‘सुचना र संचारमा सबैको पहुँच होस् भन्ने चाहान्छौ’ : विश्व बलामी

94
  •  
  •  
  •  

bishwo balamiहरेक वर्षजस्तै कम्प्युटर एसोसियन अफ नेपाल (CAN) ले आगामी भदौ २६ गतेदेखी २९ गतेसम्म CAN SofTech प्रदर्शनी गर्न लागेको छ । यसै प्रदर्शनीको सेरोफेरोमा रहेर CAN SofTech प्रदर्शनीका संयोजन गरिरहेका विश्व बलामीसँग गरिएको कुराकानीको सम्पादित अंश…

CAN SofTech कस्तो प्रदर्शनी हो ? के का लागि ?
– CAN SoftTech विषेशगरी सफ्टवेयरहरूको जानकारी दिने, सूचना तथा सञ्चार क्षेत्रमा भइरहेका प्रगतिहरूबारे जानकारी उदेश्यका साथ गरिँदै आएको प्रदर्शनी हो । यसबाट सफ्टवेयर प्रयोगकर्ता र सफ्टवेयरसँग सम्बन्ध राख्ने विद्यार्थी, सर्वसाधारण, कम्पनी सबैलाई नेपालमा रहेका सफ्टवेयरका बारेमा जानकारी दिनुका साथै सूचना तथा सञ्चारको क्षेत्रमा आएका नयाँ प्रविधीबारे पनि जानकारी दिने उदेश्यका साथ आयोजना गरिएको हो ।

CAN SofTech को तयारी कहाँ पुग्यो ?
– CAN SoftTech को तयारीको करिब-करिब ९० प्रतिशत कामहरू सकिइसकेका छन् । लगभग ९० प्रतिशत नै स्टलहरू बुकिङ्ग भइसकेका छन् र स्पोन्सरहरू को टुङ्गो लगाउने तथा प्रदर्शनीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा पनि हामीहरू लागिरहेका छौ ।

यसको प्रमुख लक्ष्य के हो ? विषेशगरी लक्षित वर्गहरू को हुन् ? कतिले अवलोकन गर्ने अपेक्षा राखिएको छ ?
– CAN SofTech को मुख्य लक्ष्य अहिले आएका नयाँ सफ्टवेयरहरू बारे जानकारी दिने नै हो । यस्तै, सूचना तथा सञ्चार प्रविधीका क्षेत्रमा आएका नयाँ प्रविधी र त्यससँग सम्बन्धित सामग्रीहरू समेत प्रदर्शनीमा हुनेछन् । यसमा मोबाइलमा आएका नयाँ प्रविधिका साथै ल्यापटप, तथा अन्य सूचना तथा सञ्चार प्रविधीका सामग्रीहरूमा भएका परिवर्तन तथा नयाँ सुविधाबारे जानकारी दिइनेछ । विषेशगरी यस प्रदर्शनीको उदेश्य सफ्टवेयर प्रयोगकर्ता, यससँग चासो राख्ने र सूचना तथा सञ्चार प्रविधीप्रति चासो राख्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी, कम्पनीप्रति लक्षित गरिएको छ । यस प्रदर्शनीमा हामी कुनै पनि हार्डवेयरका सामग्रीहरू जस्तै, पेन ड्राइभ, स्क्यानर, प्रिन्टर, ल्यापटपहरू राख्नेछैनौ । यसमा सफ्टवेयरहरूको मात्र प्रदर्शनी हुनेछ । करिब १ लाख ५० हजारले यस प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेका छौ ।

कस्ता कम्पनीका कस्ता सफ्टवेयरहरूको प्रदर्शनी हुनेछ ?
– यस प्रदर्शनीमार्फत कम्पनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने खालका विभिन्न कम्पनीका सफ्टवेयर जस्तै, बिलिङ् सफ्टवेयर, ह्युमन म्यानेजमेन्ट सफ्टेवेयरहरूबारे जानकारी लिन सक्नेछन् । सफ्टवेयरहरू नेपालका कम्पनीहरूले निर्माण गरेका तथा विदेशी कम्पनीले निर्माण गरेका सफ्टवेयरहरू समेत हुनेछन् । सूचना प्रविधी तथा सञ्चारका विद्यार्थीहरू तथा यसमा चासो राख्ने सर्वसाधारणले पनि यस्ता सफ्टवेयरका साथै मोबाइलमा आएका नयाँ प्रविधी र सामग्रीहरूबारे जानकारी लिन पाउनेछन् ।

स्टलमा हुने भिडलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– यो सफ्टवेयरसँग मात्र सम्बन्धित भएको हुनाले यस प्रदर्शनीमा यससँग सम्बन्ध र चासो राख्नेहरू मात्र आउँछन् । यस हिसाबले पनि यस प्रदर्शनीमा आउने अवलोकनकर्ताहरूको संख्यामा केही कमी हुनेछ । यसैलाई विचार गरेर हामीले स्टलहरूको व्यवस्थापन गरेका छौ । मुख्य गरी विद्यार्थीहरू, कम्पनीका प्रतिनिधीहरू, केही सर्वसाधारणले मात्र अवलोकन गर्ने हुनाले यसमा हामीलाई भिडको व्यवस्थापनका लागि त्यति गाह्रो हुँदैन ।

अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष के फरक वा नयाँ पाउँछन् अवलोकनकर्ताले ?
– अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष अवलोकनकर्ताले नयाँ पाउने भनेको प्रविधीमा भएको परिवर्तन तथा सफ्टवेयरमा परिवर्तन भएका भर्सनहरू नै हुन् । सफ्टवेयरमा हरेक वर्ष भर्स परिवर्तन भइ बजारमा आउने गरेका छन् । जस्तै, एभाष्ट एन्टिभाइरसको पोहोर भर्सनभन्दा परिवर्तन भएर नै आउँछ । यस्तै, मोबाइल, ल्यापटपमा भएका परिवर्तनहरू, नयाँ सुविधाहरू नै फरक हुनेछन् ।
यस वर्ष अर्को नयाँ या फरक विषय भनेको Cloud Computing हुनेछ । यस्तै, E-security र Virtualization पनि यस वर्षको नयाँ आकर्षण हुनेछ । अवलोकनकर्तालाई यसबारे जानकारी दिइनेछ ।

यस्ता प्रदर्शनीहरू काठमाडौ केन्द्रित मात्र भइरहेका छन्, के यसबाट मात्रै सबै क्षेत्रका जनतामाझ पहुँच पुग्न सक्ने अवस्था छ ?
– होइन, CAN ले अन्य थुप्रै प्रदर्शनीहरू काठमाडौबाहिर पनि गरिरहेको छ । देशका पाँचवटै विकास क्षेत्रमा विभिन्न प्रदर्शनीहरू गरिनै रहेको छ । तर, SoftTech भने काठमाडौमा मात्र केन्द्रित छ । यसको बजार काठमाडौ केन्द्रित नै देखिन्छ । काठमाडौभन्दा बाहिर कति नै सफ्टवेयर कम्पनी, टेलिकम कम्पनी लगायत अन्य कम्पनी छन् जसले यस्ता सफ्टवेयरहरू प्रयोग गर्न सकुन् । हामीले प्रदर्शनी गर्दा लक्षित वर्गहरूलाई समेत ध्यानमा राखेर गर्नुपर्छ । काठमाडौबाहिर निकै कम कम्पनीहरू छन्, उनीहरूलाई मात्र लक्षित गरेर प्रदर्शनी गर्ने अवस्था पनि छैन्, गरेर सफल हुने सक्ने अपेक्षा समेत गर्न सकिन्न ।

सरकारको तर्फबाट कतिको सहयोग पाइरहनु भएको छ ?
– सरकारबाट हामीले धेरै सहयोग पाउन सकेका छैनौ । भियतनाम लगायत अन्य केही देशहरूमा सूचना प्रविधी तथा सञ्चारमा निकै राम्रो लगानी छ । सूचना तथा प्रविधीको क्षेत्रले मात्रै देशको GDP मा दोहोरो अंकको हिस्सा ओगटी रहेको छ । तर, नेपालमा त्यो अवस्था खै त सरकारले निर्माण गर्न सकेको ? हामी आधिकारिक संस्था होइनौ तर पनि सूचना तथा सञ्चारको क्षेत्रलाई अघि बढाउने काममा लागिनै रहेका छौ । सूचना प्रविधीको क्षेत्रमा सरकारी निकाय नै सक्रिय भएको खण्डमा देशमा निकै ठूलो फड्को मार्न सकिने उदाहरण त हामीले भीयतनाम लगायत अन्य देशहरूबाट पनि लिन सकिन्छ ।

सरकारले यस क्षेत्रमा किन लगानी गर्न सकेको छैन् । वर्षेनी सूचना तथा सञ्चार प्रविधिका नेपालमा उत्पादन हुने जनशक्तिलाई खोई त ठाऊँ ? उनीहरू यहाँ काम नपाएर बाहिरिने क्रम निकै ठुलो छ । जनशक्तिलाई बाहिरिन नदिन सरकारले कदम चाल्नुपर्ने हो तर, सरकारले केही गर्न सकिरहेको छ । हामीले सरकारले बारम्बार घचघच्याउने काम पनि गरिनै रहेका छौ । तर, परिणाम भने केही आउन सकेको छैन् ।

CAN ले आफ्ना कार्यलाई नयाँ ढङ्गबाट ल्याउन नसकेको गुनासाहरू सुनिन्छन् नि?
– हो, म यसलाई स्विकार गर्छु । तर, CAN ले केही नगरेको भने होइन । मैले अघि पनि भने, हामी आधिकारिक निकाय पनि होइनौ र हामीबाट जनताले धेरै अपेक्षा गरेका छन्, जसलाई पुरा गर्न सक्ने अवस्था, पूर्वाधार हामीसँग छैनन् । देशमा लगानी भित्राउनका लागि कसैलाई प्रस्ताव गर्यौ भने हामीलाई यो थाहा छैन कि नेपालमा कतिवटा यस्ता कम्पनीहरू छन् जसले सफ्टवेयर, हार्डवेयर तथा सूचना तथा सञ्चार प्रविधीको क्षेत्रमा काम गरिरहेका छन् । हामीले यसैलाई ध्यानमा राखेर नेपालमा रहेका हार्डवेयर तथा सफ्टवेयर कम्पनीका बारेमा जानकारी लिनका लागि सर्वेक्षण नै गरेका छौ । हामीले हार्डवेयर कम्पनीका बारेमा सर्वेक्षण सकिसकेका छौ र आगामी ६ महिनाभित्र हामीले सफ्टवेयर कम्पनीका बारेमा पनि जानकारी लिइसक्नेछौ ।

यस्तै, नेपालमा डाटा सेन्टर स्थापना गर्न सके नेपालबाट धेरै काम गर्न सकिन्थ्यो । नेपालका कम्पनीले पनि आफ्नै देशमा रहेको डाटा सेन्टरबाट होस्टिङका कामहरू गर्ने, डाटा ब्याङ्कको स्थापना गर्ने लगायतका कार्यहरू गर्नका लागि सहज हुन्थ्यो । यस्तै, हरेक डाटाहरू प्राप्त गर्ने सहज माध्यम समेत निर्माण हुन्थ्यो । त्यसका लागि पनि हामी लागिनै रहेका छौ ।


  •  
  •  
  •