संसदमा धाँधली छानविनको ‘नौटकी’

297
  •  
  •  
  •  

काठमाडौ, ५ साउन (ओएनएस) संविधानसभा निर्वाचनमा भएको भनिएको ‘धाँधली’ छानविन गर्न गठित संसदीय समितिमा १० वटा उजुरी परेका छन् । निर्वाचनमा भएको भनिएको धाँधलीवारे उजुरी गर्न समितिले सार्बजानिक सूचना आह्वान गरेपनि जम्मा दशवटा उजुरी परेका हुन् । सद्भावना सभासद् लक्ष्मणलाल कर्ण संयोजकत्वको समितिले उजुरी माथि सोमबारदेखि छानविन सुरु गरेको हो ।

समितिमा एकीकृत माओवादी, संघीय समाजवादी पार्टी, राष्टिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, अधिवक्ता दिपेन्द्र झा लगायतले उजुरी हालेका छन् ।
एकीकृत माओवादीको उजुरीमा निर्वाचन प्रभावित गर्न नीतिगत, संस्थागत र प्रक्रिर्यागत धाँधली भएको जीकिर गरिएको छ ।

माओवादी पार्टी कार्यालयका मुख्य सचिव हितराज पाण्डेले मतपेटिका भण्डारणमा प्रविधिको सिल छाप मुचुल्का नभएको, आफ्नो दलका प्रतिनिधिलाई कतिपय ठाउमा नजरबन्द गरिएको र बाँकी रहेका मतपत्र मतदान अधिकृतले सेनालाई खुल्लै झोलामा बुझाएको उजुरी गरिएको छ । डा. लोहनीले निर्वाचन गराउन खटिएका केशव तिमिल्सिनाले धाँधली गरेको सयमको वातचितको रेकर्ड प्रमाणको रुपमा पेश गरेका छन् ।

संसदीय समितिमा अपेक्षित उजुरी नपरेको समितिका एक सभासद्ले बताए । एकीकृत माओवादी स्वयमले निर्वाचनमा पराजय हुनुमा पार्टीको आन्तरिक कारण प्रधान भएको निश्कर्ष निकालि सकेको छ । पार्टी प्रशिक्षण कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पराजय व्यहोर्नुमा पार्टीको आन्तरिक कारण नै प्रधान भएको बताएका थिए ।

निर्वाचनमा अनियमितता भएको भन्दै एमाओवादीले संविधानसभामा सहभागिता नजाने भन्दै ‘घुर्की’ लगाएपछि अन्य दलले संसदीय समिति गठनमा सहमति जनाएका थिए । धाँधली छानविन गर्न संसदीय समिति गठनको सहमति गरेर केही समय निश्क्रिय बसेको एमाओवादी संविधानसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा संसदीय समिति गठनको मुद्दालाई चर्काएपछि संसदले समिति गठन गरेको हो ।

संविधानसभा उप निर्वाचनमा माओवादीको हैसियत विगतमा भन्दा खस्किएपछि संसदीय छानविनको औचित्यवारे एमाओवादी मै प्रश्न उठेको थियोे । ‘अन्तराष्ट्रिय पर्यवेक्षकले नै निश्पक्ष भनेको निर्वाचनलाई संसदीय समितिले होइन कसरी भन्न सक्छ, समितिका एक सदस्यले भने–माओवादीको फेस सेभिङ गर्न गठित समितिबाट धेरै अपेक्षा नगरौ ।’


  •  
  •  
  •