दलहरु वार्तामा बस्दै, वार्तास्थल ओली निवास बालकोट

124
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरुलाई दिएको समयसीमा सकिन लागेपछि दलहरु सहमतिका लागि औपचारिक वार्तामा बस्ने भएका छन् । संविधान निर्माणको काम ठप्पै भएपछि सभाध्यक्ष नेम्बाङले आइतबार साँझ ५ बजेसम्ममा सहमति नभएमा पूर्वसहमति लागु गर्ने चेतावनी दिएका थिए ।

तर प्रमुख दलका नेताहरु समयसीमा सकिने एक दिन अघि मात्र अर्थात आज बल्ल वार्तामा बस्ने भएका छन् । चीन भ्रमणमा गएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती स्वदेश फर्किइसकेपछि दलहरु आज वार्तामा बस्न लागेका हुन् ।

वार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलकिो निवास भक्तपुरको बालकोटमा हुने बताइएको छ । सभाध्यक्ष नेम्बाङले आइतबारसम्ममा पनि सहमति नभएमा अनिश्चितकालका लागि रोकिएको संविधानसभाको बैठक डाक्ने संकेत गरेकोले दलहरुलाई सहमतिका लागि दबाब परेको हो ।

संविधान निर्माण प्रक्रिया विगत २ महिनादेखि अबरुद्ध भएपछि शुक्रबार सञ्चारकर्मीसँगको भेटमा सभाध्यक्षले दलहरुले सहमति गर्न नसके प्रक्रिया अघि बढाउने संकेत दिएका हुन् । ‘म दलहरुलाई सहमतिका लागि शनिबार विहानदेखि नै छलफल गर्न आग्रह गर्छु ।’ सभाध्यक्षले भने, ‘धेरै समय गुज्रिसकेको छ, अब सहमतिको लागि अन्तिम समय भनेको चैत १५ गते साँझ ५ बजेसम्मको हो, त्यसपछि संविधानसभा बैठकको मिति तय हुन्छ, संविधान निर्माणको प्रक्रिया अघि बढ्छ ।’

दलहरुले आजको वार्तामा पनि उही संघीयताकै बिषयमा परेको गाँठो फुकाउने कसरत गर्नेछन् । त्यसका लागि केही नेताहरु अनौपचारिक रुपमा छलफलमा सक्रिय छन् । शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि ओलीलाई उनकै निवास बालकोटमा पुगेर सहमतिको प्रक्रियाबारे छलफल गरेका थिए । विहीबार काग्रेस नेता सिटौलाले एमाओवादी नेता भट्टराईलाई उनकै निवामा भेटे । त्यसपछि भट्टराईले काग्रेस नेता महेश आचार्य र एमाले प्रमुख सचेतक अग्नि खरेलसंग पनि सहमतिकोबारे छलफल गरेका थिए ।

बुधबार साँझ एमाओवादी नेता तथा संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराई ओलीसंगै कुरा गर्न बालकोट पुगेका थिए । अनौपचारिक छलफल बाक्लिए पनि दलहरुबीच विवादित बिषयको टुंगो लागिहाल्ने अवस्था भने अझै स्पष्ट देखिएको छैन ।

नेताहरुले सकारात्मक भनेका कयौ पटक बसेका यसअघिका वार्ता र छलफल व्यर्थ हुने गरेका उदाहरण छन् ।


  •  
  •  
  •