‘नेपाल धर्मले चलाएको राष्ट्र हो कांग्रेस हिन्दु राज्यका पक्षमा आउँछ’

255
  •  
  •  
  •  

तारानाथ रानाभाट पुर्व सभामुख एवं नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरुले बिहीवारमात्र हिन्दुराज्य स्थापनाकालागि अभियानको घोषणा गरेका छन् । पुर्वगृहमन्त्रीदेखि पुर्व सभामुख र वहालवाला सभासदहरुसमेतको सहभागीतामा अभियानमा अन्य दलका नेता तथा कार्यकर्तासमेतलाई समावेश गराउने योजना रहेको बताइएको छ । धर्मनिरपेक्षतालाई स्विकार गरिसकेको कांग्रेसभित्रै रहेर हिन्दुराज्यको अभियान चलाउँदा पार्टीले के गर्लालगायतका विषयमा ओएनएसन्युजले पुर्वसभामुख तारानाथ रानाभाटसँग गरेको कुराकानीको संपादित अंश :

तपाईंहरुले हिन्दु राज्यका पक्षमा अभियान सुरु गर्नुभएको छ । कांग्रेसका हस्तिहरुले नै यो खालको अभियान सुरु गर्नुभयो । यो अभियानको किन आवश्यकता रहयो ?

हाम्रो चिन्ता के हो भने हिन्दु धर्म कुनै युगपछि राजनीतिक आन्दोलन जस्तो, उथलपुथल हार जित जस्तो गरेर ल्याएर आएको होइन । यो आदिकालदेखि हाम्रो भु–भागको सभ्यताको विकास क्रमकालदेखि नै यो धर्म यँहाका जनताले मान्दै आएका हुन् । हिमाल पहाड तराई यो जुन भूगोलको विविधता छ , जात जातिको विविधता छ, संस्कृतिको विविधता परम्पराको विविधता छ । यहाँसम्म कि रहनसहन र लवाईखवाईकोसमेत विविधिता छ, त्यो भूगोलको कारणले हो त्यो विविधताले स्वीकारेर र धर्म पनि हिन्दु र मुस्लिम धर्म थियो ।

ईतिहासमा संसारमा जहापनि हिन्दु र मुसलमान धर्मबीच दंगा भएको छ । अरु अरु धर्मवीच अहिले पनि संसारभर द्वन्द्व छ । नेपालको इतिहास हेर्ने हो भने धार्मिक दंगा भएको धार्मिक युद्ध भएको, साम्प्रदायिक झगडा भएको पाइदैन ।

त्यस किसिमको राष्ट्रिय एकतामा,सद्भावमा धार्मिक सहिष्णुतामा आवद्ध भएर भाई भाई सरह भएर हामी सबै धर्ममा आबद्ध भएका व्यक्ति बसेको हाम्रो गौरवमय परम्परा थियो । त्यसै पनि यदि टाउको नै गन्ने हो भने पनि ओमकार परिवार भन्छन् जसलाई, हिन्दु बुद्ध, किराँत अरु जति जति धर्म छन् त्यसकै टाउको गन्ने हो भने पनि त अहिले त्यसको ९५/९६ प्रतिशत छ ।

हामीसँगै नेपालमा बसेर त्योत्र सदियौदेखि नेपालमै सद्भाव राखेर वस्ने मुसलमानको पनि साढे ४ प्रतिशत भन्दा माथि छ । यसलाई विग्रन दिन हुँदैन भन्ने एउटा पक्ष हो । अर्को पक्ष नेपालको परिचयको सबभन्दा ठूलो आधार हिन्दुधर्म थियो । संसारभरी एकमात्र हिन्दु राष्ट्रको नाममा नेपाल परिचित थियो । संसारमा धर्मकै नाममा सञ्चालित राष्ट्रहरुपनि छन् ।

राज्यको धर्म नभनेपनि धर्मअनुसार राज्य सञ्चालन गरेका धेरै राष्ट्रहरु पनि छन् त्यस्तै अनुभव नेपाल पनि हो । यसले त्यस्तो के विगार गरेको थियो ? त्यत्रो पहिचान, त्यस पहिचानसँग जोडिएको संस्कृति, मठमन्दिर कलाकृति छन् मुर्ति छन् सारा छन् । त्यो पर्यटकीय विकासका निम्ति पनि खुला अवस्था हो । यसका लागि विश्वभरका हिन्दुमात्रै होइन गैर हिन्दुपनि अध्ययन अनुसन्धानका लागि आउँछन् । यसलाई मेटेर के फाइदा भएको भन्ने एउटा प्रश्न छ ।

यो अभियानसँग राजतन्त्रसँग जोडिन्छ की जोडिदैन ?

पटक्कै जोडिदैन । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने जनताको तहबाट राष्ट्रपति हुने ढोका खुलेको छ यो ढोका आफै किन बन्द गर्छु ।

धार्मिक स्वतन्त्रताको वकालत गर्ने कांग्रेस अनि त्यसको नेता कार्यकर्ता तपाईंहरु । यसले केही अफ्ठेरो पार्दैन ?

म एउटा मात्रै उदारण दिन्छु जुन एथेष्ट हुन्छ । एउटा काल थियो माओवादी द्वन्द्वका बेला त्यत्रो १० बर्षको द्वन्द्वको पिडाबाट मुक्त भएर माओवादी त्यत्रो पार्टी हातहतियार विसाएर मुलुकको राजनीति मुलप्रवाहमा आयो । शान्तिको बाचा गरेर समाजमा घुलमिल हुन उ प्रतिबद्ध भयो ।

त्यो एउटा खुशीको कुरा थियो । त्यसको प्रवन्धका लागि अरु जहाँ सुकै जेसुकै जतासुकै लागुन् तर अगाडी देखिएको एउटा नेता गिरीजाप्रसाद कोइराला हुन् नी । उहाँ त्यतिबेला माओवादीको पनि नेता हुनुभयो । माओवादी बाहेक अरु कम्युनिष्टको नेता पनि हुनुभयो । कांग्रेसको त सभापति नै हुनुभयो । पञ्चहरुको पनि नेता हुनुभयो तराई पहाड हिमाल सबैको नेता हुनुभयो ।

राजनीतिक दृष्टिले सबैको नेता हुनुभयो, त्यो अवधीमा । शासकीय हिसाबले हेर्नुभयो भने सर्वशत्ति mमान प्रधानमन्त्री । राजा सस्पेण्डेड भइसकेपछि कार्यवाहक श्री ५ होकी होइन ? हो त्यत्रो व्यक्तिको हैसियतले पनि हामी कार्यकर्तासँगमात्र होइन सबैसँग के भन्नु भयो भने यो धर्मनिरपेक्षता घुसाउँदा त मलाई पनि थाहा भएन भन्नु भयो । कति साँचो झूठो होे, हाम्रा नेताले भनेपछि हाम्रालागि साँचो हो । हामीले त्यो कुरामा विश्वास गर्नुपर्छ

तर, सैद्धान्तिक रुपमा त त्यो कुरा परिवर्तन भयो नि ? अब त्यसलाई मान्ने कि त्यसबाट अलग हुने ?

हैन, मान्ने भए त हामी आँखा चिम्लेर बस्ने थियौं नि । त्यो कुरा म अर्को उदाहारणबाट स्पष्ट गर्छु, त्यो व्यवस्थालाई मान्न पनि हेुर्नस डेमोक्रेसी भनेको टाउको गन्ने व्यवस्था हो । जता धेरै टाउको हुन्छन, जतातिर धेरै मत हुन्छ त्यसलाई मान्ने प्रजातन्त्रको सौन्दर्य हो ।

पहिला माओवादीको टाउका धेरै थिए उनीहरुले बताए अहिले अरुको टाउको धेरै छन उनीहरुले बताउँछन् । त्यसैले प्रजातन्त्रमा कुनै पनि इस्यूलाई चाहे ती राष्ट्रिय महत्वका हुन वा स्थानीय महत्वका हुन, त्यो जनताको भावना र मतमा निर्भर रहन्छ । त्यसैले टाउको गनाइको अवस्था हो भने पनि ८५ प्रतिशत जनताचाँही ओमकार परिवारभित्र छन् ।

त्यसो भए त त्यसलाई मान्नु पर्यो नि लोकतन्त्र हो भने । त्यो दोस्रो आधार । यो देशको सर्वोच्च नेताले भन्यो कि मलाई झुक्याए । दोस्रो जनताको प्रतिशत नै त्यति छ । त्यसैले हामीले के भनेको हौं भने अहिले संविधान निर्माणको बेला भएको हुनाले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका र जनताको संविधान बनाउने काममा क्रियाशील रहेका मानिस यदि जनताप्रति उत्तरदायी छन, र उनीहरु जनताप्रति जवाफदेही छन भने जनता नउठीकन त्यो प्रवन्धका निम्ति सोच्नुपर्यो र क्रियाशील हुनुपर्यो संविधानसभा ।

यदि सविधानसभाले यो विषयलाई सम्बोधन गर्दै भने अधिकांश जनता, ८५ जनताको भावनामाथि कुठाराघात हुन्छ भने जनता स्वंय उठ्छ भन्ने कुराको प्रारम्भ अर्थात उद्घाटन हामीले गरेका हौं ।

यदि अब तपाईहरुको कुरा कांग्रेसले सुनेन र तपाईहरुमाथि कारवाही गर्यो भने के गर्नुहुन्छ ?

कुनै पनि कांग्रेस कार्यकर्तालाई कसैले कारवाही गर्दैमा यतिसम्म कि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेमा नेपाली कांग्रेसको कुनै पनि स्वाभिमानी कार्यकर्ता अर्को पार्टीमा जाँदैन र अर्को पार्टीको कल्पना पनि गर्दैन । मेरा कुरा गर्नुहुन्छ भने म तेस्रो पुस्ताको कार्यकर्ता हुँ । मेरो काखमा अब दुईवटा पुस्ता आइसके । अर्थात हामी अहिले कांग्रेसको पाँचौ पुस्तामा छौ ।

यो पुस्ताले अर्को पार्टीको के कल्पना गर्छ । मलाई साधारण सदस्यबाट पनि बाहिर गरेपनि म त कांग्रेस नै हो । अर्काले कांग्रेस होइन भनेर कांग्रेस नहुने हो र ? आरणरमा, सोचमा, विचारमा कांग्रेस हो, व्यवहारमा कांग्रेस हो । कसैले दिएको कागजको खोस्टोमा कांग्रेस हुने त होइन नी । त्यसैले त्यस्ता खोस्टा दिएका त कति आएका थिए कति बाहिरिए ।

म तपाईलाई हजार जना मानिसको नाम दिन्छु नेपाली कांग्रेसमा प्रवेश गरेर निस्कनेको । जसको प्रतिवद्धता थिएन, जसको आस्था थिएन, ती प्रतिबद्धता र आस्थालाई कसैको कारवाहीले नामेट गराउन सक्दैन । त्यस कारण हजारौं कार्यकर्ता जे गरे पनि यो अभियानबाट विचलित हुँदैनन् ।

प्राविधिक रुपमा तपाई त्यँहा नरहेपछि तपाई एक्लैले त यो अभियान संचालन गर्न सक्नुहुन्न । त्यसो हो भने तपाईको पोजिसन के हुन्छ ?

तपाईले भनेको स्वाभाविक हो । मानवीय स्वभाव हुन्छ त्यसमा । त्यो आफ्नो पोजिशनको,सम्मानको, धन दौलतलाई अगाडि राखेर यो कुनै पनि अभियानमा संलग्न हुने हो भने त अभियान नै सम्पन्न हुँदैन ।

हिजो राणा शासन हटाएर आफैं श्री ३ बन्ने सपना बीपीले देखेको भए सात सालको क्रान्ति सफल हुन्थ्यो ? यसकारण कसैले कुनै पोजिसन, कुनै मान सम्मान, सोचेर अगाडि आएकाहरु सफल हुँदैनन् । एक ढंगले यो हाम्रो अभियान हो । दायाँ बाँया होइन । यसलाई सफल पार्न मैले कुनैपनि चीजको कुर्वानी गर्न सक्नुपर्छ ।

कांग्रेसभित्र रहेर यो अभियान संचालन गर्न सक्ने अवस्था रहने भने तपाईहरुको अर्को कदम के हुन्छ ?

हामीले त्यसलाई त्यसरी सोचेका छैनौं । सफलता र असफलताका दुईवटा विकल्पतिर हामीले सोचेका छैनौं । यो अभियान सफल हुन्छ किन भने ८५ प्रतिशत मानिसहरुको भावना हामीसँग हुन्छ ।

कहिले पनि दुश्मनीको भाव, द्वन्द्वको भाव नलिएर आफ्नै भावसरह, आफ्नै बन्दु सरह जिउँदाका जन्ति मर्दाका मलामी भएर बसेका मुसलमानहरु पनि हामीसँग हुन्छन् । त्यस कारण यत्रो जनसंख्याको सपोर्ट हुँदाखेरी हामी असफल हुन्छौं भनेर मैले त कल्पनासम्म पनि गरेको छैन ।

तपाईहरु असफल नहुने हो भने कांग्रेसले यो विषयमा आफूलाई परिवर्तन गर्न सक्छ ?

गर्नैपर्छ । यदि कांग्रेस कांग्रेस भएर रहने हो भने । बीपी कोइराला कुनै जादुगर थिए, बीपी कोइरालाको समाजवाद र राष्ट्रियता ओठे भक्तिका विषय थिए, बीपी कोइरालाको समाजवाद नेपाली जनताको एउटा घर, दुहुनु गाई, अलिकति जमिन, उसको स्कुल पठाउन सक्ने सामथ्र्य, मर्दा पर्दा ऋण काट्नु नपर्ने अवस्थाको सृजना, एउटा अर्कालाई झुक्याउने कथा थिएन भने नेपाली कांग्रेसले आफ्नो गल्ती सुधार्नै पर्छ । हामी त्यो अभियानमा छौं । हामी साथीहरुलाई कन्भिन्स गर्छौं । आखिर हामी सबै मिलेर न हो कांग्रेस रहने ।

कति प्रतिशत होलान यो अभियानमा ?

हैन त्यसको ठ्याक्कै आँकडा त भन्न सक्दिन । तर, मैले अघि पनि भने, ओमबार परिवार र हामी दुश्मन नभएका कारण मुश्लिम दाजुभाईलाई पनि यो अभियानसँग जोडेर हेर्छु ।


  •  
  •  
  •