‘पुरुष हुँ, तर म पनि बलात्कारीलाई फाँसीको सजाय चाहन्छु’

219
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) : ‘बलात्कारीको सर्वस्वहरण गर्नुका साथै लिङ्ग काटेर सडकमा छोडिदिनुपर्छ । जन्म कैदका नाममा जेलमा राख्ने हो भने उ सुरक्षित हुन्छ ।’

‘१६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई अनिवार्य फाँसी दिइनुपर्छ । बरु राजनीतिक स्थिरता कायम भएपछिको समयमा भने फाँसीको सजायलाई खुकुलो बनाउन सकिन्छ ।’

‘म पुरुष हुँ, पुरुष भएकै कारण म फाँसीको सजाय दिने खालको कानुनको माग गर्छु । मैंले कसैलाई बलात्कार गरें भने मलाई फाँसीको सजाय दिने कानुन बनाउन सक्नुहुन्छ सभाषद ज्यूहरु ?’

‘अपराधीले पनि राजनीतिक अस्थिरताको फाइदा उठाइरहेका छन् । यसको पीडा महिलाले भोगिरहनु परेको छ । राजनीतिक संक्रमणकाल अन्त्य गर्नुका साथै अपराधीलाई संरक्षण गरिनु हुन्न ।’

यी प्रतिक्रिया बलात्कारका दोषीलाई दिनु पर्ने सजायका प्रशंगमा सञ्चारकर्मी, कानुन व्यबसायि, राजनीतिक नेतृत्व तथा संविधानसभाका सदस्यहरुको हो । हरेक वर्ष बलात्कारका घटनामा भैरहेको बृद्धि, ४ वर्षसम्मका बालिका समेत पीडित हुनु परेको र कानुनमा न्यून सजायको व्यबस्था भएपछि सर्वत्र विरोध भैरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने बलात्कार विरुद्ध आर्थिक वर्ष २०७०/०७१ मा ९ सय १० र आर्थिक वर्ष २०७१/०७१ को माघसम्ममा ५ सय ९ उजुरी परेको देखिन्छ ।

बलात्कार प्रयासका घटना पनि उत्तिकै छन् । बाराकी ६ वर्षीय बालिका पुजा शाहको बलात्कारपछि मृत्युभएपछि घटनाको गाम्भीर्यताका आधारमा बलात्कारीलाई फाँसीको सजाय दिने कानुनको माग भैरहेपछि सरकारलाई दबाब परेको छ ।

पूर्व महिला सभाषद मञ्च र राष्ट्रिय महिला आयोगले मँगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियाका सहभागीले अन्तर्राष्ट्रिय सन्धी सम्झौता परिमार्जन गरेर भए पनि बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउनु पर्नेमा जोड दिए । फाँसीको सजायँ हटाइसकेको भारतले समेत विशेष अपराधमा फाँसीको सजाय दिने व्यबस्था गरेको उनीहरुको भनाइ थियो ।

कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता खिमलाल देवकोटाले पूर्वयोजनाका साथ बलात्कार गरीने भएकोले त्यसका दोषीलाई क्षमा दिनु नहुने बताए । उनले भने, ‘व्यवहार सुधार्न सकिन्छ तर चरित्र सुधार्न सकिँदैन । बलात्कार जस्तो पूर्वयोजनासहित गरिने भएकोले यसका दोषीलाई एक्सक्युज गर्न मिल्दैन । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौतालाई परिमार्जन गरेर भए पनि समाजको, पीडितको माग अनुसार हदैसम्मको सजाय दिने कानुन बन्नुपर्छ । सरकारले चाहेमा बनाउन सकिन्छ ।’

एकीकृत माओवादीका केन्द्रीय सदस्य हिसिला यमीले १६ वर्षमुनिका बालिका कलात्कार गर्नेहरुलाई फाँसीको सजाय दिनु पर्ने बताइन् । उनले भनिन्, ‘सबै बलात्कारीलाई फाँसी नैं गर्नुपर्छ भन्ने छैन तर जसले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई फाँसीकै सजाय दिनुपर्छ । बरु यो सजायँको व्वस्था निश्चित समयका लागि मात्रै होस् ।’ राजनीतिक स्थिरता आएपछि फाँसीको सजाय हटाउनु पर्ने बताउँदै नेतृ यमीले त्यसपछिको समयका लागि अहिले देखि नैं रणनीतिक योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिएकी छिन् ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था सहितको कानुन बनाउन संसदमा आवाज उठाइरहेको बताइन् । कडा कानुनी सजायले मात्रै अपराध न्यूनिकरण गर्न सकिने उनको भनाइ छ । शाक्यले भनिन्, ‘अपराधीले पनि राजनीतिक अस्थिरताको फाइदा उठाइरहेका छन् । यसको पीडा पुरुषको तुलनामा महिलाले बढी भोग्नु परेको छ । नेपालले चाहेमा बिगतमा भएका सन्धि सम्झौतालाई पुनरावलोकन गरेर फाँसीको सजाय दिने व्यवस्था सहितको कानुन बनाउन सकिन्छ ।’

सञ्चारकर्मी चन्द्र बानियाँले बलात्कारका घटनामा दोषी पाइएका १६ वर्षभन्दा माथिका व्यक्तिलाई फाँसीको सजाय हुनु पर्नेमा जोड दिए । उनले भने, ‘म पुरुष भएकै नाताले माग गर्छु की मैंले पनि कसैलाई बलात्कार गरें भने फाँसी दिए हुन्छ । मलाई पनि फाँसीको सजाय दिने कानुन बनाउन तपाईहरु सक्नुहुन्छ ? सडकबाट उठेको मागमा केहि सुधार गरौं, बलात्कारमा दोषी ठहरिएका १६ वर्षभन्दा माथिका व्यक्तिलाई फाँसीको सजाय दिउँ, त्यो भन्दा कम उमेरका व्यक्तिलाई जन्मकैदको व्यवस्था गरौं ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषालले बलात्कारको प्रकृति हेरी फाँसीको सजाय दिनु पर्ने र ५ वर्षदेखि बिधायन समितिमा विचाराधिन अवस्थामा रहेको फौजदारी संहिता पारित गराउन सबैको पहल चाहिने बताइन् । उनले भनिन्, ‘बलात्कारका घटनामा प्रहरी प्रशासनले जतिसक्दो छिटो अनुसन्धान अगाडी बढाउनुपर्छ । अपराधीले राजनीतिक संरक्षण पाउनु हुँदैन र सामूहिक बलात्कारका दोषीलाई फाँसी नैं उपयुक्त सजाय हो ।’

राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष उर्मीला विश्वकर्माले तत्कालका लागि अध्यादेशमार्फत भए पनि बलात्कारका दोषीलाई सर्वश्वहरणसहित जन्मकैदको सजाय हुने कानुन ल्याउनु पर्ने बताइन् । उनले भनिन्, ‘सरकारले नसकिने भनिसकेको फाँसीको सजाय सहितको कानुन बनाउन दबाब दिन आयोगले सक्दैन । हाम्रो माग के हो भने तत्कालका लागि अध्यादेश मार्फत भए पनि बलात्कारीलाई सर्वस्वहरणसहित जन्मकैदको सजाय होस् । तपाई सभाषदहरुले पहल गर्नुस् संविधानमा फाँसीको सजाय सहितको व्यबस्था होस् ।’

पूर्व महिला सभाषद मञ्चका संयोजक उषकला राईले फाँसी दिँदा बलात्कारी एक पटक मात्रै मर्ने भएकोले जीवनभर लाखौं पटक मार्नु पर्ने बताइन् । उनले फाँसीको सजाय दिने खालको कानुन बनाउने कुरालाई दोस्रो बिकल्पका रुपमा अघि सारेकी छिन् । राईले भनिन्, ‘बलात्कारीको निधारमा कहिल्यै नमेटिने गरी बलात्कारी भनेर लेखिदिनुपर्छ । अथवा उसको लिङ्ग काटेर सडकमा छाडिदिनु पर्छ । यी दुवै काम गर्दा उसको सर्वस्वहरण गर्नु अनिवार्य छ । जसले उ मागेर खान बाध्य हुन्छ र उसलाई पीडाबोध हुन्छ ।’

अधिवक्ता मिरा ढुङ्गानाले महिलाको सम्पत्तीमाथिको अधिकार सुनिश्चित नभएसम्म बलात्कार लगायतका हिंसाबाट महिला पीडित भैरहने बताइन् । बलात्कारका लागि दुरुत्साहन गर्ने, सहयोग गर्ने, उद्योग गर्नेलाई कानुनमा सजायको व्यबस्था नभएको बताउँदै उनीहरुलाई पनि कडा सजायँ हुनु पर्नेमा जोड दिइन् ।

कार्यक्रमका अरु सहभागीले बलात्कारका घटनामा अझै मिलापत्र गराउने गरिएकोले त्यसको अन्त्य गरीनु पर्ने बताएका छन् । जनमकैदको सजायदिने हो भने बलात्कारीहरुलाई पाल्न राज्यको ठूलो सम्पत्ती खर्च गर्नु पर्ने भएकोले फाँसी दिएर उक्त खर्च जोगाउनु पर्ने सुझाव उनीहरुको छ । त्यस्तै पीडितलाई पीडकबाट क्षतिपुर्ति भराउने प्रक्रिया अवैज्ञानिक भएको भन्दै राज्यले तत्काल क्षतिपुर्ति दिने व्यबस्था मिलाउन पनि माग गरेका छन् ।


  •  
  •  
  •