तीन नेताबीच बालुवाटारमा सबै सहमति भएको थियो : महासचिव पोखरेल

123
  •  
  •  
  •  

ishwor pokharelनयाँ संविधानका मुख्य अन्तरवस्तुलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच पछिल्ला दिनमा बढेको संघियताको विवादसँगैको मोर्चाबन्दीले राजनीति नै धुव्रीकृत बनेको छ । कांग्रेस एमाले साझा अवधारणा अगाडि सारेर संयुक्त रुपमा उभिएका छन् भने एमाओवादी–मधेसी दलहरू जनजाति समुदायसमेतको साथ लिएर आन्दोलनको तयारीमा छन् । तीन शीर्ष नेताहरू गोकर्णमा समेत पुगेर वार्ता गरे तर हात लाग्यो शून्य भयो । तीनै वार्ताका साक्षी थिए एमाले महासचिव ईश्वर पोखरेल । कसरी बिग्रीयो बन्न लागेको सहमति ? के हुन्छ वार्तामा खास छलफल ? अनि एमालेभित्रको विवाद के हो ? यीनै विषयमा ओएनएसन्यूजले एमाले महासचिव पोखरेलसँग गरेको कुराकानी :-

संविधान जारी गर्ने माघ ८ को समयसीमा नजिकिँदै जाँदा सहमतिको आधारमा संविधान जारी गर्ने सम्भावना कत्तिको छ ?
– सहमति त चाहिन्छ । विषयमा सहमति वा विषयलाई टुंग्याउनका लागि प्रक्रियामा सहमति । अर्को कुरा, यो सहमतिको सन्दर्भमा हामीले अमूर्त तरिकाले कुरा गर्नुहुँदैन । राजनीतिक दलहरूले दोस्रो संविधानसभा निर्वाचनमा जारी गरेको घोषणापत्रमा के बोलेका छन् ? जनतासँग के कबुल गरेका छन् ? त्यो हेर्नुपर्यो । र, संविधानसभाभित्र निर्देशिका बनाउँदा के भनेका छन्, त्यो पनि हेर्नुपर्यो । त्यसमा आधारित भएर अहिले गाँठो परेका कुराहरुको पनि समाधान खोज्नुपर्छ ।

तर, सहमति भन्दाभन्दै माघ ८ त आउनै लागिसक्यो नि ?
– मैले अघि पनि भने, सके विषयमा सहमति हुनुपर्यो, भएन भने विषयलाई टुंग्याउने प्रक्रियामा सहमति हुनुपर्छ । र, यो सबैले पालना गर्नुपर्छ । संविधान भनेको सम्झौताको दस्तावेज हो । यो दस्तावेज संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पक्षबीचको सम्झौता हो । त्यो सम्झौता भन्नाले सम्बद्ध दलहरुका आफ्ना अडान आफ्ना ठाउँमा छन, ‘गिभ एण्ड टेक’को कुरा पनि हुन्छ । यो कुरालाई बुझेर प्रक्रियाबाट जाँदा विषयमा सहमतिका लागि निश्चित समयावधिभित्र पहल गर्ने र कसैलाई चित्त नबुझेमा भोली संशोधन गर्न सकिन्छ । तर, त्यसलाई मान्दिनँ भन्ने कुराचाँहि गलत हो ।

मिति गुज्रियो भने के हुन्छ ?
– अब त प्रक्रियामा जानैपर्छ । माघ ८ गतेको मिति तय गर्नु कति ठीक–बेठीक, त्यो आफ्नो ठाउँमा छ । तर, दलहरुले सबै परिप्रेक्ष्यसहित तय गरे । तय भइसकेको मितिमा संविधान जारी गरिएन भने पार्टीहरुको विश्वसनीयता घट्छ । जनताले पत्याउन छोड्छन् । त्यो स्थिति आउन दिनुहुँदैन । त्यसले गर्दा पनि प्रक्रियामा जानु आवश्यक छ ।

सबै मिलिसक्यो भन्दाभन्दै अन्त्यमा कुरा नमिल्नुको कारण के हो ?
– (एकीकृत) नेकपा माओवादीको अतिवादी विचारका कारणले सहमति हुन नसकेको हो । उसले जातीय आधारमा नाम राख्ने अडान लिएको छ । लोकतान्त्रिक ढंगले समस्या समाधान गर्ने कुरा नमानेकोले सहमति हुन नसकेको हो ।

दलहरूको बीचमा संख्या र जातीको कारण त देखिने हो तर भित्री कुरा त अर्कै छ पनि भन्छन् नी ?
– भन्दा आलोचना गरे जस्तो भए पनि साँचो कुरा यही हो । एमालेको आधारभूत अडान सुरुदेखि नै धेरै प्रदेश धान्न सकिन्न, मजाकजस्तो हुन्छ भन्ने हो । त्यसैले धेरै प्रदेश बनाउन सकिँदैन, बनाउनु पनि हुँदैन । हिजो जसले जे बोले पनि अब उन्नत चेतनाबाट जाँदा त्यो कुरा गर्नुहुँदैन । त्यसले अप्ठ्यारो पार्छ भनेका छौँ । र, त्यस्तो प्रदेशको नाम जातीय भावमा राख्नुहुँदैन । एमाओवादी यसैमा अडेर बसेको छ ।

कांग्रेस–एमालेबीचमै पनि संविधान जारी भएपछिको हैसियतलाई लिएर विवाद छ नि हैन ?
– अहिलेको सरकार एउटा राजनीतिक समझदारीको जगमा बनेको छ । जग भनेको एमाले–कांग्रसको सातबुँदे सहमति हो । सहमतिमा अरु थुप्रै कुरा छन् । संविधान बनेपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचन गरिन्छ । यो एमाले र कांग्रेसका ‘सी’, ‘डी’ क्लासका नेताको सम्झौता होइन । लामो छलफलपश्चात् शीर्ष तहमा तयार गरिएको हो । नयाँ फेज सुरु हुन्छ र अहिलेको स्थिति परिवर्तन गर्नुपर्छ भन्ने कुरामा सहमत भएर सम्झौता गरेका हौँ ।

जारी हुने संविधानमा त्यो कुरा उल्लेख गर्नुपर्ला नि ?
– राजनीतिक तहको समझदारीको कुरा हो यो । त्यो समझदारीलाई संविधानले कति बोक्नुपर्छ–पर्दैन, अलग कुरा हो । राजनीतिक सहमति भएर सम्झौता भएको हो । जहाँसम्म संविधानको कुरा छ, त्यो त विधिसम्मत ढंगले गरिन्छ ।

नेताहरूबीच जतिखेर पनि बैठक, छलफल, बिनानिष्कर्षका भेटघाट सुन्दा पनि वाक्क लाग्ने भइसक्यो जनतालाई । खासमा बैठकमा कस्तो कुरा हुन्छ ?
– जुन किसिमले बैठक आयोजना गरिन्छ, छलफल हुन्छ, म बैठकबाट प्रत्येकपटक निराश हुने गरेको छु । राजनीतिक संवाद समितिको बैठकको कुरा गरौँ, नेताहरुको प्रस्तुती देख्दै अस्वाभाविक लाग्छ । कस्तो लज्जाबोध हुन्छ । पेटमा अर्को कुरा राखेर अर्कै कुरा बोलेजस्तो लाग्छ । विशेष गरी माओवादीका नेताहरूमा यस्तो प्रवृत्ति छ । सञ्चार माध्यममा अर्कै कुरा गर्छन् ।

जस्तो ?
– जस्तो, प्रचण्ड बाहिर आन्दोलनको घोषणा गर्नुहुन्छ । पत्रकार सम्मेलनमा सहमतिको कुरा गर्नुहुन्छ । विचित्र लाग्छ । बालुवाटारमा तीन पार्टीका प्रमुख नेता बसेर कुरा गर्दा संघियताको बिषय सहित सबै बिषयमा सहमती बनेर उठ्नु भएको थियो । यसबारे अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा जानकारी पनि गराउनुभएको हो । भोलिपल्ट प्रचण्डको ‘टोन’ नै अर्को भयो ।

राजनीतिमा आ-आफ्नो दाउ त हुन्छ नी हैन ?
– जे भए पनि नक्कली कुरा गर्नुहुँदैन । राजनीतिक दलहरू अडान र दृष्टिकोणका आधारमा बाँच्छन् । विश्वसनीय हुन्छन् । अडान र दृष्टिकोण नहुने दल तथा नेताहरु विश्वसनीय हुँदैनन् ।

संविधान जारी गर्ने बेलामा छिमेकी मुलुकको चासो देखिँदैन ?
– सामान्य कुरामा चासो राख्ने छिमेकी संविधान लेखको कुरामा चासो नहुने त कुरा हुँदैन । तर, म त्यो पक्षलाई धेरै टिप्पणी गर्न चाहन्नँ । आफैँ सजग हुनुपर्छ । आफ्नो थैलीको मुख राम्रोसँग बान्नू र छिमेकीलाई दोष नलगाउनू भन्छन् नि ।

पहिलो संविधानसभा असफल हुनुमा बाह्य पक्षलाई पनि जोडिएकोले यो संविधानसभामा पनि त्यो पक्ष त प्रमुख नै होला नी त ?
– बाहिरी कारणलाई प्रमुख भन्दिनँ । आफू कमजोर हुने अनि अरुले गर्यो भन्न मिल्दैन । अहिले त्यस्तो हुँदैन । त्यसकारण आफैँ एकताबद्ध हुनुपर्छ । हामी कमजोर भएपछि बाह्य शक्तिले आफ्नो लागि केही गर्न सक्छ । तर, हरेक दलले सावधानीपूर्वक एकताबद्ध हुनुपर्छ भन्ने बुझ्नुपर्छ ।

माघ ८ मा संविधान आएन भने ?
– माघ ८ गते संविधान जारी भएन भने दुइवटा अप्रिय घटना हुनसक्छन् । चरम अराजकता हुन्छ । कहाँबाट कुन फेसमा फुट्छ, भन्न सकिँदैन । त्यही चरम अराजकताबाट मुलुक नयाँ ढंगबाट अधिनायकवादतर्फ जान सक्छ । यही गन्जागोलले अधिनायकवाद र अराजकता निम्त्याउँछ ।

जनता २००७ सालदेखि दुःख पाइरहेका छन् । यो क्रम टुट्लाजस्तो लाग्दैन ?
– यसमा दुइटा कुरा छन् । सकारात्मक कुरा पनि नभएको होइन । तर, चुनौतीका अगाडि राजनीतिक नेतृत्वले जस्तो भूमिका खेल्नुपथ्र्यो, त्यस्तो भएको छैन । केही नभएको त होइन ।

तपाईँ पार्टीको महासचिव हुनुहन्छ, के एमालेले कांग्रेससँग मिलेर जसरी पनि माघ ८ मा संविधान जारी गर्न भूमिका खेल्छ ?
– हामी लोकतान्त्रिक र अहिलेको शक्ति सन्तुलनअनुसार अधिकतम अग्रगामी संविधान बनाउन चाहन्छौँ । यो हाम्रो सोचमा जोसँग कुरा मिल्छ, त्यो पार्टीसँग मिलेर संविधान बनाउन चाहन्छौँ ।

एमालेभित्रै विवाद बाहिर आएको छ । केन्द्रीय कमिटिको बैठक पनि बस्न सकेको छैन । खास के भएको हो ?
– पाँचौ महाधिवेशनदेखि अहिलेसम्मका आन्तरिक छलफल हेरेँ । महाधिनेशनमा भएको बहस छलफलले पार्टीमा तरंग पैदा गरेको छ । यसलाई व्यवस्थापन गर्नुपर्छ । पार्टीका हरेक नेताहरूले गलत कुरामा आलोचना गर्ने र पार्टीलाई गलत दिशामा जान नदिन भूमिका निर्वाह गर्नुपर्छ ।

महाधिवेशनको दुई पक्षचाहिँ जस्ताको तस्तै छ, हैन ?
– पार्टीभित्र त सम्बन्ध निरन्तर पुनर्गठित भइरहन्छ । एकताबद्ध बनाउनु भनेको भए–गरेका कामको वस्तुनिष्ठ समीक्षा गर्नु हो । आउने दिनका लागि योजना बनाउनु पनि हो । मुख्य कुरा, आन्दोलन/परिवर्तनको कुरालाई दिमागमा राखेर जानुपर्यो ।


  •  
  •  
  •