राज्यपुनर्संरचनामा कुरा मिल्दैन की भन्ने पिरलो छ

160
  •  
  •  
  •  

संविधानसभमा सबैन्दा विवादित विषय राज्यपुनर्संरचनाका विषयमा प्रारम्भिक बहस सकिएको छ । राज्यपुनर्संरचनाका विषयमा दलहरुका अडान अघिल्लो संविधानसभाको भन्दा फरक छैन । यही परिवेशमा संघीयताको विरोध गर्दै आएको राजमो नेपालका अध्यक्ष चित्रबहादुर केसीसँग ओएनएसन्युजले गरेको कुराकानीको सम्पादित अंश ।

पहिलो संविधानसभामा पनि हुनुहुन्थ्यो । अहिले पनि हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?

अब नयाँ आएका सभासदलाई यो संविधानको मेलोमेशो बुझ्नै गाह्रो छ । अलमल नै छ नयाँ आउनेलाई । पुरानालाई अहिले पनि संविधान बनेन भने हामी बद्नाम हुन्छांै भन्ने डर छ ।

यो पटक पनि संघीयता विवादित बन्ने देखिन्छ नी ?

अहिलेको जनमत यिनै राजनीतिक दलका कारणले आएको भन्ने कुरा साँचो होइन । पाँच ६ वर्षको अवधिमा संघीयताले जुन आफ्नो स्वरुप जुन देखायो । जातीय, साम्प्रदायिकतालगायतका जुन रुप देखायो, त्यसले नेताभन्दापनि जनता ज्यादै चिन्तित भए । अघिल्लो संविधानसभामा जातीय आधारमा, क्षेत्रीय आधारमा जुन संघीयतामा जाने भनियो त्यसैको आधारमा संविधान बन्न सकेन । यसपालीको निर्वाचनमा नेपाली जनताले जातीय आधारमा, क्षेत्रीय आधारमा राज्यको पुर्नसंरचना भयो भने मुलुक कमजोर हुन्छ भन्ने बुझेर जातीय, क्षेत्रीय आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ भन्ने विचार बोकेर हिड्ने राजनीतिक दललाई पराजित गरेका हुन् । जातीय आधारमा राज्यको पुर्नसंरचना हुनुहुँदैन भन्ने दल जितेर आएका छन् ।

तपाईहरु त संघीयताकै विरोधी ?

अघिल्लो संविधानसभामा हामी हिमाल, पहाड तराई जतिपनि ठाउँमा संघीयताको विरोधमा गयौं र जनतालाई जातीय संघीयताका बेफाइदाका विषयमा जानकारी गरायौं । देशलाई संघीतामा लाने भनेको जातीय, क्षेत्रीय संघीयतामा लैजान खोजिएको हो, जातीय आधारमा संघीयतामा जाँदा मुलुक कमजोर हुनेमात्र नभई देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा आँच आउँछ भन्ने कुरा हामीले बुझाउन सक्यौं । त्यही कारणले जनताले जातीय र क्षेत्रीय संघीयता चाहने पार्टीको पराजय भएको छ । यकप्रकारले भन्ने हो भने अहिलेसम्म आउँदा संघीयताको ढाढै भाँचिएको छ भन्ने हामीलाई लाग्छ ।

अब हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने केही सांगठनिक हिसाले केही अन्य कारणले संविधानसभामा हाम्रो जति उपस्थिति हुनुपर्ने थियो, त्यो भने हुन नसकेको हो । तर, हामीलाई के विषयमा खुशी लागेको छ भने नेपालको राज्यपुर्नसंरचना जातीय र क्षेत्रीय आधारमा नहुने भयो ।

तपाइँलाई सानो पार्टीको ठूलो नेता भनिन्छ, कस्तो लाग्छ ?

मुल कुरा त मेरो भनाई मेरो व्यक्तिगत होइन । त्यो पार्टीको हो । म बोलेको होइन, हाम्रो पार्टी बोलेको हो । यद्यपि सानो छ । हामीले कहिले पनि सरकारमा जानको लागि व्यक्तिगत वा गुटगत स्वार्थको लागि राष्ट्रियता, राष्ट्रिय अखण्डताको सौदाबाजी अहिलेसम्म गरेनौं । त्यसकारण म बोलेको होइन, पार्टी बोलेको हो । मैलो बोल्ने विचार मेरो पार्टीको भएको हुनाले देशको बारेमा राष्ट्रिय सार्वभौमिकताको विषयमा, राष्ट्रिको अहिलेको आवश्यकताका के हो ? हुन त हामीले रणनीतिक रुपमा हामीले अहिलेकै पुँजिवादी राज्यसत्तामा चित्त बुझाउने होइन । यही पुँजिवादी संसद्लाई बलियो बनाउनुपर्ने र संस्थागत गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं । मिडियाले पनि के बुझेका छन भने राष्ट्रिय जनमोर्चाले आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थका लागि बोल्दैन र जे कुरा गर्छ राष्ट्रका लागि गर्छ भन्ने थाहा छ । यद्यपि संख्यामा सानो भए पनि हाम्रो विचार ठुलो छ भन्ने कुरा सबैले बुझेका छन् । विपक्षले पनि त्यो मान्दछन् । राष्ट्र र राष्ट्रियताप्रतिको इमान्दारिताले धेरेको ध्यान हामीतिर तानिएको छ

आफ्ना मुद्दाकै आधारमा राप्रपाले राम्रो मत ल्यायो तर तपाइहरुको मुद्दा त जनताले मन पराएनन् नी ?

हैन, उनीहरुले पहिला पंचायत कालमा पनि रजाँई गरेका हुन् । सत्तामा हालिमुहाली गरेका हुन् । गणतन्त्र आएपछि पनि सत्तामा रजाँई गरे । उनीहरुसँग प्रशस्त पैसा छ । स्वयं नेपालका पूर्वराजा र राजपरिवार उनीहरुसँग छन् । नेपालमा ठुलो संख्यामा हिन्दु धर्ममान्नेहरु छन, राजा मान्नेहरु छन् । राप्रपा नेपालको अहिलेको समस्या त्यसकारण पनि भएको हो ।

हाम्रो कुरा गर्नुहुन्छ भने हामीले नीति बनाउँदा कति सिट जित्न सक्छौ, जनतालाई कति प्रभाव पार्न सक्छौं भनेर अवसरवादी राजनीतिक कहिले पनि गरेनौं । अहिले हाम्रो तीन सिट आएर सदनमा छौं । सिट नै नआएको भए पनि हामी सडकमा हुने थियौं ।

अर्को कुरा राप्रपा नेपालले संघीयताको कुरा मन–मनमा गथ्र्यो । राष्ट्रिय जनमोर्चाले हरेक कठिनाईका बाबजुद, जस्तो सकै कठिन परिस्थितिमा जनताका बीचमा गएर जसरी संघीयताको विरोध गरेको छ , राप्र्रपा नेपालको त्यो होइन । जुन शक्तिकेन्द्रले नेपालमा संघीयता हुनुपर्छ भनिरहेका छन्, उनीहरुलाई राप्रपा नेपाल संघीयता विरोधी होइन भन्ने पार्नका लागि संघीयताको मन–मन विरोध गरेका हुन् । त्यो कुरा नेपाली जनतालाई थाहा छैन् । राप्रपा नेपालले सार्वजनिक रुपमा कहिले पनि संघीयताको विरोध गरेको छैन ।

मैले राप्रपा बनेका साथीहरुलाई भन्ने गरेको पनि छु, तिमीहरुको संघीयताको विरोध गरेको स्वर त बाहिर सुनिदिँदैन । मन–मनै विरोध गरेको कुरा जनतालाई कसरी थाहा हुन्छ ? राप्रपा नेपाल संघीयता विरोधी होला । तर, उसले जनताका बिचमा कहिले पनि स्पष्ट रुपमा हामी संघीताको विरोधी हौं, मुलुक संघीयतामा जानु हुँदैन भनेको छ्रैन् । त्यसकारणले मैले पहिला पनि भने, उनीहरुसँग पुर्वराजा, राजपरिवार छन, उनीहरुसँग अथाह पैसा छ । यस्तो निर्वाचनमा पैसाको ठुलो महत्व छ । त्यसैले राप्रपा नेपालको सफलता र राष्ट्रिय जनमोर्चाको असफलतालाई तुलना गर्न मिल्दैन् ।

यसपटककोे निर्वाचन महँगो भयो भन्न खोज्नु भएको हो ?

हो नी । यसपटकको निर्वाचन धेरै महँगो भयो । जसरी निर्वाचन महँगो भयो त्यसको परिणाम अहिले नेपाली जनताले चुकाउनु परिरहेको छ । निर्वाचनमा बाँडिएका पैसाको भार अहिले पनि गरिव जनताले चुकाई रहेका छन् । हाम्रो पार्टीको कुरा गर्दा निर्वाचनका लागि भनेर बजेट नै थिएन । मेरो कुरा गर्नुहुन्छ भने जनताका बिचमा जाँदा आउँदा गाडी भाडा मात्रै खर्च भयो । हामीले जेजति सफलता पाएका छौं, सबै राजनीतिक आधारमा हो । हामीले उठाएका मुद्दाको आधारमा पाएका हौं । पैसाको आधारमा होइन ।

उमेर पनि बढ्दै गएको छ । तर तपाईको सक्रिया भने सधैं युवाकै जस्तो छ । कसरी सन्तुलन मिलाउनुहुन्छ ?

अहिले राष्ट्रको जुन अवस्था छ । लाखौं लाख युवाहरु कामको खोजीमा विदेशीयका छन् । मुलुकको राष्ट्रियता, सार्वभौमिकता कमजोर भएको छ । राजनीतिक दलहरु सत्ता कब्जा गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । राज्यका सबै क्षेत्र कमजोर भएका छन् । यस्तो अवस्थामा जसरी परिवर्तन ल्याउनुपर्ने थियो, त्यो पुरा भएको छैन् । मलाई यस्तो चिजले पनि राजनीतिमा लागिरहन झकझक्याउँछ । अहिलेको मुलुकको अवस्थाले सक्रिय बनाइरहेको छ ।

अघिल्लो संविधानसभामा हामीले चार–चार वर्षसम्म अरवौं रुपैंया खर्च गरेर पनि संविधान निर्माण गर्न सकेनौं । अब दोस्रो संविधानसभामा पनि राज्यको पुर्नसंरचनाका विषयमा कुरा नमिल्ने पो हो कि भन्ने पिरलो मनमा लागिरहन्छ ।

म भन्दा बढी उमेर भएका नेपाली जेष्ठ नागरिकले कति दुख पाइरहेका छन् । अहिले त उनीहरु राज्यसँग आन्दोलन गर्नुपरिहेको छ । बृद्धाश्रममा गएर रोइरहेका छन् ।
म त सभासद छु । घरमा खाना पकाएर खान दिने मान्छे छन् । हामी भीरमा पाखा पखेरामा हिडेको मानिस । यो काठमाडौं सम्ममा हिड्न, सार्वजनिक यातायात चढ्न, जहाँ गयो त्यही मानिस भेटिन्छन् । सार्वजनिक यातायतमा त कोणसभा नै हुन्छ । हरेक मानिसहरु त्यहाँ भेटिन्छन् । त्यस कारण मलाई रमाइलो नै लागिरहेको छ ।


  •  
  •  
  •