इन्ट्याग्रीटी आइडल नेपालको उत्कृष्ट पाँचमा को–को परे? यसरी गर्नुहाेस् भाेट

427
  •  
  •  
  •  

काठमाडौं, १३ मंसिर (ओएनएस) : इन्ट्याग्रीटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रीटी आइडल नेपाल–२०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ।

आइडलको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेका कृषि प्रसार अधिकृत कृष्ण धिताल, बन विभाग बबरमहलमा सहायक बन अधिकृत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी परेका छन्।

उत्कृष्ट पाँचका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह सम्मिलित समिति रहेको थियो।

इन्ट्याग्रिटी आइडलका लागि १५ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो। जस अन्र्तगत देशका ७१ जिल्लाबाट १ हजार २० वटा मनोनयन प्राप्त भएका थिए।

देशभरबाट अनलाई, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१७ को छनोट गरिने आयोजकले जनाएको छ।

एसएमएस र वेभसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ।
कृष्ण धितालका लागि भोटिङ कोड ०१, सबनम पाठकका लागि ०२, सबराज बमका लागि ०३, शेषनारायण पौडेलका लागि ०४ र सृजना तिवारीका लागि ०५ निर्धारण गरिएको छ।
भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर क्ष्क्ष्ल् टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ।
त्यसैगरी भोटिङ ईन्टरनेटबाट पनि गर्न सकिने छ त्यसका लागि www.integrityidol.org/countries/nepal/ मा गएर भोट गर्न सकिने छ। भोट गर्ने अवधि मंसिर ११ गते सोमबार देखि सुरु भएर मंसिर २४ गते आइतबार राति १२ बजे सम्म खुल्ला रहने छ।
जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि इन्ट्याग्रिटि आइडलको शुरुवात गरिएको थियो।
सन् २०१४ मा पाँचथरका तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल बनेका थिए भने सन् २०१५ मा गुल्मीका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बिजेता बन्न सफल भएका थिए।

सन् २०१६ मा शिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस विजेता भएका थिए। नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, मालि, नाईजेरीया र दक्षिण अफ्रिका लगायतका देशमा विस्तार भैसकेको छ।


  •  
  •  
  •