‘८६ प्रतिशत दुर्घटना चालकको कमजोरीले भएको तथ्यांक छ ’

127
  •  
  •  
  •  

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव महानिरिक्षक केशव अधिकारी सडक विस्तार भएपनी चालक सचेत नभएसम्म दुर्घटना हटाउन नसकिने बताउँछन् । उनका अनुसार गत वर्ष भएका दुर्घटनामध्य  ८६ प्रतिशतमा  चालकको लापर्वाही देखिएको छ । यसैसन्दर्भमा ओएनएस न्यूजका लागि  रक्षा रेग्मीले गरेको कुराकानीको संपादित अंश :

पछिल्लो समय काठमाण्डौंमा सवारी दुर्घटनाका समाचार आइरहेका छन् । उपत्यकामा दुर्घटना बढेको हो?

यो गलत हो । बबरमहलमा भएको दुर्घटनालाई लिएर काठमाडौंमा दुर्घटना बढ्यो भन्ने समाचार आइरहेको छ । धेरै लामो सयमपछि यस प्रकारको दुर्घटना भएको हो । दुर्घटनाको संख्यात्मक तथ्याङ हेर्ने हो भने गत बर्षको तुलनामा दुर्घटना घटेको छ । मानवीय क्षति पनि गत बर्षको तुलनामा ५० प्रतिशतले घटेको  छ ।
त्यस्तै, मदिरा सेवन गरेर सवारी चलाएर हुने दुर्घटना ट्राफिक प्रहरीको प्रयासमा शून्य अंकमा ल्याएका छौँ । त्यसले गर्दा दुर्घटना बढ्यो भन्ने पक्षमा ट्राफिक महाशाखा  छैन ।

काठमाडौं तथा देशका अन्य सडकमा भएको दुर्घटनामा चालकको दोष रहेको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको दोषी चालक मात्रै हो ?

हो,अधिकांश चालक लापरवाही गर्छन् । दुर्घटना र त्यससम्वन्धि प्रतिवेदनले  चालकको मानवीय त्रुटीकै कारण दुर्घटना भएको देखाएको छ । दुर्घटनाका अन्य कारण पनि नभएको होइन ।
तर बढी दोष चालककै देखिएको छ  ।  गत वर्ष भएका दुर्घटनामध्य  ८६ प्रतिशत चालकको कमजोरीले भएको तथ्याङ्क हामीसँग छ ।

यस्तो हुँदा पनि चालक लक्षित जनचेतना कार्यक्रम ल्याउने योजना छैन ?

दैनिक ५ लाख चालकले ५० लाख यात्रु बोकेर हिड्छन् । यस्ता चालकलाई प्रशिक्षण दिनु जरुरी छ । हामीले  यो बर्ष ७ हजार चालक र सह–चालकलाई बसपार्क,भक्तपुर,राष्ट्रिय नाचघरमा यस बर्ष मात्र ट्राफिक शिक्षाको कार्यक्रममा प्रत्यक्ष सहभागी गराएका छौं । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने छौं ।

उपत्यकाका सडक अन्तराष्ट्रिय स्तरको बन्दैछन् तर चालक यस्तो सडकमा सवारी चलाउन अभ्यस्त छैनन्, बबरमहलको दुर्घटना यसको प्रतिफल त होइन ?

बबरमहलको दुर्घटनामा बस चालकको चालकको दोष पक्कै छ । चालक यस्ता रोडमा गाडी चलाउन अभ्यस्त छैनन् । चालकको कमजोरी त छ नै । दुर्घटनाको कारण एउटा यो पनि हुनसक्छ ।  बबरमहल तथा तिनकुनेमा सडक विस्तार भएपनि ‘सर्भिस लेन’बाट जाने सवारीलाई निकास दिने पुल नभएकोले दुर्घटनाको समस्या आउन सक्छ ।

त्यस्तै काठमाडौंका अन्य सडकको कुरा गर्दा त्यस्ता सडक त्यति गुणस्तरीय छैनन् । प्रायः सडकहरु इन्जिनियरिङको हिसाबले पनि सहि छ्रैनन् । यसमा सुधार गर्नुपर्ने अवस्था छ । ६० प्रतिशत सवारी चल्ने सडक अप्ठ्यारा छन् । त्यस्तो ठाउँमा सडक चलाउने चालकलाई पनि प्रशिक्षण दिनुपर्छ । ट्रायल परीक्षाको विधि सुधारिएको छ । अझपनि दुर्घटना न्यूनिकरणका लागि वैज्ञानिक सुधारको आवश्यकता     छ ।

‘स्पीड वे’मा सवारी चलाउन चालकलाई प्रशिक्षण दिनु आवश्यक छ नी हैन ?

‘स्पीड वे’मा सवारी चलाउँन गति निर्धारण गरिएको हुन्छ । सडक विभागलगायत सरोकबारवाला निकायले भक्तपुरमा गुड्ने सवारी साधनका लागि ६० किलोमिटर स्पिड तोकिएको छ । तर चालकहरु ९० को स्पिडमा हाँक्छन् । त्यसलाई दृष्टिगत गरेर  गाडीको गति नाप्ने यन्त्र राडारगन ४ ओटा उपलब्ध गराएका छाँै ।

एउटा भक्तपुर ट्राफिकलाई दिएका छौं । करिव डेढ दुई महिना अघिदेखि अरनीको राजमार्गमा राडारगनबाट चेकजाँच गर्न सुुरु गरेको छ । अहिले दैनिक ३० देखि ४० सवारी साधन कारवाहिमा पर्छन् । यो  सुरु गरेदेखि ठूला दुर्घटना भएको छैन ।

उपत्यका बाहिरको दुर्घटनालाई कसरी लिनु हुन्छ ?

मेरो कार्यक्षेत्र हनोइन तर  । बाहिरपनि अधिकतम चालकको लापरवाहिबाट  दुर्घटना भएका छन् । जताततैबाट बाटो निकालिएको छ । जहाँ तही बाटो छिचोल्दा  प्राविधिकको संलग्नता तथा इन्जिनियरिङ हुदैन । त्यो न गुणस्तरीय न त सुरक्षित हुन्छ ।  डोटीको घटना त्यसको उदाहरण हो । सडकमा पूर्वाधार पनि कम छ । अर्को कुरा यात्रुहरुमा ट्राफिक चेतना धेरै कम छ  । प्रत्येक पाइलामा प्रहरी प्रशासन र राज्यको उपस्थिति खोज्नु हुँदैन नागरिक आफै पनि सचेत हुनु जरुरी छ । नागरिकमा ट्राफिक ज्ञानको चेतना भएमा ६० प्रतिशत दुर्घटना कम हुन्छ ।

अनि, ट्राफिक प्रहरीले ट्राफिक प्रविधिको प्रयोग कहिलेबाट गर्ने ?

यो शताब्दिमा आएर पनि ‘म्यानुअल्ली’काम गरिरहेका छाँै । ट्राफिक व्यवस्थापनमा ट्राफिक लाइट छैन । सडक विभागसँग कुरा भइरहेको छ ।

तर, त्यसको केही समाधान आएको छैन । प्रविधि नभएकोले पनि हामीलाई समस्या छ । सिसीटीभी पनि यथेष्ट छैन । सीसी टीभी भएमा यात्रुहरुको सामान हराउँदा पनि खोज्न सजिलो हुन्छ । सडक व्यवस्थापनमा एक्लो ट्राफिकको मात्र काम हँुदैन । यातायात व्यवस्था विभाग , ढल निकास, विद्युुतलगायतको संयुक्त प्रयास हुनुपर्छ । सबैंले आंैला ट्राफिक प्रहरीलाई उठाइरहेका हुन्छन् । विद्युतप्राधिकरण तथा दुरसञ्चारलगायतले सडकको विचमा पोल राखेर जाम हुन्छ तर ट्राफिकलाई गाली गरिन्छ ।
_AKD4211उपत्यकामा ट्राफिक व्यवस्थापनका मुख्य समस्या केके हुन्?

ट्राफिक व्यवस्थापनमा मुख्य समस्याहरुमा पूर्वाधार कम छन् । आकाशेपुल कम छ । सवारी साधन सडकले थेग्न नसक्ने छ । यात्रुहरुमा ट्राफिकको ज्ञान एकदमै कम छ । त्यस्तै ट्राफिक प्रहरीको जनशक्ति पनि कम छ ।

सडक विस्तार भएपनि ट्राफिक जाम त उस्तै देखिन्छ नी ?

सडक विस्तारपछि जाम एकदम कम छ । बबरमहलमा अपेक्षाकृत  यातायात सञ्चालन हुन हुन सकेको छैन । सर्भिस लेनबाट जाने सवारीलाई निकास दिने पुल छैन । त्यसले गर्दा जाम भएको हो । तर सडक विस्तारपछि अन्य स्थानमा जाम कम भएको छ ।
यसअघिका प्रत्येक ट्राफिक प्रमुखले नयाँ अभियान सुरु गरेका थिए, तपाईले पनि त्यस्तो केही गर्दैहुनुहुन्छ की ?

म यहाँ आएपछि ‘रोड सेफ्टी एक्जिविशन’ आयोजना गरेका थियौं ।  त्यो धेरै सफल भयो । सो अभियानबाट धेर राम्रा प्रतिक्रिया आएका थिए । त्यस्तै अहिले ‘लेन मेन्टेन’को अभियानलाई सुरु गरेका छौँ । एक हप्ता भयो सुरु गरेको  करिब २ हजारजना कारवाहीमा परेका छन् । डिभाइडर नभएपछि लेन मिच्ने सवारीको संख्या बढेको छ ।


  •  
  •  
  •