उत्तर कोरियाका उच्च नेताहरू दक्षिण कोरियाको भ्रमण तथा वार्तामा

82
  •  
  •  
  •  

दक्षिण कोरिया, १८ असोज (एजेन्सी)। उत्तर कोरियाका दोस्रा प्रमुख नेताका साथमा तीन उच्च अधिकारीहरूले शनिबार दक्षिण कोरियाको अकस्मात् भ्रमण गरी उच्चस्तरमा वार्ता गरेका छन् र यसबाट दुई मुलुकबीच अन्तरसीमा समस्या समाधान हुने आशा बढेको छ । उत्तर कोरिया पारमाणविक हतियारसम्पन्न मुलुकको रूपमा रहेको छ ।
यस भ्रमणको प्रत्यक्ष देखिने उद्देश्य एसियाली खेलको समापन समारोहमा भाग लिनु रहेको छ । यी तीन नेतालाई इनचुन विमानस्थलबाट सोझै दक्षिण कोरियाको उत्तर कोरियाली मामिला तथा एकता मन्त्री ¥यु किल–जेसँग भेट गर्न लगिएको छ ।

दुई नेताबीचको वार्ता एक घण्टाभन्दा बढी अवधिसम्म भएको र त्यसपछि उनीहरु खानाका लागि सरिक हुनुभएको बताइएको छ । यस कार्यक्रममा दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेका राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान–जिन पनि सहभागी  भएका छन् । दुई कोरिया सन् १९५० देखि ५३ को द्वन्द्वपछि अझै प्राविधिक रूपमा युद्धमा रहेका छन् । यसबीच दुई मुलुकबीच सैनिक तथा कूटनीतिक तनाव देखिएपछि यो भ्रमण अकस्मात् भएको बताइएको छ । सोलले यस भ्रमणका विषयमा एक दिन अगाडि मात्र जानकारी दिइएको बताइएको छ ।
उत्तर कोरियाली प्रतिनिधि मण्डलमा राष्ट्रिय सुरक्षा आयोगका नवनिर्वाचित उपाध्यक्ष ह्वाङ प्योङ–सो पनि रहनुभएको छ । उहाँलाई उत्तर कोरियाका प्रमुख नेता किम जोङ–उनपछि दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा हेरिन्छ ।

उत्तर कोरियाली नेता किमलाई एक महिनादेखि सार्वजनिक स्थलमा देखिएको छैन । उहाँको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ भने उत्तर कोरियामा सत्ता परिवर्तन भएको हल्ला पनि चलेका छन् । यसको पुष्टि भएको छैन ।

टीभीमा ह्वाङसँग दक्षिण कोरियाली नेताको भेट भएको देखाइएको छ । उहाँ कोरियाको जनसेनाका भाइस मार्सलको पदमा रहनुभएको छ । टेलिभिजनमा उहाँलाई सैनिक पोसाकमा देखाइएको छ भने अन्य दुई अधिकारी चो ¥योङ हे तथा किम याङ गोन परेका छन् ।

पत्रकारलाई हटाउनुअगाडि चोले इनचुनमा हाल आयोजना भइरहेको एसियाड खेलमा भाग लिएका उत्तर कोरियाका खेलाडीलाई दक्षिण कोरियाले दिएको आतिथ्यका लागि धन्यवाद व्यक्त गरे । चो उत्तर कोरियाको खेल आयोगको प्रमुख हुनुहुन्छ । उहाँले खेलको क्षेत्रमा एकीकरणका प्रयास अगाडि बढेको बताए ।

उत्तर कोरियाले हालसम्म ११ स्वर्ण पदकका साथ यस खेलमा सातौ स्थान प्राप्त गरेको छ । एकीकरणमन्त्रीले तीन नेताको उपस्थितिले अन्तरकोरिया सम्बन्ध सकारात्मक रूपमा विकास हुन सहयोग गर्ने बताऐ ।


  •  
  •  
  •