करको दर होइन, दायर बढाउनुपर्छ

69
  •  
  •  
  •  

अन्जन श्रेष्ठ निर्देशक, लक्ष्मी इण्टरकन्टिनेन्टल
aanjanनेपाल अटो डिलर्स एशोसियसन (नाडा) का उपाध्यक्ष अन्जन श्रेष्ठ हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इण्टरकन्टिनेन्टलका निर्देशक पनि हुन् । उनी सरकारले सवारी साधनको करको दर भन्दा दायरा बढाउनुपर्ने बताउँछन् । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शोको सेरोफेरोमा रहेर ओएनएसले उनीसँग गरेको कुराकानी :

यस बर्ष नाडा अटो शोमा नयाँ के छ ?

नाडाको विशेषता भनेको प्रत्येक बर्ष शोको भव्यता बढदै जानु हो । यस बर्ष गत बर्षको तुलनामा नाडाको भव्यता बढेको छ । प्रदर्शनीमा सहभागी व्यवसायीहरुले आफ्नो स्टललाई राम्रोसँग सजाएका छन् । प्राय स्टलमा मोडलहरु समेत राखिएको छ । प्रत्येक स्टलमा एलइडी डिस्प्ले राख्नुभएको छ । त्यस्तै गाडीको प्रिजेन्टेसन पनि राम्रो छ ।

गत बर्ष भन्दा अवलोकनकर्ता बढेको हो ?

यस पटक अवलोकनकर्ता बढेको छ । गत बर्ष ३० हजार अवलोकनकर्ता अपेक्षा गरेकोमा २५ हजारले अवलोकन गरेका थिए । यो बर्ष ५० हजार अवलोकनकर्ताको अपेक्षा गरेका छौं । हिजोसम्म मात्रै २५ हजार ले अवलोकन गरिसकेका छन् । करिव ५० हजारमा पुग्छांै भन्नेमा आशाबादी छांै । डाटा भने आइसकेको छैन । अटोशोको बारेमा जनचेतना बढ्दै गएकोले अवलोकनकर्ता बढेको हो ।

प्रदर्शनीका लागि स्टल सानो भयो भन्ने गुनासो छ नि ?

हो , स्टल सानो भएको व्यवसायीहरुको गुनासो छ । पछिल्लो समय यस व्यवसायमा नयाँ कम्पनीहरु थपिदै गएकोले यो समस्या आएको हो । आगामी बर्षदेखि कुनै ठुलो स्थान खोज्ने छौं । अहिले एउटा स्टल राख्न ५ हजार स्क्वायर फुटमा चित्त बुझाउनु परेको छ । स्टल सानो भएकै कारण व्यवसायीहरु हतोत्साहित हुनसक्ने अवस्था छ ।

नाडामा कति रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ?

नाडामा विक्री भन्दा पनि बुकिङ गरिन्छ । नाडाबाट १ सय करोड भन्दा बढीको बुकिङ हुने अनुमान गरेका छ । आजसम्मको डाटा आइसकेको छैन । गत बर्ष ८० करोड भन्दा बढीको विक्री भएको थियो । उपभोक्ताको गाडीमा आकर्षण बढ्दै गएकोले पनि धेरै विक्री हुने अनुमान गरिएको हो ।

 प्रत्येक बर्ष करको दर बढाएपनि सवारीकोे आयत पनि बढेको छ । नेपालीहरु धनी भएका हुन त ?

सवारी साधन आयत बढेको छ । तर सवै किसिमका गाडी बढेको छैन । कम सिसी तथा मूल्यका गाडीको आयात बढी भएको हो । विशेषगरी इण्ट्री लेभलको गाडीमा आकर्षण बढेको छ । मोटरसाइकल चढ्नेहरु यस्ता गाडी चढ्न थालिसकेका छन् । यस्ता गाडीहरुमा नयाँ सुविधा समेत थप गरिएको छ ।
तर, सरकारले करको दर बढाएको छ । सरकारले राजस्वमूखी भएर विलासी हो भन्ने सोचले दर बढाएको छ । यसले मध्यमवर्गको पहुँच बाहिर गएको छ । सवारीमा करको दायरा बढाएर राजस्व परिपूर्ती गर्नुपर्छ । अटोमोवाइललाई विलासीको सामग्रीका रुपमा लिनु भएन । यसो गरेमा मध्यम वर्गीय उपभोक्ताको गाडीमा पहुँच बढ्न सक्छ । यसले अर्थतन्त्रमा अहिले दिएको भन्दा सकारात्मक योगदान दिन सकिन्छ ।

अर्थमन्त्रीले गाडी उत्पादन गर्नेलाई सरकारले सवैप्रकारको सेवा उपलब्ध गराउने भन्नुभएको छ , यस तर्फ व्यवसायीहरुले के सोच्नु भएको छ ?
अर्थमन्त्रीको कुरालाई हामीले सकारात्मक रुपमा नै लिएका छौं । तर ठूलो लगानी लाग्ने तथा दीर्घकालीन रुपमा लगानी गर्नुपर्ने लगानी हुने उद्योग हो । सरकारले छुट दिनु भन्दा पनि निश्चित अवधिका लागि जस्तै, दश बर्षका लागि प्याकेजका रुपमा योजना र कार्यक्रम ल्याउनु पर्छ । त्यसो गरेमा बल्ल नेपालमै गाडी एसेम्वल गर्न सकिन्छ । ६ सात हजार पार्ट जोडेर मात्र एउटा सवारी निर्माण गर्न सकिन्छ । अटो पार्टस आयात नगरी नेपालमा बनाउन सम्भव छैन । सरकारबाट सहूलियत भएमा पार्टस बनाउने उद्योग स्थापना गर्न सकिन्छ ।

अन्त्यमा, नेपालमा हुण्डाईको बजार हिस्सा कति छ ?

नेपालमा नेपालमका हुण्डाइको बजार हिस्सा ३५ प्रतिशत छ । त्यसमा पनि इण्ट्रिले लेभलका गाडीको विक्री बढी । ‘इण्ट्रि’ लेभल सेग्मेण्टमा इओन स्याण्ट्रोलगायत गाडी छन् । त्यस्तै हालै सार्वजनिक गरिएको एक्सेन्टको विक्री पनि उत्साहनजक छ ।


  •  
  •  
  •