नेपालका ९ जिल्लामा एनआरएनको १४ अर्ब लगानी

68
  •  
  •  
  •  

काठमाडौं, २६ असोज(ओएनएस): गैरआवासीय नेपाली(एनआरएन) ले नेपालका विभिन्न नौं जिल्लामा १४ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ ।
एनआरएनसँगको सहकार्यमा आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको प्रारम्भिक चरणको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनले नौ ओटा जिल्लाका सेवा, उद्योग, पूर्वाधारलगायत क्षेत्रमा उक्त लगानी भएको देखाएको छ ।
अध्ययनले काठमाडौं, भक्तपुर, ललितपुर, बाग्लुङ, कास्की, मकवानपुर, गोर्खा, चितवन र सिराहमा  १४ अर्ब लगानी रहेको देखाएको हो ।

तर, लगानीको परस्कृत प्रतिवेदन भने आई नसकेको सेजनका अध्यक्ष विज्ञान अधिकारीले बताए । एनआरएनका सदस्यहरुले आफूले गरेको लगानीका बारेमा खुलेर जानकारी नदिएकोले अध्ययन प्रतिवेदन परिस्कृत हुन नसकेको उनले जानकारी दिए । एनआरएनले सूचना तथा जानकारी दिन आनाकानी गरेपछि अध्ययनबाट अपेक्षाकृत तथ्यांक प्राप्त नभएको अध्ययनका संयोजक पत्रकार प्रेख खनालले बताए ।

नौ ओटा जिल्लामध्ये एनआरएनको लगानी सवैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको पाइएको छ । काठमाडौं उपत्यकामा एनआरएनको १० अर्ब रुपैंँया बराबरको  लगानी रहेको छ ।

अध्ययनले  ती जिल्लाका २५ ओटा सेवा उद्योग, ७ कृषि, ४ ओटा उत्पादनमूलक र ३ ओटा पूर्वाधारमा एनआरएनको लगानी रहेको देखाएको हो । एनआरएनको लगानी रहेको ती उद्योग व्यवसायबाट जम्मा  २ हजार ४ सय ७३ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै एनसेल, सानिमा बैंक, कान्तिपुर टेलिभिजनलगायत ठूला व्यवसायिक फर्ममा एनआरएनले लगानी गरेपनि यसको जानकारी उपलब्ध नगराइएको सेजनले जानकारी दिएको छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा एनआरएनको लगानीले मुलुकमा ठूलो उथलपुथल ल्याउने बताए ।

सोही अवसरमा एनआएनका निवर्तमान अध्यक्ष जिवा लामिछानेले कतिपय प्रश्नावली र प्रक्रिया नमिल्दा एनआरएन लगानीकर्ताले आफ्नो लगानीका बारेमा प्रष्ट जानकारी दिन नसकेको बताए ।

एनआरएन दिवस सम्पन्न

यसैविच गैरआवसीय नेपाली दिवस २०१४ काठमाडौंमा आइतवार सम्पन्न भएको छ ।

एनआरएनले १० दिनसम्म विभिन्न कार्यक्रम गरी आफ्नो दिवस मनाएको हो । दिवसको अवसरमा एनआरएन अध्यक्ष शेष घलेको ८ अर्ब लगानी रहेको सेराटन काठमाडौं होटलको शिलन्यास गरे ।

त्यस्तै, एनआरएनको लगानी, एनआरएनलाई नेपाली नागरिता, नेपालमा विदेशी लगानीलगायत विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।

दिवसका अवसरमा एनआरएनले सगरमाथा आरोहनका क्रममा ज्यान गुमाएका परिवारलाई सहयोग, खेलाडीलाई सम्मान, लम्जुङको नायूंमा रहेको विद्यालयको लागि ५० लाख सहयोगलगायत कार्यक्रम पनि गरेको थियो ।


  •  
  •  
  •