‘राष्ट्रिय अक्कल भन्दा विदेशी नक्कलमा दौडने प्रवृति रोक्नै पर्छ’

264
  •  
  •  
  •  

arjun-narsingh-KCनेपाली कांग्रेसको १३ औं महाधिवेसन नजिकिँदै गर्दा उम्मेद्वारी सार्वजनिक गर्नेको लहर नै चलेको छ । धेरैले कोइराला पक्ष र देउवा पक्षमा आफूलाई पार्न लबी गरिरहेका बेला केहीले छुट्टै समुह निर्माणको गृहकार्य थालेका छन् । तिनै मध्येका एक हुन् १२ औं महाधिवेसनमा लोकप्रिय मत ल्याएका नेता अर्जुनरसिंह केसी । केसीले १३ औं महाधिवेसनका लागि केही अवधारणा अघि सार्दै त्यसलाई स्वीकार गरेर कसैले कार्यकारी पदमा उम्मेद्वार बनाए मिलेर चुनाव लड्न नत्र सभापतिको उम्मेद्वार बनेर छुट्टैं समुह निर्माणको गृहकार्य थालेका छन् । प्रस्तुत छ, ओएनएस न्युज डटकमका लागि रमेश वाग्लले केसीसँग गरेको कुराकानी :-

१३ औं महाधिवेशन एकताको महाधिवेसन हुन्छ अथवा, विगतमा जस्तै संस्थापन र देउवा पक्ष भनेर नैं अघि जाने हो ?
– १२ औं महाविधेसनलाई हामीले एकताको महाधिवेसन भनेर भन्यौं, एकताको अधिवेसनपछिको संस्थापनको प्रजातान्त्रिक पक्ष भन्ने रहनु हुँदैन, व्यक्ति भन्दा विचार, नेता भन्दा नीति प्रधान बनाएर अघि बढौं भन्ने हो । यो जुन ढंगको विभाजन छ, ६०/४० को विभाजन, त्यसबाट विकशित ध्रुविकरण, त्यति मात्र होइन, कार्यक्षेत्रमा डटेर संघर्ष गरिरहेका परिश्रमी, सिद्धान्त र आदर्श भन्दापनि नेताको दौंराको फेर समातेर परिक्रमा गर्नेहरु मात्र पुरस्कृत हुने अवस्था अन्त्य नहुँदासम्म पार्टीमा नयाँ जीवन आउन सक्दैन । त्यसैले यी सबै चिजलाई नयाँपन दिनसक्ने नेतृत्व बढ्न नसक्दासम्म यस्ता विकृतिको अन्त्य हुन सक्दैन । त्यसैले अब पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

पार्टीलाई संस्थागत गर्ने कुरा त सुशील कोइरालाले ज्यादा भन्नुहुन्छ, तपाईँले उहाँकै सिको गर्नुभएको हो ?
– उहाँको त यत्रो ठुलो मन्त्र थियो, हामी त्यसबाट मन्त्र मुग्ध पनि भयौं, बोलीमा विधि र सिद्धान्त कहिले पनि छाड्नु भएन । तर, मलाई दुःख छ त्यस्तो भन्दा उहाँले पाँच वर्षको अवधिमा पार्टीका ५२ वटा विभागको एउटा पनि बैठक बस्न सकेनन्, विधान त गठन हुनुपर्ने कार्यसम्पादन समिति गठन नैं गर्नुभएन । उहाँ प्रधानमन्त्री भएपछि त केन्द्रीय समितिको बैठक समेत राख्नुभएन, म सहित २५ जनाले लिखित आग्रह गरेपछि एक-दुई बैठक भए त्यो पनि महाधिवेसन प्रयोजनका लागि मात्र ।

सरकारका नीति तथा कार्यक्रम, समसामयिक राजनीतिका विषयमा पार्टीले लिने नीति कुनै पनि विषयमा पार्टीभित्र संस्थागत छलफल भएन, सरकार भनेको पार्टीको घोषणापत्र अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने निकाय हो । पार्टीले घोषणापत्रमा बृद्धभत्ता डबल गर्ने भनेर लेखेको छ, तर सरकारमा गएपछि त्यस विषयमा छलफल समेत हुन पाएन ।

तपाई नेतृत्वसँग पुरै रुष्ट नैं जस्तो देखिनुहुन्छ नि ?
– त्यस्तो व्यक्तिगत कुरा होइन । नेपाली कांग्रेसको विधानमा पदाधिकारीको व्यवस्था छ, पदाधिकारी भन्ने कुनै संस्था छैन, तर पदाधिकारीका नाममा एमाओवादीको पार्टी हेडक्वाटर जस्तो बैठक बसाउने परंपरा स्थापित गर्न खोजियो, विधानले केन्द्रीय कार्यसमिति पछि तोकेको संस्था केन्द्रीय कार्यसम्पादन समिति हो त्यो गठन समेत हुन सकेन । पार्टी कब्जा गरेर राखियो, संथागत हुन रोक्ने काम मात्र भयो ।

त्यसबाट के परिणाम आउँछ त ?
– यो परिवेसलाई परिवर्तन गर्न सकेनौं भने, यसलाई वैज्ञानिक ढंगले नीतिमुखी संस्थामुखी बनाउन सकेनौं भने हाम्रा प्रतिस्पर्धीहरू बलिया भएर आएका छन्, हुने क्रममा पनि छन् । अहिलेको चालढाल र नेतृत्वले अबको राजनीति चल्ने वाला छैन, त्यसैले म यो पक्ष ऊ पक्ष भन्दिन पार्टीले जीवन प्राप्त हुने गरी नयाँ नेतृत्व चयन हुनुपर्छ भन्ने मान्यता राख्छु ।

कांग्रेसमा संस्थागत र लोकतन्त्रको कुरा हुने तर, व्यक्ति शक्तिमा शक्ति बाडिने, राजनीति शास्त्रको पोलियार्की सिस्टम जस्तो अभ्यास देखिन्छ नि ?
– मेरो सबैसँग आग्रह हो, मैले बारम्बार भन्दै आएको पनि छु, लोकतन्त्र भनेको वाद प्रतिवाद र संवाद प्रक्रिया हो, विचारको विविधता हो, सैद्धान्तिक प्रतिस्पर्धा र कहिलेकाँही व्यक्तित्वको टकराव पनि लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्रमा निर्वाचन हुन्छ, निर्वाचनमा मत विभाजन हुन्छ, तर मत विभाजन हुँदा मन विभाजन हुनु भएन, एउटै पार्टी एउटै लक्ष्य बोकेर हिडेकाहरुबीच । जो जितेको छ उसले हार्नेलाई लिएर हिड्ने र जो हारेको छ उसले नेतृत्वलाई सहयोग गर्दै अघि बढ्नुपर्ने हो त्यो संस्कृति १२औं महाधिवेसन पछि नदेखिएकै हो ।

सक्रीय सदस्यता केन्द्रमा पठाउने केन्द्रीय समितिको निर्णय समेत कार्यान्वयन भएन १३औं महाधिवेसनको अन्तिम मिति त प्रभावित हुँदैन ?
– अन्तिम मिति प्रभावित हुँदैन, हामीसँग बैसाख जेठ बाँकी नैं छ, तर नेपाली कांग्रेसले सक्रिय सरदस्यतालाई कसरी वैज्ञानिक बनाउने भन्ने पनि सोच्नुपर्ने अवस्था छ, किन भने सक्रिय सदस्यताका विषय जहिले पनि महाधिवेसन अघि विवादको विषय बनिरहेको छ ।
सक्षम योग्य र इमान्दार र नयाँ प्रवेस गर्ने देखि, युवा जाति जनजाति र समावेसी बनाएर अघि बढाउनेपर्ने आवस्यकता छ । अहिले केन्द्रीय कार्यसमितिले एउटा समिति पनि बनाएको छ । सदस्यता वितरणमा नियम र अनुशासनको पालना भएको छैन भने त्यो समितिले विधिमा उभिएर त्यसलाई टुंग्याउछ भन्ने मेरो विश्वास हो ।

कांग्रेसले १३ औं महाधिवजेसनमा केन्द्रित भएर संविधान निर्माण कार्य ओझेलमा पर्यो भनिन्छ नि ?
– विपक्षीहरुका आरोपहरु आफ्ना ठाउँमा छन् आरोप प्रत्यारोप गर्लान् । हामी १३ औं महाधिवेसनमा केन्द्रित त छौं नैं तर, त्यो भन्दा महत्वपूर्ण कुरा संविधान निर्माण हो, संविधान निर्माण राष्ट्रिय दायित्व हो । हाम्रो जित र हार भन्दा पनि संविधान बनेन भने देशले हार्छ । त्यसैले संविधान कुनैपनि पक्रियाले प्रभावित हुन हुँदैन ।

सभापतिले एक पटक लड्छु भन्नु भएको थियो, अब पनि उहाँलाई नैं उम्मेद्वार बनाउने हो वा अन्य व्यक्तिलाई ?
– अब उहाँले लड्छु भनेर सार्वजनिक रूपमा भनेको छैन, उहाँको बोलीसँग तादाम्य हुन्छ हुन्दैन, उहाँ आफ्ना वचनमा प्रतिबद्ध मान्छे जस्तो मैले चाही पाएको छैन । सबै विषय त उहाँसँगै सोध्नु उपयुक्त होला ।

तपाईको १३औं महाधिवेनमा के पदका लागि तयारी हो ?
– म चाँही नेपाली कांग्रेस भित्र अहिले सबैभन्दा आवस्यकता विचारको पुनः जागरण हो । यसलाई संस्थागत नीतिगत र वैज्ञानिक रूपबाट एकासौं शताब्दीका अवयव सहितको पार्टी निर्माण हुनुपर्छ भनेर लिखित र बोल्दा म जे भनिरहेको छु त्यसलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसका सभापति र महामन्त्री दुई पद सोझै महाधिवेसनबाट निर्वाचित हुन्छन् तिनै दुईमध्ये एक पदमा म लड्छु ।

दुई मध्येमा भन्नाले ?
– विचारको पुनःजागरणको आन्दोलनका प्रतिकका रुपमा म सभापतिमा लड्न सक्छु, अर्को त्यो वैचारिक सेरोफेरोमा बसेर छलफल गर्दा मेरो यो अवधारणा कुनै पक्षसँग मिलेमा महामन्त्री लड्छु ।

विगतमा जस्तो मनोनित महामन्त्रीको आश्वासनमा त चित्त बुझाउनु हुन्न ?
– म कुनै हालतमा रोकिन्न, नभए तेस्रो पक्ष विचारको आन्दोलनका प्रतिकका रुपमा सभापतिमै लड्छु । त्यतिबेला त, अहिलेको सभापति सुशील कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, आमोदप्रसाद उपाध्याय, शशांक कोइराला, प्रकाशमान जी सबै यही कोठामा बसेर यत्रो ठुलो प्रतिबद्धता जनाउनुभयो कि महामन्त्रीमा तपाई बाहेक अर्को विकल्प नैं छैन भन्नु’भो, मैले तपाई बोल्नुहुन्छ काम गर्नु हुन्न भन्दा केही साथीहरुले हामी साँक्षी छौं वाचा बन्धन गराउँछौ भन्नुभयो । म त्यता तिर जान चाहन्न ।
तर, मेरो एउटा कुरा जहिले पनि रह्यो, राजनीतिक व्यक्तिहरुको क्रेडिविलिटि हुन्छ नि ‘साख’, नटेक्नु टेकेपछि त्यसमा दह्रोसँग टेक्नु, नबोल्नु बोलेपछि त्यस्मा अड्नु, यो अहिलेको नेतृत्वमा मैले धेरै कमी देखेको छु ।

तपाईको महाधिवेसनका लागि केही अवधारणा पनि छन् ?
– सम्पूर्ण पदाधिकारी निर्वाचित हुनुपर्छ भन्ने मेरो धारणा हो, सभापति निर्वाचित नैं छदैं छ, उपसभापति पनि निर्वाचित गरौं, दुवै महामन्त्री निर्वाचित गरौं, कोषाध्यक्ष निर्वाचित नैं छदैछ, सहमहामन्त्री बरू पाँच वटा क्षेत्रलाई कोअर्डिनेसन गर्नेगरी मनोनित गरौं । केन्द्रीय कार्यसमिति अरु बढी समावेसी गर्न, महिला दलित, मुस्लीम लगायतको प्रतिनिधित्व बढाउन केही संख्या बढाउनुपर्ने हुन्छ ।
नेपाली कांग्रेसको सबैभन्दा शक्तिशाली निकाय संसदीय बोर्ड छ ‘टिकट वितरण गर्ने’ यसलाई क्षेत्रहरुको समेत प्रतिनिधित्व सुनिश्चित हुने र समावेशी पनि हुने गरी महाधिवेसनबाट निर्वाचित गर्नुपर्छ ।

पदाधिकारी बढाउने चर्चा पनि चलिरहेको छ नि ?
– यहाँ पदाधिकारी बढाउने कुरा म पनि सुन्दैछु, नेतृत्व भनेको जनप्रियताबाट स्थापित हुन्छ, पदाधिकारी बढाएर जो कसैलाई आस्वासन बाँडेर समर्थन बटुल्ने प्रयास हुँदैछ, त्यसको म घोर विरोध गर्छु महाधिवेसनसम्म गरिरहन्छु ।

कांग्रेसले १३औं अधिवेसन नेतृत्व मात्र परिवर्तनका लागि गर्ने कि विचारमा पनि परिवर्तन गर्ने हो ?
– १२औं महाविधेसनमा उद्घाटनमा जसले जे जे बोले त्यसपछि नेतृत्व चयनमा केन्द्रीत भयो, त्यसकारण अब विचारको महाधिवेसन नैं गर्ने हो, मलाई के लाग्छ भने, नेतृत्व चयनको महाधिवेसन र विचारको महाधिवेसनलाई छुट्टाउनु पर्छ, अथवा तत्कालै महासमिति बैठकमा गएर नीतिगत निर्णय लिने व्यवस्था गनुपर्छ । अहिलेको अधिवेसन नेतृत्व परिवर्तन सँगसँग विचारमा परिवर्तन गर्ने र समय सापेक्ष नेपालका लागि आवश्यक विचार निर्माणसहित अघि जानुपर्छ भन्ने मेरो विचार हो ।

विचारको प्ररिवर्तन गर्ने त भन्नु भो, कांग्रेसले कस्तो विचार लिने हो ?
– विचारको परिवर्तन भन्नाले नेपाली कांग्रेसको आफ्नै इतिहास छ, त्यसका परिवेस छन्, त्यसले बोकेका लक्ष्यहरु छन्, हेर्नुस त, वीपीका चिन्तन, समाजवादी अवधारणा छन्, २०१२ सालमा भएको वीरगंज अधिवेसनले समाजवादी अवधारणा लिएर आएको छ, तर हामी वीपी कोइरालाको चित्रमा फूलमाला अर्पण गर्न कन्जुस गर्दैनौं तर राष्ट्रिय आवस्यकता भन्दा पनि अन्तै लागेका छौं । राष्ट्रिय अक्कल भन्दा विदेशी नक्कल बढी गरिरहेका छौं ।

आर्थिक रुपमा चाँही तपाईका आवधारणा के हो नि ?
– हामी एसीयाली बैक, विश्व बैक, आईएमएफका प्रेस्कृप्सनलाई रामबाण मानेर दौडिने जुन काम गरेका छौं त्यो गलत छ । अन्तराष्ट्रिय अर्थतन्त्रसँग जोडिने आवस्यकता एउटा पक्ष हो, तर सँगसँगै राष्ट्रिय आवश्यकता हो, सिमान्तकृत, अल्पसंख्यक, पिक्षडिएको समुदाय र गरिविका न्युनतम तहमा पुगेकाहरुको हितमा नयाँ किसिमको आर्थिक ढाँचा निर्माण गर्न सकेनौं भने हामी सफल हुन सक्दैनौं, अहिले हाम्रा धेरै कमजोरीहरू छन् ।
अर्थतन्त्रमा प्रतिव्यक्ति आय पनि बढ्ला, आर्थिक बृद्धि पनि होला तर, त्यो आर्थिक बृद्धिले गरिबी निवारण गर्न सक्दैन अर्थात् गरिबसम्म पुग्दैन भने त्यस्तो विकासको अर्थ हुदैन त्यो देखाउने तथ्यांक त हेला तर, जनजीवनमा त्यसको प्रभाव देखिन सक्दैन । त्यसैले त्यो समाजवादी अवधारण र व्यक्तिगत सम्पत्तिको, क्षमता र सीपलाई प्रतिष्पर्धी ढंगले अघि बढाउने चुनौंती हामीसँग छ ।

१३ औँ महाधिवेसनले त्यो चुनौती पुरा गर्छ त ?
– १३ औं महाधिवेसनले गर्ला नगर्ला, गर्न त १२ औं महाधिवेसनले नैं गरेको हो, समाजवादी अवधारणा पास भएकै हो । तर, कांग्रेसले घोषणा पत्रमा बृद्धभत्ता डबल बनाउने भनिएको छ, तर कांग्रेसकै नेताले सरकार र अर्थमन्त्रालयको नेतृत्व गर्दा त्यो कुरा नीति तथा कार्यक्रम र बजेटमा पर्न सकेको छैन ।

तपाई त विगत देखि नैं आफ्ना विचार प्रष्ट राख्ने गर्नुहुन्थ्यो, अहिले कता हराउनुभयो ?
– मैले केन्द्रीय समितिमा ११ बुँदे अवधारणा राखेकै छु, त्यसमा विगतमा भन्दा पनि भ्रष्टाचार बढेको कुरा आफ्ना कुरा इमान्दारीता पूर्वक राखेको छु म कत्तै हराएको छैन, खाली नेतृत्वले दुई चारजना मन्त्री र दुइचार जनालाई लिएर पार्टी कब्जा गर्दा समस्या देखिएको हो ।

अब १३औं महाधिवेसनपछि कांग्रेस विचारको मन्थन गर्ने पार्टी बन्ला त ?
– विचारको मन्थन गर्ने पार्टी हुन्छ, यदी त्यसो गर्न नेतृत्व तयार भएन र फेरी पनि कब्जा भयो भने, एउटा सशक्त समुह बन्छ जसले नेतृत्वलाई विचारको मन्थनबाट नैं अघि बढ्न बाध्य पार्छ ।


  •  
  •  
  •