६५ उत्कृष्ट करदातालाई विभागको सम्मान

168
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : आन्तरिक राजस्व विभागले ‘तेस्रो राष्ट्रिय कर दिवस २०७१’ को उपलक्ष्यमा मातहतका कार्यालयका तर्फबाट उत्कृष्ट हुने ६५ करदातालाई सम्मान गरेको छ । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले कूल जनसंख्याको सा“ढे ४ प्रतिशत जनता करको दायरामा आएको बताए ।

उनले भने, ‘मुलुकको कूल ग्राहस्थ उत्पादन ११ प्रतिशतबाट १८ प्रतिशतमा पुगेकोले कर राजस्वको हिस्सा वृद्धि हुँदै गएको छ । आगामी बवर्षका लागि ७३५ अर्बको कूल बजेटमा ५१३ अर्व राजस्वको हिस्सा रहने अनुमान छ । त्यसले विदेशी परनिर्भरता घटाउनुका साथै आन्तरिक स्रोत साधनको परिचालनमा वृद्धि हुँदै जाने र मुलुकको अर्थतन्त्र सवल हुँदै गएको देखिन्छ ।’

अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै कर कानुनमा परिमार्जन गर्दै गएको बताउँदै महानिर्देशक शर्माले ४५ जिल्लामा कर प्रशासनको संरचना बनाउन बाँकी रहेको र विस्तार गर्ने अभियानमा विभाग लागि परेको जानकारी दिए ।

उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगका अध्यक्ष डाक्टर रुपबहादुर खड्काले करदातालाई सम्मान गर्ने परम्पराले करदातालाई उत्साहित बनाउने बताए । करदाता शिक्षालाई अझै विस्तृत रुपमा लैजानुपर्ने बताउँदै खड्काले कर परीक्षण, कर फिर्ता जस्ता कार्यमा राम्रो काम गर्नेको कर फिर्ता सजिलै हुने प्रष्ट पारेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले राज्य सही गति लिनका लागि अग्रसर भएको बताउँदै राज्य संचालनका लागि कर महत्वपूर्ण हुने बताए । आन्तरिक राजस्व विभाग क्रियाशिल र सक्षम भएर अघि बढ्नु पर्ने बताउँदै पाण्डेले राज्यले महासंघको सुझावलाई अवलम्बन गर्दै गएको जानकारी दिए ।


  •  
  •  
  •