फागुन २८ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

76
  •  
  •  
  •  

काठमाडौं, २४ पुस (ओएनएस)  : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा फागुन २८ देखि चैत्र २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघ एवं बस्तुगत संघहरुको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । मेलामा सहभागी हुन चाहने स्वदेशी एवं विदेशी कम्पनीहरुका लागि आजैबाट स्टल खुला समेत गरिएको छ ।

बिहिबार आयाजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मेलाले नेपाललाई एउटा व्राण्डको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । मेलाले आर्थिक गतिविधि बढाउने, स्वदेशी वस्तु तथा उत्पादनको प्रवद्र्धन गर्ने, लुकेर रहेको सृजनालाई उजागर गर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रको उत्थानमा सहयोग पुरयाउने दाबी गरे ।

३०० सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवान लगायतका देशका कम्पनीहरुको स्टल सहभागिता तथा चीन, जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले मेलाको अवलोकन गर्ने छन् ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी हुनेछ जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ ।

नेपाल सरकारको सहयोगमा हुने मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । ती बस्तुहरुको प्रदर्शनीको लागि छुट्टै पेभेलियन बनाईने छ ।
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने छ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ । मेलालाई अन्तर्राष्ट्रिय व्राण्डको रुपमा लैजाने योजना अनुसार यस वर्षदेखि दुवईस्थित अन्तर्राष्ट्रिय ओरेन्ज गुपले मेलाको व्यवस्थापन हेर्ने भएको छ ।

नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहने छन् । महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् ।


  •  
  •  
  •