‘विमानमा बिस्फोट गराएको भए समय र खर्च कम हुन्थ्यो’

183
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : मुख्यसचिव लीलामणी पौडेलले चार दिन अन्तर्राष्ट्रिय उडान/अवतरण अवरुद्ध हुँदा ८ अर्व रुपैंयाँ बराबरको क्षति भएको बताएका छन् । सरकारको आधिकारीक धारणा नआएका बेला मुख्यसचिव पौडेलले ८० हजार यात्रु प्रभावित भएको अनुमान गर्दै एक जनाको एक हजार अमेरिकी डलर खर्च हुँदा ८ अर्व नेपाली रुपैंयाँ बराबरको क्षति भएको हुनसक्ने बताएका हुन् ।

टर्किस एयरलाइन्सको विमानमा बिस्फोट गराउन पाएको भए कम समय र खर्चमा विमानस्थल खुलाउन सकिने मुख्य सचिव पौडेलले बताए । उनले भने, “टर्किस एयरले विमानमा क्षति हुन नहुने दबाब दिएका कारण सुरक्षित तरिकाले तान्दा ४ दिन लागेको हो । विमान डिस्ट्रोइ गरेर विमानस्थल खाली गराउँ भन्दा पनि मिलेन । डिस्ट्रोइ गरेको भए बीमाका लागि बीमा कम्पनीसँग लबिङ गर्न सकिन्थ्यो होला तर विमान तान्दा बढी समय र खर्च बढी लागेको छ ।”

यलमाया केन्द्र पाटनढोकामा आइतबार भएको छलफलमा बोल्दै मुख्यसचिव लीलामणी पौडेलले आगामी दिनमा हुनसक्ने यस्तो विपदको व्यबस्थापनका लागि सरकारको ध्यानाकर्षण भएको बताए । उनले भने, “एउटै विमान हटाउनका लागि चार दिन लाग्नु भनेको विपद व्यबस्थापनको पूर्वतयारी योजना नभएको पुष्टि भएको छ । दुर्घटनाका विषयमा उच्चस्तरीय अनुसन्धानका लागि मैंले पहल गरिरहेको छु । अब पूर्व तयारीका कामहरु सुरु हुन्छन् ।”

अवकाशप्राप्त बरिष्ठ विमान चालक डिआर निरौलाले विमानस्थल भित्रको क्रस रन वेलाई बिस्तार गर्नु पर्ने बताए । उनले भने, “पहिले बनेको क्रस रन वेलाई बिस्तार गरेको भए चार दिनसम्म अन्तर्राष्ट्रिय उडान प्रभावित हुने थिएन । प्यारालल रन वे बिरुतार गरेका कारण अहिले एउटा विमान उडानको समयमा अर्को विमानले पालो कुर्नुपर्छ ।”

अर्थसम्बन्धीका जानकार सुजिव शाक्यले चार दिनमा २५ देखि ३० अर्व बराबरको आर्थिक घाटा भएको बताए । उनले भने, “चार दिनमा ८० हजार जना प्रभावित भएका छन् । यसका कारण नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ भनेर छलफल भएको छैन । अर्थतन्त्रमा दीर्घकालिन असर नपरे पनि चार दिनमा नेपालले ३० अर्बसम्मको आर्थिक घाटा व्यहोर्नु परेको छ ।”

बरिष्ठ पत्रकार कनकमणी दीक्षितले यस घटनालाई प्रकोपको रुपमा विश्लेषण गरेका छन् । उनले भने, “टर्किस विमान दुर्घटनाग्रस्त भएर २ सय भन्दा बढीको ज्यान जानबाट जोगियो अर्थात एउटा प्रकोप हुनबाट जोगियो तर ८० हजार भन्दा बढी प्रभावित हुने गरी अर्को प्रकोप श्रृजना भयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले बेलैमा योजना बनाएर अघि बढ्नुपर्छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्याधुनिक प्रविधिको बनाउनु पर्नेमा बरिष्ठ विमान चालक डिआर निरौलाको जोड थियो । उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका लागि अत्याधुनिक प्रविधिको विकास भैसकेको छैन । यदि अत्याधुनिक प्रविधि हुन्थ्यो भने शुन्य भिजिविलिटी भए पनि विमानलाई सुरक्षित अवतरण गराउन सकिन्थ्यो । विमान चालकले रन वे नदेखेको अवस्थामा पनि अवतरणका लागि अनुमति दिएर एयर ट्राफिक कन्ट्रोलरले गलत गरेका हुन मात्रै भनेर पुग्दैन म त भन्छु उनीहरुले अपराध नैं गरेका हुन् ।”

अर्का बरिष्ठ पत्रकार कुन्द दीक्षितले छोटो अविधमैं पटक पटक अवतरणको प्रयास गर्नु विमान चालकको कमजोरी भएको बताए । उनले भने, “मैंले पनि संयोगले एयर ट्राफिक कन्ट्रोलर र क्याप्टेन बीचको वार्ता सुन्न पाएको थिएँ । उक्त कन्भर्सेसनमा उनीहरुका बीचमा रन वे देखिएको छ की छैन भन्ने विषयमा सम्बाद भएन । त्यस अवधिमा चालकले ढाका वा लखनउ विमानस्थलमा पुगेर फ्युल भेरेर अर्कोपटक अवतरणको प्रयास गरेको भए हुन्थ्यो ।”

प्रभावित भएका ८० हजार मध्ये आधाजसो नेपाली कामदार भएको बताउँदै बरिष्ठ पत्रकार कनकमणी दीक्षितले नेपालबाट प्रस्थान गर्नेभन्दा नेपाल भित्रने कामदारले बढी समस्या झेल्नु परेको बताए । छलफलका सहभागीले विमानस्थलमा प्रभावकारी सूचना प्रणालीको व्यबस्था गर्न सरकारसँग माग गरेका छन् ।

नेपालीभन्दा विदेशी नागरिकका लागि सूचना प्राप्त गर्न असहज भएको भन्दै उनीहरुले ठूलो आवाज दिने स्पिकरको व्यबस्था गरी सूचना प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् । विशेषज्ञ जनशक्तिको अभाव भएका कारण विमान हटाउन समय लागेको बताउँदै सहभागीले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।


  •  
  •  
  •