काठमाडौ, ३ माघ(ओएनएस) : तीव्र गतिका बलर करण केसीले आइसीसी वर्ल्ड लिग डिभिजन २ को प्रतियोगितामार्फत अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । नामिबियामा आजबाट सुरू भएको डिभिजन २ को नेपाल र युगाण्डाविरूद्धको पहिलो खेलमा डेब्यू गरेका हुन् ।
उनले दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका करणले श्रीलंका भ्रमणका क्रममा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले अमृत भट्टराईको ठाऊँ लिएका छन् ।
करण र सोमपाल कामीले नेपालको बलिङको सुरूवात गरेका छन् ।
करण विदेश जान भनेर हिडेका युवा हुन् । उनी पासपोर्ट बनाउन भनेर पोखरा पुगेका थिए र पासपोर्ट पनि बनाएका थिए । सानैदेखी क्रिकेटमा रूची भएका उनले पोखरामा भइरहेको क्षेत्र नम्बर ८ को क्रिकेट टोली छनोटका क्रममा प्रयास गरे र उनी क्रिकेटमा आउन सफल भए । उनले छनोटमा राम्रो प्रदर्शन गरेपछि पोखराका लागि छनोट भए उनको क्रिकेट यात्रा सुरू भएको थियो । क्रिकेट यात्रा सुरू भएपछि उनले विदेश जाने सपना चाडेर आफ्नो ध्यान क्रिकेटमा मात्रै दिन थाले र आज उनी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट खेल्दैछन् ।