काठमाडौँ, १३ कात्तिक : चीनबाट पनि इन्धन ल्याउन समझदारी (एमओयू) भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको हो । ‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् ।
एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो । निगमका अनुसार बिहीबार ९ ट्यांकर पेट्रोल, ६७ ट्यांकर डिजेल र ७ ट्यांकर हवाई इन्धन भरिएका छन् । भन्सारमा अवरोध नभए सबै ट्यांकर नेपाल भित्रिनेछन् ।
भारतले अघोषित नाकाबन्दीसँगै इन्धन लोड पनि कटौती गर्दै आएको थियो । केही साता १० प्रतिशत लोडको नीति लिएको आईओसीले केपी ओली प्रधानमन्त्री निर्वाचित भएको ३ दिनपछिसम्म ३५ प्रतिशत पुर्याएको थियो । त्यसपछि फेरि १० प्रतिशतमै झारेको थियो ।
आईओसी र निगमबीच कुराकानी हुँदा पनि प्रतिबद्धताअनुसार इन्धन लोड हुन दिएको थिएन । नेपाल र चीनबीच बुधबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्ष्ार भएपछि भने आईओसी हच्किएको भारतीय सञ्चार माध्यमहरूको समेत बुझाइ छ ।
भारतीय अनलाइन पत्रिका बिजनेस स्ट्यान्डर्डका अनुसार आईओसी नेपाल जस्तो लामो समयको व्यापारिक साझेदारलाई गुमाउन चाहँदैन । तेल उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पत्रकारहरूसँग छुट्ट्रै बोल्दै आईओसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक बी अशोकले आपूर्ति बढाउने जानकारी समेत दिएको अनलाइनमा उल्लेख छ । ‘हाम्रो नेपालसँग चार दशक पुरानो सम्झौता छ । पछिल्लो समय आपूर्ति केही कम भएको छ ।
आन्दोलन केही कम हुनेबित्तिकै आपूर्ति बढाउँछौं,’ उनलाई उद्धृत गर्दै अनलाइनले लेखेको छ । चीनसँग नेपालले गरेको समझदारीबारे भने उनले ‘पर्खौं र हेरौं’ भन्ने प्रतिक्रिया दिएको पनि उक्त अनलाइनले जनाएको छ ।
चीनसँगको सम्झैतापछि इन्धन आपूर्तिमा भारतको एकाधिकार तोडिएको छ । निगमले २०३१ सालबाट आईओसीबाट इन्धन आयात गर्दै आएको छ । सम्झैता पाँच वर्षमा नवीकरण हुन्छ । सम्झौताअनुसार नेपालले चाहेको अवस्थामा अन्य मुलुकबाट पनि इन्धन आयात गर्न सक्छ । तर, अन्य मुलुकबाट इन्धन आयात गर्दा महँगो र कठिनाइ भएकाले अहिलेसम्म आईओसीबाट मात्रै लिँदै आएको थियो ।
अहिले विशेष परिस्थिति भएकाले अन्य मुलुकसँग आयात अनिवार्य भएको निगमका अधिकारीले बताए । ‘चीनसँगको सम्झैतापश्चात् एकाधिकार तोडिएको छ । जसले गर्दा आईओसी केही नरम भएको जस्तो देखिन्छ,’ निगमका एक अधिकारीले भने, ‘त्यसैले लोड बढाएको हुन सक्छ ।’ ती अधिकारीका अनुसार इन्धनको लोड बढाएको भन्नेबारे औपचारिक जानकारी गराएको छैन । उनले भने, ‘तर, विगतको तुलनमा धेरै ट्यांकरले लोड पाएका छन् ।’
निगमका अनुसार सबैभन्दा बढी रक्सौल नाकाबाट इन्धन भित्रिन्छ । ती नाकाबाट ७० प्रतिशत आयात हुन्छ । तर, रक्सौल नाकाबाट महिनायता इन्धन आयात भएको छैन ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भारतबाट सवा खर्ब रुपैयाँको इन्धन आयात भएको थियो । यहाँ एकाधिकार जमाउँदै आएको आइओसीका लागि नेपाल मुख्य बजार हो । निगमका अनुसार इन्धन खपत प्रत्येक वर्ष १२ देखि १५ प्रतिशतले बढदै गएको छ । इन्धनको माग बर्सेनि बढ्न थालेपछि आईओसीले मागअनुसार पूर्ति गर्न सकिरहेको थिएन ।
– कान्तिपुर दैनिकबाट