीहरुको सङख्यामा भएको वृद्धिसँगै स्वदेशमै यसको खपत बढेको अस्पतालले जनायो । तिलगङ्गाले विदेशका साथै नेपालभरका अन्य आँखा अस्पतालमा पनि आइओएल लेन्स विक्री गर्दै आएको छ । त्यसैगरी समय समयमा भइरहने विभिन्न ‘आइ क्याम्प’ मार्फत संस्थागत सामाजिक उत्तदायीत्व वहन गर्दै निःशुल्क लेन्स वितरण गर्दै आएको छ ।
हाल गरिएको भन्दा नेपालबाट अँझ धेरै निर्यात गर्न सकिने भए पनि गुणस्तर कायम गर्नका लागि सिमित सङख्यामा मात्र विदेश पठाइने शर्माले बताए । ‘आइओएल लेन्स निर्यात गर्नुको प्रमुख उद्देश्य भनेकै नेपाली जनतालाई सूपथ मूल्यमा लेन्स उपलब्ध गराउनु हो’, उनले भने । आइओएल लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ( पोलीहेमा) अमेरीका, नेदरल्याण्डलगायत देशबाट आयात गरिन्छ ।
त्यसैगरी लेन्स उत्पादन गर्ने मेसिन (ड्याक) अमेरिका बाट आयात गरिएको बजार तथा विक्री व्यवस्थापक शर्माले जानकारी दिए ।